सोमबार, जेठ ७, २०८१

तनहुँमा प्लाष्टिकझोलामुक्त अभियान : पसल-पसलमा सचेतना कार्यक्रम

मेरोन्यूज २०८१ वैशाख २८ गते ९:३२

तनहुँ । आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने अभियान सञ्चालन भएको छ । अभियानअन्तर्गत नगरपालिकाको एउटा टोली पसल–पसलमा पुगेर सचेतना कार्यक्रम सञ्चालनमा व्यस्त छ ।

Advertisement

व्यास नगरपालिका प्लाष्टिक झोलामुक्त अभियानका संयोजक रनसिंह नेपालीको संयोजकत्वमा छ जनाको टोली पसल–पसलमा पुगेर प्लाष्टिक झोला प्रयोग नगर्न अनुरोध गरिरहेको छ । सुरुमा बजार केन्द्रित अभियान अहिले नगरपालिका–१, २, ३ र ४ मा सक्रिय छ । टोलीले बजार क्षेत्रमा निरन्तर ‘माइकिङ’ गरेर प्लाष्टिक झोला प्रयोग नगर्न क्रेता तथा बिक्रेतालाई आग्रह गरेको छ ।

गत चैत २ गतेदेखि मासु, दूध, कपडा, किराना पसल, तनहुँ उद्योग वाणिज्य सङ्घलगायत व्यवसायी तथा सङ्घसंस्थासँग छलफल गरी अभियान थालिएको हो ।

अभियानलाई जेठ १ गतेदेखि कडाइका साथ लागू गर्न व्यास नगरपालिकाले प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि,२०८१ समेत पारित गरिसकेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

प्लाष्टिक झोलामुक्त अभियानलाई सफल बनाउन कपडाको झोला उत्पादनमा नगरपालिकाले प्राथामिकता दिएको छ ।

प्रतिक्रिया