शुक्रबार, वैशाख २८, २०८१

कुलमान घिसिङ माओवादीबाट काठमाडौं ३ मा चुनाव लड्ने !

प्रचण्ड र कुलमानवीच पटक पटक छलफल, भदौं १८ भित्र उम्मेदवारीको विषय टुग्गो लाग्ने

शितल शर्मा २०७९ भदौ १४ गते १८:५२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चुनाव लड्ने तयारीमा लागेका छन् । उनी माओवादी केन्द्रका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने भएका हुन् ।

Advertisement

घिसिङको गृह जिल्ला रामेछाप भए पनि उनी अहिले काठमाडौं महांकाल पानी ट्यांकी छेउमा बस्दै आएका छन् । उनको मतदाता नामावलीसमेत काठमाडौं ३ बाट नै रहेको छ ।

उनलाई निर्वाचन लडाउने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरिसकेका छन् । घिसिङले पनि प्रचण्डको प्रस्तावमा सकारात्मक जवाफ दिएका छन् ।

एक माओवादीका पदाधिकारीले मेरोन्यूजसँग भने, ‘अहिले घिसिङसित सीधै अध्यक्षले सम्वाद गरिरहनु भएको छ । चुनाव उठ्ने कुरामा उहाँ सकारात्मक देखिनु भएको छ । १८ भदौंसम्म यो विषय टुंग्गो लाग्छ ।’

घिसिङले निर्वाचन लड्ने प्रचण्डको प्रस्तावमा निर्वाचन जितेर आए आफूलाई सरकारमा सहभागी गराई उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मा दिनु पर्ने र त्यस्तो जिम्मेवारी पाएमा आफूले उर्जाको क्षेत्रमा धेरै काम गर्न सक्ने प्रस्ताव प्रचण्डसँग गरेका ती पदाधिकारीले बताए । प्रचण्डले यसमा घिसिङलाई सकारात्मक जवाफ दिएका छन् ।

अहिले यो सम्वाद दुई पक्षका बीचमा मात्र भएको छ । घिसिङ चुनाव लड्ने विषयमा सकारात्मक भएपछि प्रचण्डले सोमबार पार्टीको उपत्यका विशेष प्रदेशको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा काठमाडौंमा प्रतिनिधिसभामै दुई तीन सिट जित्ने गरी माओवादीले नयाँ उम्मेदवार ल्याउने गरी तयारी गरिरहेको बताएका थिए ।

प्रचण्डले भनेका थिए, ‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । प्रस्प्रेसन पनि हो । यहाँ बालेनले जित्यो, सेन्टिमेन्टले जित्यो । हामीले पनि बालेनभन्दा चर्काे सेन्टिमेन्ट ल्याउने उपाय खोज्दै छौँ । त्यही सेन्टिमेन्ट ल्याएर, नयाँ मान्छे, तपाईहरुले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि । त्यस्तो मान्छे, जो गुटवन्दीमा पनि छैन, कहीँ पनि छैन, हामी सबैको र सबैले साथ दिन सक्ने हो, यो ठिक छ भन्ने बनाएर काठमाडौंमा हामीले २-३ सिट जित्न सक्ने बनाउँछौँ ।’

घिसिङ प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री हुँदा विद्युत प्राधिकरणको पहिलोपटक कार्यकारी निर्देशक भएका थिए । उनकै पालामा नेपालमा दैनिक १६-१८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्ने एक कुशल प्रशासकका रुपमा देखा परेका थिए ।

उज्यालो नेपालका अभियानमा उनको योगदान उल्लेखनीय रहेकै कारण फेरि माओवादीकै उर्जामन्त्री पम्फा भुसालले पनि उनलाई विद्युत प्राधिकरणको कार्याकारी निर्देशकका रुपमा दोहोरएर जिम्मेवारी दिएका थिए ।

घिसिङ काठमाडौं ३ मा लोकप्रिय छन् । प्रचण्डले काठमाडौंमा राजनीति गरिरहेका माओवादीका नेता कार्यकर्ता आम मतदाताका बीचमा भिज्न नसकेको र चुनवामा उनीहरुबाट मतदाता रिज्याउन सक्ने सेन्टिमेन्ट पनि नरहेकोले काठमाडौं महानगरका अहिलेका मेयरले भन्दा बढी सेन्टिमेन्ट पार्न सक्ने उम्मेदवार ल्याउने संकेत पार्टी प्रशिक्षणमा गरेका थिए ।

