शुक्रबार, वैशाख २८, २०८१

भक्तपुर- १ मा नेमकिपासँग चुनाव लड्नै डराउँछन अन्य दल

हार्ने क्षेत्र पन्छाउने दाउमा गठबन्धन दल, भक्तपुर १ अहिलेसम्म कसैको दावीमै परेन

शितल शर्मा २०७९ भदौ २१ गते १४:४६

काठमाडौं । सत्तागठबन्धन दलले एक महिना यता आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेर ‘सिट बाँडफाँट’ को गृहकार्यमा समय गुजारीसकेका छन् । चुनावी तालमेल गर्दा दलहरुले प्राप्त गर्ने सिट संख्या र निर्वाचन क्षेत्र बाँडफाँटको मापदण्ड र आ–आफ्ना दावीले सिट बाँडफाँट दलहरुलाई सकस परिरहेकै छ ।

Advertisement

शीर्ष नेताहरुले क्षेत्रगत रुपमा नै प्रतिवेदन तयार पार्न अन्तिम पटक आजसम्मको समयसिमा कार्यदललाई दिएका छन् । कार्यदलको बैठक आज साँझ ६ बजे बोलाइएको छ । आज रातभर लगाएर भएपनि उनीहरुले प्रतिवेदन तयार पार्ने र भोलि बिहान ११ बजेदेखि बालुवाटारमा गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरु बसेर बाँडफाँटको अन्तिम टुंग्गो लगाउने कसरथमा दलहरु छन् ।

त्यही क्रममा सोमबार देखि कार्यदलका नेताहरुले निर्वाचन क्षेत्रगत आधारमा विश्लेषण गर्ने र कुन क्षेत्रमा कुन दलले दावी प्रस्तुत गर्ने भन्ने चलिरहेको छ ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी देखि राष्ट्रिय जनमोर्चासम्मका दल अहिले सत्तागठबन्धनमा छन् ।

जनमोर्चाले बाग्लुङ र प्यूठानमा वाहेक अन्यत्र सिट दावी गरेको छैन । उसले केही न केही जनमतको आधार भएको क्षेत्र नै दावी गरेको देखिन्छ । तर अन्य ४ दलले भने जनमत नभएका निर्वाचन क्षेत्र र त्यसमा पनि एउटा पार्टीका उम्मेदवार उठ्दा खलप्पै अर्काे पार्टीको मत खप्टाउँदा समेत जित्ने आधार नदेखिएका क्षेत्रमा पनि दावी गठबन्धनको बैठकमा गर्न छोडेका छैनन ।

तर प्रतिनिधीसभाको एउटा निर्वाचन क्षेत्र यस्तो देखिएको छ,– जहाँ गठबन्धनमा रहेका ५ वटै दल कुनैले पनि अहिलेसम्म त्यो निर्वाचन क्षेत्र हाम्रो दललाई दिनुपरयो भनेर दावी गरेका छैनन । गठबन्धन कार्यदलमा रहेका एक नेताले मेरोन्यूजसँग भने अनुसार, त्यो निर्वाचन क्षेत्र हो – भक्तपुर क्षेत्र नम्बर १ ।

यो निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टी बलियो अवस्थामा छ । यो क्षेत्रमा २०४८ सालदेखि हालसम्म नेपाल मजदुर किसान पार्टीले चुनाव हारेको रेकर्ड नै छैन । चुनावमा प्रतिस्पर्धी दलले समेत नेमकिपाका उम्मेदवारलाई पछ्याउने हिम्मत समेत यो क्षेत्रमा अन्य दलका उम्मेदवारले गर्न सकेका छैनन ।

२०४८, ०५१, ०५६, ०६४ र ०७० मा गरी पाँच पटक यो क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छें रोहितले जित्दै आएका थिए । तर २०७४ मा उनले आफु नउठेर उक्त क्षेत्रको जिम्मा पार्टी नेता प्रेम सुवाललाई दिए ।

त्यसपछि ०७४ मा सुवालले जिते । अहिले पनि फेरि सुवाल नै यो क्षेत्रमा नेककिपाबाट चुनाव लड्ने तयारीमा छन् । यो क्षेत्रमा सत्ता गठबन्धन दलले गठबन्धन गर्दा नेमकिपालाई पराजित गर्न सक्ने जनमत २०७४ को निर्वाचन र गत स्थानीय तह निर्वाचन परिणामले पनि देखाएको छैन । जसकाकारण गठबन्धनका दलहरुले आफु जित्नकै लागि सिट संख्या मात्र लिने र हार्नेमा भन्दा पनि अलिक जोड गर्दा जितिन्न्छ भने क्षेत्र खोज्नेमा कस्सिएका छन् ।


‘सकभर’ भक्तपुर १ अन्य दललाई पन्छाउने दाउमा गठबन्धनभित्रकै दलहरु लागिरहेका छन् ।

‘भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रमा अहिलेसम्म कुनै पनि दलले हामीलाई देउ न त यो क्षेत्र भनेर गठबन्धन भित्र दावी गरेका छैनन । सकभर सिट संख्या टुग्गिदा अन्य दलले नै उक्त क्षेत्र लिओस् भन्ने नै प्रायः दलको मनोविज्ञान देखिन्छ,’ गठबन्धन कार्यादलमा रहेका ती नेताले भने,–‘हार्ने क्षेत्र लिएर किन सिट संख्या मात्रै ओगटने भन्ने प्राय दलको बुझाई देखिन्छ । त्यो अर्काेलाई दिएर त्यसको साटोमा अर्काे अलिक बल गर्दा जितिन्छ भने किन नलिने भन्नेतिर दलहरुको सोच देखिएको छ ।’

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छ ।

प्रदेश तर्फ भने (क) मा गठबन्धन दलका नेताहरुको दावी देखिन्छ । कारण यो प्रदेशमा नेमकिपा निर्णायक छैन । तर फेरि प्रदेश ९ख)मा भने नेमकिपासँग कुनै दलले प्रतिस्पर्धा नै नगरी सिधा टिका लगाईदिए हुने देखिन्छ ।

यस्तो छ अंकगणित

भक्तपुर १ मा गत स्थानिय तह निर्वाचनमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा हेर्दा पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सवैभन्दा बलियो छ । दोस्रोमा रहेको दलको भन्दा दोब्बरमा पनि अझ बढी मतले नेमकिपा बलियो ‘पोजिसन’मा देखिन्छ ।

नेमकिपाले ३३,८९५ मत गत स्थानीय तहमा वडा अध्यक्षहरुको मतबाट ल्याएको देखिन्छ भने यो क्षेत्रमा दोस्रोमा देखिएको एमालले १४११९, कांग्रेसले १३,०१३, राप्रपाले ६,२८६ र माओवादीले जम्माजम्मी १, ३८८ मत पाएको थियो ।

कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायत अहिलेको सत्ता गठबन्धन दल सवैको मत जोड्दा पनि भक्तपुर १ मा गठबन्धन दलको मत ‘जेनतेन’ १५ हजार मात्रै पुग्छ । नेमकिपा गठबन्धन भन्दा अझ १८ हजार बढी मतले स्थानीय तहको मत विश्लेषण गर्दा बलियो देखिन्छ ।

नेमकिपालाई यो क्षेत्रमा हराउनका लागि अहिलेका सत्ता गठबन्धन दल, एमाले देखि राप्रपासम्म सवै एक ठाँउ उभिएमा मात्र बल्ल प्रतिस्पर्धामा आएर हराउन सक्ने सम्भावना देखिन्छ । नत्र स्थानीय तहको मत, ०७४ को प्रतिनिधीसभा तथा प्रदेश सभाको चुनावी मत सवै विश्लेषण गर्दा नेमकिपालाई हराउन अन्य दललाई फलाम चपाउनु सरह नै छ ।

यो निर्वाचन क्षेत्रमध्येको भक्तपुर नगरपालिकामा गत स्थानीय तहमा नेमकिपाले ‘क्लीन स्वीप’ गरेको थियो । नेमकिपाले उक्त नगरपालिकामा मेयर‚ उपमेयर र १० वटै वडाध्यक्षमा फराकिलो मतको अन्तरले विजय हासिल गरेको थियो ।

मेयरमा विजयी सुनील प्रजापतिले २९ हजार २०० र उपमेयरमा विजयी रजनी जोशीले २९ हजार ६९५ मत प्राप्त गरेका थिए । जबकी मेयरका प्रतिस्पर्धीहरु नेकपा (एमाले) का रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार ३५२ र नेकपा (माओवादी केन्द्र) का तुल्सीभक्त सुवालले ७४२ मत प्राप्त गरेका थिए ।

अघिल्लो चुनावमा भन्दा यस पटक नेमकिपाले स्थानीय तह चुनावमा झन् धेरै भोट प्राप्त गरेको थियो ।

चाँगुनारायणमा भने स्थिती फरक छ । स्थानीय तह चुनावमा चाँगुनारायण नगरपालिकाको मेयर कांग्रेसका जिवन खत्रीले जितेका छन् । उमेयर एमालेले जितेको छ । ९ वटा वडा रहेको यो नगरपालिकामा ४ वटा वडा कांग्रेसले, २ वटा एमालेले, २ वटा राप्रपाले र १ वटा नेमकिपाले जितेको छ । तर जनसंख्या भक्तपुर नगरपालिकाको तुलनामा धेरै नै कम रहेकोले प्रतिनिधीसभा तथा प्रदेश सभामा चाँगुनारायणको सवै मत एकैतिर खप्टिदा समेत भक्तपुर नगरपालिकाबाटै नेमकिपाले पाउने मतलाई पछ्याउन अन्य दललाई मुश्किल देखिन्छ ।

भक्तपुर १ को प्रदेश सभा (क) मा सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० पर्ने हुँदा यो क्षेत्रमा भने नेमकिपा कमजोर देखिन्छ । तर प्रदेश (ख) मा भक्तपुर नगरपालिकाको १ देखि ९ नम्बर वडासम्म मात्रै पर्ने भएकोले प्रदेश सभा तर्फपनि यो निर्वाचन क्षेत्रमा अन्य दलले जति बल गर्दा पनि नेमकिपाको किल्ला तोडन सक्ने जनमत छैन । जसकाकारण पनि सत्ता गठबन्धन दलभित्र लिनै पर्ने बाध्यतामा बाहेक भक्तपुर १ अहिलेसम्म कुनै पनि दलले मेरै पार्टीलाई चाहिन्छ भनेर सिट बाँडफाँटका क्रममा दावी गरेको देखिदैन ।

‘दावी नै कसैले गर्नुभएको छैन, लिनैपर्ने बाध्यतामा मात्र त्यो क्षेत्रमा एउटा दलले भाग पाउँलान्, तर सकभर सवै दलले त्यो क्षेत्र पन्छाएर अर्काे पार्टीको काँधमा हालिदिन पाए हुन्थो भन्ने गरी नै सोचेको देखिन्छ,’ कार्यदलका ती सदस्यले भने ।

कसरी बलियो रहिरहयो नेमकिपा ?


संख्यात्मक उपस्थितीका आधारमा हेर्ने हो भने नेमकिपा पहिलेको तुलनामा कमजोर हो । पहलिा भक्तपुरको दुवै निर्वाचन क्षेत्र, दैलेख, जुम्ला देखि अन्यत्र तिर पनि नेमकिपाको प्रभाव बलियो थियो । २०५१ को संसदीय चुनावमा नेमकिपाले ४ सिट प्रतिनिधीसभामै जितेको थियो । त्यतिबेला भक्तपुरका दुवै क्षेत्रमा अध्यक्ष विजुक्छे र अर्का नेता आशाकाजी वासुकलाले चुनाव जितेका थिए । भक्तपुरबाहेक जुम्ला र दैलेखबाट पनि उक्त पार्टीका उम्मेदवारले चुनाव जितेका थिए ।

तर २०६४ को संविधानसभा चुनावमा आईपुग्दा भक्तपुरमा मात्रै नेमकिपा खुम्चिन पुग्यो । भक्तपुरमा एउटा क्षेत्रमा अध्यक्ष विजुक्छे र अर्काे क्षेत्रमा सुनिल प्रजापति विजयी भए । प्रजापति अहिले भक्तपुर नगरपालिकाका मेयर छन् । उनी त्यस अगाडी पनि मेयर नै थिए । दास्रो संविधानसभा यता भने भक्तपुरको दुई नम्बर क्षेत्र नेमकिपाले गुमायो । अध्यक्ष विजुक्छेले भक्तपुरको क्षेत्र नं १ बाट जिते ।


त्यसपछि ०७४ मा भक्तपुर १ मा मात्रै नेमकिपाको विजयी यात्रा कायम रह्यो । अहिले पनि अन्य सवै पार्टी एकातिर र नेमकिपा अर्काेतिर तौलिदा पनि नेमकिपा बलियो नै देखिएको छ । अन्यत्रबाट बडारिँदै गर्दा पनि भक्तपुर १ नेमकिपा किन बलियो रहिरहयो ? राजनीतिक बृतमा बेलाबेलामा प्रश्न उठने गर्छ ।

नेमकिपाले खासगरी भक्तपुर क्षेत्र नं १ मा शिक्षा र भूमिसुधारलाई अभियानकै रुपमा अघि बढाएको कारण पनि त्यसकै टेवामा नेमकिपा अहिलेसम्म यो क्षेत्रमा बलियो छ । भक्तपुर र मध्यपुर नगरपालिकामा अझैपनि उनको पार्टीको संयन्त्रको विशेष उपस्थिति छ । उक्त क्षेत्रमा ‘एक घर एक स्नातक’ अभियान नेमकिपाले चलाएको थियो ।

त्यसलाई कार्यान्वयन गर्नकै लागि ख्वप कलेज सञ्चालनमा ल्याइएको हो । प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति तयार गर्न उक्त कलेज संचालन भएको हो । त्यसलाई विश्वविद्यालयकै रुपमा अघि बढाउने लक्ष्य नेमकिपाको देखिन्छ ।

भूमिसुधार मार्फत किसानको पक्षमा काम गरी नेमकिपाले आफ्नो जग बसालेको थियो । पहिले किसानले आफ्नो कमाइको कतै ३ चौथाई र कतै आधा नै जमिन्दारलाई बुझाउनुपथ्र्यो । मोहियानी हक पनि थिएन । त्यस्तो बेला नेमकिपाले त्यसलाई घटाएर एक भाग मात्र बुझाउनुपर्ने व्यवस्था कार्यान्वयन गराउने मात्र काम गरेन, मोहियानी पनि दिलाउन सफल भयो । त्यसपछि भक्तपुरका किसान नेमकिपाको पक्षमा भए ।

सास्कृतिक संरक्षण, सामाजिक रुपान्तरण, घर घरमा फैलिएको बलियो सागठनिक संरचना र भूमिसुधार आन्दोलनको जगकै कारण भक्तपुरमा नेमकिपा बलियो शक्तिका रुपमा टिकिरहेको स्थानीयहरु बताउँछन् ।

तर उम्मेदवार सिफारिस भने दलहरुले गरेका छन्

सिट बाँडफाँटको संख्याका आधारमा निर्वाचन क्षेत्र टुंग्गो लगाउँदै जाँदा अन्तिममा जुन दलको संख्या पुग्दैन त्यही दलले भक्तपुर १ पाउने सम्भावना छ । त्यसो हुँदा दलहरुले आ–आफनो दलमा आन्तरिक रुपमा उम्मेदवार सिफारिस गर्ने काम भने गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा बाबुराज जोशी र हरिकृष्ण बल्लको नाम सिफारिस गरेको छ । सिफारिस भएकामध्ये जोशी २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेर प्रेम सुवाबाट पराजित भएका थिए ।

सिंगो चाँगुनारायण नपा र भक्तपुर नपाको वडा नं १० पर्ने प्रदेशसभातर्फको (क) मा भने प्रत्यक्षतर्फ शिवहरि केसी, प्रवीण वन, उद्धव खड्का, राजेश खड्का, राधा कार्की (सरु बानियाँ), गणेशप्रसाद फुयाल, यादवप्रसाद अधिकारी, मनोजकुमार थापा, हरिप्रसाद नेपाल, सुरेश श्रेष्ठ र समुन्द्र थापाले आंकाक्षा देखाएको छन् । यो क्षेत्रमा सत्ता गठबन्धन दल बलियो छ ।

नेमकिपा नै जब्बर बलियो रहेको भक्तपुर नपाको वडा नं १ देखि ९ सम्म पर्ने क्षेत्र नं १ (ख) प्रदेशसभाको प्रत्यक्षतर्फ नारायणप्रसाद तमखू र पवन भुजू कांग्रेसमा उम्मेदवार सिफारिस छन् ।

माओवादीको पनि प्रतिनिधीसभातर्फ भक्तपुर–१ बाट सुरेश न्यौपाने एकल रुपमा सिफारिस भएका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा सुनिल गोठे सिफारिसमा परेका छन् । प्रदेश क तर्फ भने आकांक्षी बढी देखिएकोले उसले उम्मेदवार सिफारिसको आन्तरिक छलफल गरिनै रहेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया