आइतबार, जेठ ६, २०८१

सरकारले आगलागीमा पीडितलाई घर बनाउन राहत रकम दिने

मेरोन्यूज २०८१ वैशाख २५ गते १८:०५

विराटनगर । आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराएका हुन् । उनका अनुसार आगलागीमा घर जलेका प्रतिपरिवार हिमाली जिल्लाका लागि रु पाँच लाख, पहाडी जिल्लाका लागि रु चार लाख र तराईका जिल्लाका लागि रु तीन लाखका दरले जिल्ला दैवी प्रकोप राहत कोषबाट रकम प्रदान गरिनेछ ।

घर निर्माण गर्दा सङ्घीय सरकारले महानगरपालिका क्षेत्रमा ५० प्रतिशत, नगरपालिका क्षेत्रमा ५५ प्रतिशत र गाउँपालिका क्षेत्रमा ६० प्रतिशत र प्रदेश सरकारले प्रत्येक क्षेत्रमा ३० प्रतिशत बाँकी रकम सम्बन्धित पालिकाले बेहोर्ने जनाइएको छ ।

आगलागी पीडित परिवारका राहतका निम्ति सम्बन्धित पालिकाले क्षति र मुचुल्कासहितका विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

यसवर्ष मोरङमा आगलागीबाट ज्यान गुमाएका आठ जनालाई जनही रु दुई लाखका दरले र आगलागीमा परेका ६५ परिवारलाई रु ५४ लाख ३१ हजारसहित कूल रु ७० लाख ३१ हजार क्षतिपूर्ति दिइसकेको प्रजिअ भट्टराईले जानकारी दिए ।

त्यसैगरि आगामी मनसुनबाट हुनसक्ने जनधनका क्षति न्यूनीकरण गर्न आवश्यक भौतिक सामग्री पालिकाले समयमै व्यवस्थापन गर्न र तयारीका विषयमा तीन दिनभित्र विवरण उपलब्ध गराउन सबै पालिका प्रमुखलाई प्रजिअ भट्टराईले निर्देशन दिएका छन् ।

बर्षाका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रको अनुगमन गर्ने र सोहीअनुसार तयारी गर्ने निर्णय भएको छ । बैठकमा सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, पालिकाका प्रमुख, सञ्चारकर्मी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया