सोमबार, वैशाख १७, २०८१

पार्टी नाम फेर्ने बहस

माओवादीलाई नै ‘माओवादी’ नामको एलर्जी !

माओवादी धारका जति पनि पार्टी छन्, ती सवै पार्टीलाई अहिले ‘माओवादी ब्रान्ड’ घाँडो लाग्न थालेको छ

शित्तल शर्मा । काठमाडौं २०८० वैशाख १७ गते १९:४३

माओवादी धारका साना- ठूला गरी आधा दर्जन पार्टी छन् अहिले पनि । १० वर्षे जनयुद्दको नेतृत्व गरेर आएको माओवादीले शान्ति प्रक्रियायता विभिन्न समयमा टुटफुट र विभाजन ब्यहोर्‍यो । त्यही विभाजनले माओवादी धाराबाट जन्मेका नेताहरुकै नेतृत्वमा अहिले आधा दर्जन पार्टी जन्मिएका हुन् ।

पार्टी विभाजनको सुरुआती चरणमा साना ठूला माओवादी धाराका सवैजसो पार्टीको नाममै माओवादी ट्याग लगाउने होड थियो । तर यो होड अहिले हटेको छ । माओवादीलाई नै माओवादी नामको अहिले ‘एलर्जी’ सुरु भएको छ । अहिले जति सकिन्छ छिटो माओवादी धारबाट जन्मेका पार्टीहरु पार्टीको नाममा रहेको ‘माओवादी ब्रान्ड’ झिकेर मिल्काउने प्रतिस्पर्धामा छन् ।

उनीहरुकै आरोप-प्रत्यारोपको शब्दमा जति सुकै क्रान्तिकारी भनाउँदा र संसदवादी भनाउँदा सबैजसो माओवादी धारका पार्टीहरु आफनो शरिरवाट ‘माओवादी ब्रान्ड’ पखाल्न चाहिरहेका छन् ।

शनिबार मात्रै मोहन वैद्य (किरण) नेतृत्वको पार्टीले माओवादी ब्रान्डलाई पार्टी नामबाट झिकेको छ । अर्थात माओवादी धारकै अर्काे घटक नेकपा बहुमतसँगको पार्टी एकताका क्रममा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव रहेका वैद्यले पार्टी नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी (आरसीपी) राख्ने निर्णय गरेर माओवादी ब्रान्ड पखाल्ने निर्णय लिएका छन् ।

तर उक्त पार्टीका केन्द्रीय कार्यालय सदस्य हरिभक्त कँडेलले रुपमा पार्टीको नाममा माओवादी शब्द हटेपनि सारमा पार्टीले सार्वभौम सिद्धान्तका रुपमा माओवाद/विचारधारा नछोडेको प्रतिक्रिया दिएका छन् । देशमा रहेका क्रान्तिकारी देशभक्त कम्युनिष्टहरुसँगको धुव्रिकरण र एकता सहज होस भन्ने ध्येयले पार्टीको नाममा रहेको माओवादी शब्द झिकेर नयाँ नाममा पार्टीलाई अर्काे पार्टीसँगको एकतासागै पूर्नगठन गरिएको कँडेलले मेरोन्यूजसँगको कुराकानीमा बताए ।

‘ हामीले क्रान्तिकारी माओवादी नाम छोडेर क्रान्तिकारी कम्युनिष्ट पार्टी राखेका हौं । यो रुप पक्ष हो । तर हामीले सारमा माओवाद छोडेका होइनौं, छैनौं । हाम्रो माओवादी शब्दसँग मोह अझै पनि छदैछ । नयाँ जनवादी, समाजवादी, क्रान्तिकारी, देशभक्त कम्युनिष्ट सवैलाई पार्टीमा गोलवद्ध गर्न सजिलो होस भनेर हामीले पार्टीको नाममा शब्द माओवादी नराख्न पनि सकिन्छ भन्ने समीक्षा गरेका हौं । तर मालेमावादलाई सार्वभौम सिद्धान्त मान्ने शक्तिहरुका बीचमा मात्र एकता हुनसक्ने हाम्रो लाइन प्रष्ट छ,’ कँडेलले मेरोन्यूजसँग भने ।

