शुक्रबार, वैशाख २८, २०८१

वामदेवले प्यूठान मागेपछि दुर्गा पौडेललाई कहाँ ?

प्यूठान र कपिलबस्तु १ साट्ने प्रस्ताव, मान्ला त जनमोर्चाले ?

शितल शर्मा २०७९ साउन ३१ गते १३:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम राष्ट्रियसभा छोडेर प्रतिनिधीसभा चुनाव लड्न आउनेभएपछि सत्ता गठबन्धन दलभित्र फेरि एकपटक हलचल पैदा भएको छ ।

Advertisement

गठबन्धन दलभित्र सिट बाँडफाँडमा सकस परिरहेकै बेला सत्ता घटक दलको एउटा सहयात्री दल राष्ट्रिय जनमोर्चाले यस अगाडी जितेको निर्वाचन क्षेत्रमा बामदेव गौतमको आखाँ परेको छ । अन्य दलहरुले सिट बाँडफाँडमा यति र उत्ति सिट भनेर दावी गरिरह्ँदा जनमोर्चाको सिमित क्षेत्रमा मात्रै दावी छ । उसले प्यूठान, बागलुङमा मात्र आफुहरुको दावी प्रस्तुत गरिरहेको अवस्था गठबन्धन दलभित्र छ ।


यधपी, ५ सिटसम्म आफ्नो दलले पाउनुपर्ने माग उसको छ । तर सत्ता गठबन्धनले जनमोर्चालाई प्रत्यक्ष तर्फ प्रतिनिधीसभामा दिने सिट भनेको त्यही एक सिट हो । त्यसमा पनि बामदेवले नै आखाँ लगाएपछि जनमोर्चालाई सत्ता गठबन्धन दलले दिन्छन् कहाँ ? अहिले प्रश्न उठेको छ ।

तर बामदेवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित जनमोर्चाका नेताहरुसँग पनि यसपटकका लागि प्यूठान आफ्नो लागि छोडिदिन आग्रह गरेका छन् । त्यसका साटो जनमोर्चाकी नेतृ दुर्गा पौडेलको ब्यवस्थापन आफुले गर्न सक्ने गौतमले बताउन थालेका छन् ।

त्यसो हो भने प्यूठानसँग बामदेव र सत्ता गठबन्धन दलका नेताहरुले जनमोर्चालाई कहाँ ब्यवस्थापन गर्ला ? वामदेव निकट स्रोतले दिएको जानकारी अनुसार दुर्गा पौडेललाई प्यूठानबाट कपिलबस्तु – १ मा झारेर निर्वाचन लडाउने योजनामा सत्ता गठबन्धन दल रहेको देखिएको छ ।

कपिलवस्तु – १ माओवादी केन्द्रका चक्रपाणि खनाल (बलदेव) ले जितेको निर्वाचन क्षेत्र हो । यो क्षेत्र जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी नेतृ दुर्गा पौडेलको माइती जिल्ला पनि हो । यही क्षेत्रमा दुर्गालाई ब्यवस्थापन गर्न सकिने वुझाईमा वामदेव गौतम देखिएका छन् ।

कपिलवस्तु – १ को गत प्रतिनिधीसभा निर्वाचनमा माओवादी नेता बलदेवले वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । उनले कांग्रेसका दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । एमाले माओवादी मिल्दा वलदेवले २९७९९ मत पाएका थिए । कांग्रेसका दीपकुमारले २८८५३ मत पाएका थिए ।


त्यहाँ जनमोर्चाका त्यसवेला उम्मेदवार थिए । जनमोर्चाका माधव भाटले ७१७ मत मात्र पाएका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रले दुर्गालाई जिताउने विश्वास र सहयोग देखाए उनले त्यही क्षेत्रबाट चुनाव जित्न सक्ने वुझाईमा बामदेव देखिएका छन् ।

कपिलबस्तुमा पूर्व जनमोर्चाका धेरै नेता-कार्यकर्ता रहेको र ती अहिले कोही माओवादी, कोही एमाले बनेको र उनले सानै उमेरदेखि त्यस क्षेत्रमा गरेको अनेकखाले संर्घषका कारण दुर्गालाई त्यस क्षेत्रबाट जिताउन सकिनेमा बामदेवको वुझाई छ ।
दुर्गा कपिलवस्तुको श्रीनगरस्थित कनकमुनि माध्यमिक विद्यालयबाट माध्यमिक तहको पढाइ पूरा गरेकी थिइन् । त्यही विद्यालयको अनियमितताका विरुद्ध समेत उनले आन्दोलन गरेकी थिइन् । २०४४ मा कपिलवस्तुमा गठन भएको जिल्ला विकास परिषद्को नेतृत्वमा सुरु भएको आन्दोलनमा लागेर उनी तीन महिना कपिलवस्तुकै जेलमा परिन् ।


२०५१ सालमा तत्कालीन सरकारले कपिलवस्तु जिल्लाको निग्लिहवाको जर्लैया, तिलौराकोटको सग्रहवाको जङ्गलको १६० बिघा जमिन एकजना व्यक्तिका नाममा एग्रोफरेस्ट्रीका लागि भनी दर्ता गर्न गरेको बदनियतपूर्ण निर्णयले दुर्गालाई जनताका बीचमा काम गर्ने अनुभव र आत्मविश्वास जुटाइदियो । उनी उक्त दर्ता खारेजीका विरुद्ध गरिएको आन्दोलनकी अध्यक्ष थिइन् । चार वर्षसम्म चलेको उक्त आन्दोलनको परिणामस्वरूप सर्वोच्च अदालतले त्यो दर्ता खारेज गरिदियो ।


कपिलवस्तुमै उनले गरेका अनेकखाले संर्घषका कारण उनको नाम कपिलवस्तुमा चिनाईरहनु नपर्ने र उनलाई जिताउन सकिने भन्दै कपिलवस्तुबाट चुनाव लडाउने गरी विकल्प राखिएको स्रोतको भनाई छ । तर जनमोर्चा र स्वंयम दुर्गाले पनि यस विषयमा कुनै मुख खोलिसकेकी छैनन ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया