शुक्रबार, वैशाख २८, २०८१

सेनाको ‘कमान्ड कन्सेप्ट’ उल्टिदा आन्तरिक राजनीतिको भूमरी पर्ने आशंका

मेरोन्यूज २०७९ असोज १ गते २०:०५

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अघिल्लो प्रधानसेनापतिको निर्णयलाई उल्टाएका छन् ।

Advertisement

सामान्यतयाः सेनामा अघिल्लो प्रधानसेनापतिको निर्णयलाई कार्यान्वयन गरेर जाने परम्परालाई तोड्दै शर्माले पूर्णचन्द्र थापाको निर्णयलाई उल्टाएका हुन् । उनले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन । पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन थालेपछि नेपाली सेनामा पनि अन्य सुरक्षा निकायजस्तै आन्तरिक राजनीतिको भूमरीमा पर्न थालेको आशंका गरिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीभित्र आन्तरिक राजनीतिले थिलथिलो बन्दै गएका बेला साता वटै प्रदेशमा सेनाको संरचना व्यूताउदा फेरी पनि कोही व्यक्तिको बढुवा लक्षित हुनसक्ने आशंका सेनाभित्रबाटै गरिएको छ । सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमितासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापाले कमाण्ड कन्सेप्ट जारी गरी पृतना घटाएका थिए । तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने क्रममा उनले कमान्ड कन्सेप्टलाई एक वर्षमै स्थगित गर्दै पुरानै आठ पृतना हेडक्वार्टरको संरचनामा फर्काएपछि यस्तो आशंका शुरु भएको हो ।

शर्माले सरकारलाई दिएको परामर्शपछि भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरानै संरचना ब्युँतिने भएको हो । योसँगै अब नेपाली सेनाका ७ प्रदेश तथा एक राजधानी गरै पुरानै आठ पृतना हेडक्वार्टर पुनःस्थापित हुनेछन् । यतिबेला सेनाले आर्थिक भारलाई समेत दोष दिएर पुरानो संरचनामा फर्केको देखिन्छ ।

सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेना पुरानै संरचनामा गए पनि कमान्ड कन्सेप्टबाट नबाहिरिने दावी गरेका छन् । ‘कमान्ड कन्सेप्ट जारी नै रहन्छ, मात्र हुबहु कार्यान्वयनमा तत्काल नजाने हो, राज्य सक्षम भएका बेला जाने बाटो खुला नै रहन्छ,’ उनले भने । तर त्यसो गरिँदा संघीय संरचनालाई भने ध्यान दिइने उनको भनाइ थियो । ‘देश संघीय संरचनामा भएकाले व्यावहारिक रूपमा संघीयताअनुकूलको संरचना पनि चाहिन्छ भन्ने बुझाइ भएको छ,’ उनले भने ।

नयाँ अवधारणाको कमान्ड कन्सेप्टमा जाने क्रममा नयाँ बन्ने गण, गुल्म, नयाँ पूर्वाधार संरचना, हातहतियार तथा खरखजानामा धेरै खर्च लाग्ने भन्दै प्रवक्ता सिलवालले भने, ‘जुन अहिलेको देशको अर्थतन्त्रले पनि धान्न नसकिने देखियो । यसो हुनुभन्दा पुरानै स्थापित संरचनामा फर्किंदा प्रदेशसँग समन्वय गरेर काम गर्न सघाउ पनि पुग्ने र थप आर्थिक भार नपर्ने भएपछि सेना पुरानै संरचनामा फर्किने समीक्षामा पुगेको हो ।’ सेनाले २०७८ साउन १ देखि कमान्ड कन्सेप्टमा आफूलाई लगेको थियो। २०८३ सम्म पूर्ण रूपमा यो कन्सेप्टमा सेनालाई रूपान्तरण गरिसक्ने गरी पुराना ८ पृतना खारेज गरेको थियो ।

कमान्ड कन्सेप्टलाई ‘थ्री प्लस–वान’ कमान्डका आधारमा संरचना गरिएको थियो। जसमा पूर्वी–कमान्ड, मध्य–कमान्ड र पश्चिम–कमान्ड गरी तीन र उपत्यका–कमान्ड गरी सैनिक मुख्यालयअन्तर्गत चारवटा कमान्ड–कन्ट्रोल रहने व्यवस्था थियो । संरचनागत रूपमा आवश्यक कमान्डअनुसारका अधिकृतको पदमा भने केही हेरफेर हुनसक्ने सेनाले जनाएको छ । ब्युँतिने पृतना हेडक्वार्टरको नेतृत्व पहिलेजस्तै सहायक रथीले गर्ने जनाइएको छ ।

शर्माले यसअघि पनि सैनिक नेतृत्वमा हँुँदा थापाले गरेका तमाम निर्णय उल्टाएको सैनिकस्रोत बताउँछ । ‘तीमध्ये यो सबैभन्दा ठूलो निर्णय हो,’ स्रोतले भन्यो, ‘यसअघि सैनिक बढुवामा भएको तलमाथि, विवादास्पद निर्णय र कारबाहीको निर्णय उल्टाउनुभएको थियो ।’ युरोप अमेरिका, इजरायल र पाकिस्तानलगायत मुलुकका सेनाले डिभिजन कमान्ड अभ्यास गरिरहेको बेला नेपाल पनि यो योजना लागु गरिएको थियो ।

नयाँ योजनाबाट सेना एक वर्षमै पछि हट्नुलाई कतिपय पूर्वजर्नेलले तयारी बिनाको फेसनको संज्ञा दिएका छन् । पूर्वप्रधानसेनापति थापाले सैनिक ऐन समेत परिवर्तन नभएको अवस्थामा तीन जोड एक कमान्ड लागू गराएका थिए । अहिले पनि यो ऐन परिवर्तन भएको छैन । थापाले नेपाली सेनालाई आवश्यकता र औचित्यका आधारमा भन्दै कमान्ड संरचनामा लगेका थिए। त्यसबेला सेनालाई आठवटा पृतनाबाट चार कमान्डमा लगिएको थियो ।

अहिले त्यसको ठिक उल्टो गरिएको छ ।

प्रतिक्रिया