माओवादी ट्याग पार्टीको नामबाट झिकेर क्रान्तिकारी कम्युनिष्ट पार्टी राख्दा मोहन वैध किरण र धर्मेन्द्र बास्तोलाको पार्टीलाई कतिपय माओवादी धारकै नेताहरुले अमेरिकामा रहेको बब अभाकिनको पार्टीबाट र खासगरी रिमबाट प्रभावित भएर त्यस्तो नाम राखेका हुन की भन्ने शंकाले पनि हेरेका छन् । त्यस्तै मध्येमा पर्छन्, हिजो एकीकृत हुँदा सगै माओवादीमा रहेका र हाल माओवादी माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक भएर बसेका गोपाल किराँती ।

तर किराँतीको आशंकालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता हरिभक्त कँडेल खण्डन गर्छन् । ‘बब अभाकिनसँग प्रभवित भएर पार्टी नाम त्यस्तो राखेको भन्ने होइन । अहिले हामी बब अभाकिनलाई आलोचना गछौं । उनलाई आलोचना गर्ने पार्टी नीति छ भने उनीबाट प्रभवित भएर यहाँ पार्टी नाम राखेको भन्ने फन्टुस कुरा मात्र हो । त्यस्तो होइन । क्रान्तिकारी कम्युनिष्टहरु एक ठाँउमा ल्याउन सजिलो होस भनेर क्रान्तिकारी कम्युनिष्ट पार्टी (आरसीपी) हामीले नाम राखेका हौं,’ कँडेलले भने ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले त झन् पार्टीको नामबाट ‘माओवादी ‘ ट्याग उहिल्यै फाल्न खोजेका हुन् । नेकपा एमालेसँग २०७५ जेठ ३ मा पार्टी एकता गर्दा नै उनले पार्टीभित्र कुनै समीक्षा बिना नै माओवादी व्रान्ड फयाँकेका थिए । तर एमालेसँगको एकता धेरै टिकेन । सर्वाेच्च अदालतले एमाले माओवादीको पार्टी एकता भत्काईदियो । अदालतले नभत्काएको भएपनि केपी ओली र प्रचण्ड-माधव नेपालका बीचमा चलेको चर्काे अन्तरसंर्घषले नेकपा (एमाले माओवादी एकतापछिको पार्टी) लाई करिव विभाजित बनाईसकेको थियो ।

अदालतको २०७७ माघ २३ को फैसल्लापछि प्रचण्डले फालिसकेको माओवादी व्रान्ड मन नपरी नपरीकन पनि फेरि बोकिरहेका छन् । तर उनले १२ देखि २१ माघ २०७९ सम्म चलेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको नामबाट माओवादी ट्याग फयाक्ने प्रस्ताव राखिसकेका छन् ।

पार्टी बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा ‘संरचनागत, विधि र पद्धति, नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवम् प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्ने’ उल्लेख छ ।

यधपी, त्यसबारेमा माओवादीभित्र थप छलफल छैन । तर, अब जेठमा बस्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र त्यस महाधिवेशनवाट पार्टीको नाम र चुनाव चिन्ह्र समेत फेर्ने बारेमा निर्णय लिने माओवादीका एक पदाधिकारीले मेरोन्यूजलाई जानकारी दिए ।

हुन त प्रचण्डले एमालेसँगको सम्वन्ध विच्छेदपछि पनि माओवादी नाममा फर्किन चाहेका थिएनन । अदालतले नेकपाको वैधानिकता खारेज गरेर पूरानै अवस्थामा फर्काउँदा सम्म प्रचण्डले माधव नेपाल समुहलाई एकताबद्ध बनाएरै माओवादीमा नफर्किने कोसिस गरेका थिए । तर माधव नेपालले एकतामा प्रचण्डलाई साथ दिएनन ।

त्यसपछि मात्र प्रचण्ड बाध्य भएर पूरानै माओवादी केन्द्रमा फर्केका थिए । पूरानै पार्टीमा फर्केपछि पनि प्रचण्डले पार्टी केन्द्रीय समितिमा त्यसवेलै पार्टीको नामबाट माओवादी छोडने हो, नाम फेर्ने र नयाँ ढंगबाट पूर्नगठन र संगठित भएर पार्टीलाई लैजाने हो भनी राजनीतिक रुपमा दिशानिर्देश गरेको सम्झन्छन्, त्यसवेला माओवादीको केन्द्रीय समितिमा रहेका तर हाल राष्ट्रिय संकल्प अभियान चलाईरहेका नेता हेमराज भण्डारी ।

भण्डारी अहिले माओवादी पार्टीबाट अलग भईसकेका छन् ।

प्रायः जुनकुनै पार्टीहरुले पनि आफनो पहिचान, इतिहास जोगाएरै अनन्तकालसम्म जान चाहान्छन् । अन्य पार्टीसँगको एकता, धुव्रिकरणका समयमा समेत आफनो पहिचान झल्कोस् भन्ने विशेष चासो राजनीतिक दलहरुमा हुन्छ । तर माओवादी धारका पार्टीहरुमा भने माओवादी बान्ड अहिले सवैजसोले नै मेटेरै अगाडी बढ्न चाहिरहेका देखिन्छन् ।

सुरुमा यो आन्दोलन र धारामा रहेर राजनीति गरेका डा बाबुराम भटटराईले २०७२ असोज ९ मा माओवादी बा्रन्डलाई आफनो शरीरबाट पखाले । उनले माओवादी बान्ड मात्रै होइन, कम्युनिष्ट भन्ने ट्याग पनि आफनो शरिरमा वाछिटा समेत कुनै पनि रुपमा लत्पत्याउन चाहेनन ।

त्यसपछि प्रचण्डसँग राजनीतिक रुपमा सम्वन्धविच्छेद गरी मोहन वैधसँगै हिडेका र पछि बैधबाट पनि सम्वन्ध विच्छेद गरी अलग्गै कम्युनिष्ट पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लवले माओवादी ब्रान्ड छोडिदिए । विप्लवको पार्टीको काठमाडौंमा उद्घाटन र रोल्पाको थवाङमा पुगेर समापन भएको महाधिवेशनबाट पार्टीको नाममा रहेको माओवादी ट्याग हट्यो । विप्लवले पार्टीको नामबाट माओवादी ब्रान्ड झिकिदिए । त्यसवेला विप्लवको संश्लेषण थियो– माओवादी व्रान्ड प्रचण्डहरुले बदनाम बनाए, अब यो व्रान्ड फेर्नुपर्छ । नयाँ ढंगले पार्टी पूर्नगठन गरेर जानुपर्छ ।

विप्लवले माओवादी ट्याग छोडेपछि यो ट्याग मेटनेमा प्रचण्ड स्वयम पनि आईपुगे । प्रचण्डलाई पनि माओवादी व्रान्ड छोडने हुटहुटी थियो । तर उनी उपयुक्त समयको पर्खाईमा थिए । सत्ताको वरिपरि घुमिरहँदा कतिपय अन्तराष्ट्रिय शक्तिकेन्द्रले उनीमाथी पार्टीको नाम फेर्न घोषित अघोषित दवाव थियो । देशभित्र पनि आधारभूत वर्गले जुन उदेश्यका साथ माओवादी जनयुद्दलाई साथ दिएका दिए, त्यस अनुकुलको जीवनशैली र ब्यवहार नदेखेपछि चटक्कै छोडन थालेका थिए । संसदीय चुनावमा निर्णायक रहेको मध्यमवर्गले त झन् माओवादी नाम रुचाउन र सुन्नै नचाहेको देखेपछि माओवादी ब्रान्ड छोडने सोच प्रचण्डमा पलाएको थियो । तर उनले एमालेसँगको एकताका बेला उपयुक्त मौका पाए । उनले पार्टीभित्र खास समीक्षा समेत नगरी माओवादी व्रान्ड छोडिदिए ।

तर वाध्यतामा फेरि बोकिरहनु परेको त्यही ‘माओवादी ब्रान्ड’ अहिले उनी जुनकुनै वेला फाल्ने र धोइपखाली गर्ने तयारीमा छन् । माओवादी धाराबाट जन्मेका र माओवादी नाम नै बोकर पार्टी चलाईरहेका मोहन वैद्य किरणले समेत शनिबारबाट माओवादी ब्रान्ड छोडिदिएपछि झन् प्रचण्डलाई थप सजिलो भएको छ । अहिले माओवादी धाराकै नेताहरुलाई माओवादी शब्द एलर्जी लाग्न थालेको सहज बुझन सकिने कतिपय राजनीतिक विश्लेषकहरु बताउँछन् ।

किन प्रिय भएन ‘माओवादी व्रान्ड’ ?

माओवादी व्रान्डलाई पार्टी नाममै जोडेर खुलेका आधा दर्जन बढी कम्युनिष्ट पार्टी थिए नेपालमा । निर्वाचन आयोगमा मात्रै पनि पछिल्लो दल दर्ताको अध्यावधिक विवरण हेर्ने हो भने कुल ११७ राजनीतिक दल दर्ता भएकामा अहिले पनि ४ वटा माओवादी नाम जोडिएका पार्टी दर्ता छन् ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) सहित माओवादी कम्युनिष्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी नामका चार वटा पार्टी निर्वाचन आयोगमा दर्ता छन् । दर्ता नगरी बाहिर रहेकामा मोहन वैध किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मानिक लामा नेतृत्वको नेकपा एकीकृत माओवादी लगायतका पार्टी पनि छन् । तर यसमध्ये दर्ता भएकामा प्रचण्ड र दर्ता नभएकामा मोहन वैद्य किरणका मात्र माओवादी नामका पार्टी पार्टीका रुपमा छन् ।

अन्य भने एकाध नेता कार्यकर्ता जम्मा भएर बनेका तर अस्तित्वमा नदेखिएका पार्टी हुन् । कुनै न कुनै रुपमा अस्तित्वमै रहेकाले पनि माओवादी ब्रान्ड फेर्न र मेट्न थालेपछि माओवादी धारका नेताहरुलाई नै माओवादी व्रान्ड एलर्जी लाग्न थालेको टिप्पणी राजनीतिक बृतमा हुन थालेको छ । कुनै समय माओवादीमै रहेर अहिले अलग भई राष्ट्रिय संकल्प अभियान चलाईरहेका हेमराज भण्डारी भन्छन्, ‘माओवादी भनेको परिवर्तन, मुक्ति, न्याय, समानता र स्वतन्त्रता, वलिदान, उर्जा, त्यागको पहिचान थियो हिजो । हिजोको त्यो सकारात्मकतालाई बचाउन प्रचण्ड, किरण, बाबुराम, विप्लव कसैले पनि सक्नुभएन । पछिल्लो चरणमा माओवादी भनेको फुट, विभाजन, संर्किणता, स्वार्थ, धोकाधडीको मात्र भएको जसरी यो नाममा उहाँहरुले जोडाउनु भयो । जसकाकारण अव यो माओवादी ब्रान्डबाट चल्दैन भन्ने उहाँहरु सवैलाई लागेको छ । त्यसकारण उहाँहरु माओवादी नाम फेर्न चाहिरनुभएको छ ।’

भण्डारीको मतसँग माओवादी केन्द्रका प्रभावशाली युवा नेता लेखनाथ न्यौपाने पनि सहमत छन् ।

‘यसलाई दुई कोणबाट हेुर्नपर्ला, एउटा ब्यवहारिक पक्ष र अर्काे सैद्दान्तिक पक्ष । ब्यवहारिक पक्षबाट हेर्दा माओवादी नाम अहिले समाजमा नेगेटिभ विम्बका रुपमा स्थापित गराईएको छ । माओवादी भनेको लुटपाट, भष्टाचार, ब्यक्तिगत स्वार्थको विम्वको रुपमा स्थापित गराईएको छ । र हिजो जनयुद्ध पनि त्यसैका लागि गरिएको भने जसरी स्थापित गरिएको छ । त्यसको सामना गरेर, फेस गरेर समाजमा जान हाम्रा नेताहरु सकेनन,’ पूर्व विद्यार्थी नेता समेत रहेका न्यौपाने भन्छन्, –‘ दोस्रो नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको भन्ने संश्लेषणका सम्वन्धमा त्यसको सान्र्दभिकता सम्पन्न भएपछि पनि कतिपय अवस्थामा नाम फेरिन सक्छन । तर यहाँ सारमा अरु केही नभई रंग खुईलिँदै गएको र माओवादी ब्रान्ड फेर्ने, छोडने गरी अभिब्यक्त हुन थालेको रुपमा यसलाई बुझनु उपयुक्त होला ।’

०००

प्रतिक्रिया