मंगलबार, वैशाख २५, २०८१

युक्रेनी सहरबाट सेना फिर्ता गर्दै रूस, मस्को समस्यामा रहेको अमेरिकाको दाबी

मेरोन्यूज २०७९ कार्तिक २४ गते १५:५३

काठमाडौँ । रुसले युक्रेनको प्रमुख सहर खेरसनबाट सेना फिर्ता गर्ने भएको छ । रूसले आफ्नो नियन्त्रणमा रहेको उक्त सहरबाट आफ्ना सैनिकलाई फिर्ता हुन आदेश दिएको समाचारमा जनाएको छ ।

Advertisement

रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच रूसको राजधानी मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको हो । आफ्नो पकड सुदृढ तुल्याउन दुई दिशाबाट अगाडि बढिरहेको बेला रूस पछि हटेको छ ।

युक्रेनी अधिकारीले रूसी घोषणाप्रति आशंका जनाएको छ । रूसी सैनिकले खेरसन छाड्ने कुनै सङ्केत नदेखाएको उनीहरूले बताएका छन् । युद्ध नलडी रूस खेरसनबाट फिर्ता हुन्छ भन्ने युक्रेनीलाई नलागेको युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइलो पोडोल्याकलाई उद्धृत गर्दै सिएनएनले बताएको छ ।

उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नाटो)का महासचिव स्टोल्टनबर्गले रूसी निर्णयको स्वागत गर्दै युक्रेनी सशस्त्र सेनाको साहस र पश्चिमा राष्ट्रको निरन्तर सहयोगको परिणाम स्वरूप सैन्य फिर्ती सम्भव भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसको उक्त निर्णयबाट मस्को समस्यामा रहेको स्पष्ट हुने बताएका छन् । उनले मस्कोको उक्त निर्णयको आफूले पहिले नै अपेक्षा गरेको दाबी गरेका छन् । यस्तै, उनले उक्त निर्णयबाट दुवै पक्षलाई आफ्नो अवस्थाको समीक्षा गर्न बल पुग्ने बताए ।

युक्रेनमाथि रूसले गरेको आक्रमणलाई गम्भिर गल्ती भन्दै उनले त्यसको मूल्य वर्षौंवर्षसम्म राष्ट्रहरूले चुकाउनु पर्ने बताए । उनले युद्धका कारण एक करोड ५० लाखदेखि तीन करोड शरणार्थी बनेका तथा त्यस क्रममा करिब ४० हजार नागरिकको ज्यान गुमाउनु परेको बताएका छन् ।

प्रतिक्रिया