माओवादीले काठमाडौं क्षेत्र नम्बर ३ मा अहिले चुनावी कमाण्ड गर्नका लागि केन्द्रीय सदस्य बद्री बजगाईलाई जिम्मेवारी दिएको छ । बजगाईले पनि घिसिङ काठमाडौं ३ बाट चुनाव लडने बारेमा आफुले अपुष्ट सूचनाहरु भने पाईरहेको बताउँछन् ।

‘अध्यक्षले पनि सोमबार विशेष प्रदेशको प्रशिक्षणमा भन्नु भयो, नयाँ मान्छे, सेन्टिमेन्ट पैदा गराउनसक्ने मान्छे उम्मेदवार भएर आउनु हुन्छ भनेर, मैले पनि घिसिङ चुनाव लड्न चाहानु भएको भन्ने सूचनाहरु पाइरहेको छु, उहाँको चुनाव उठ्ने सम्भावना अधिक देखिरहेको छ,’ बजगाईले मेरोन्यूजसँग भने ।

काठमाडौं ३ मा ०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राई विजयी भएका थिए । राईले १९ हजार १६९ मतसहित जित हासिल गरेका थिए । राईका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार अम्बिका बस्नेतको मत १४ हजार ८ सय ८४ आएको थियो । यो क्षेत्रमा काभ्रे, रामेछापलगायतका मानिसहरु आएर बसोबास गरेका छन् ।

उपत्यका विशेष प्रदेशको बैठकमा के भनेका थिए प्रचण्डले ?

काठमाडौं, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति अलिकति नाजुक छ । बागमतीमा होइन, बागमतीमा मैले पहिले सोचेको जस्तै भयो । अहिले बागमतीमा हामी कम्युनिष्ट आन्दोलनको १ नम्बरको पार्टी हो । कमरेडहरुले पनि सुन्नु होला । एमाले तेस्रो हो, हामी दोस्रो हो बागमती प्रदेशमा ।

कांग्रेसभन्दा थोरै कम छौँ । एमालेभन्दा बढी छौँ । दोस्रो हामी छौँ । बागमती जस्तै नेपाल बनाउन पाइयो भने पुग्यो हामीलाई ।
हामी सबैले बल गर्यौं भने त्यहाँ पुगिन्छ । पुग्न केही ग्राहो छैन । तर बागमतीभित्रको काठमाडौं, भक्तपुर र ललितपुरको संगठनको संरचना र केही नीतिगत विषयमा हामीले नयाँ ढंगले नसोचि नहुने भएको छ ।

यहाँको सर्न्दभमा नीतिगत रुपले पनि संगठनात्मक रुपले पनि नयाँ बनाउन पर्छ । सम्भवत तपाईहरुले मद्दत गर्नु पर्ने हुनसक्छ धेरैलाई । तपाईहरु विशेष प्रदेश वाला, या सम्पर्क समन्वयवाला र भ्यालीका तीन जिल्लालाई युनिफाइड गर्नुपर्ने हुनसक्छ ।

सब एक ठाउँमा ल्याएर भिडन्त गरेर हामी ठूलो पार्टी हुनसक्ने सम्भावना त्यहाँ देखेको छु मैले । हामीसँग शक्ति कम भएको होइन, विकेन्द्रित भयो हाम्रो । उता काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भनेको छ, यता विशेष प्रदेश भनेको छ । अर्काेतिर सम्पर्क भनेको छ । हजारौं कता छन्, कोही कता छन्, ती फेरि जोडिदैनन् । खाली सडक आन्दोलन भयो भने मात्र जोडिने गरेका छन् ।

सकडकमा जाने भन्यो भने केन्द्रीत हुन्छ । अरु काममा हुँदैन । त्यसो भएकाले नीतिगत रुपले राजधानीमा संगठनात्मक संरचना सीधै केन्द्रले ह्यान्डल गर्ने संरचना बनाउने गरेको छ । चाहे पेकिङ हेर्यौं, न्यूयोर्क हेर्यौं, दिल्ली हेर्यौं , चाहे लन्डन । जहाँ हेरे पनि राजधानीवालालाई केन्द्रले हेन्डिल गर्ने र भएभरको शक्ति केन्द्रीत गर्ने गरेको रहेछ । हामीले विकेन्द्रित गर्यौं, रिजल्ट हाम्रो पक्षमा देखा परेन । त्यसकारण नीतिगत रुपमा पनि राजधानीको हकमा नयाँ ढंगले सोच्ने तयारीमा छौं हामी । संगठनात्मक हिसाबले पनि विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा केन्द्रीत गरेर पदाधिकारीले नै कमाण्ड गर्ने गरी हामी संरचना सोच्दै छौँ । तपाईहरूले पनि सुझाव दिनुहोला । काठमाडौंमा हामीले रिजल्ट निकाल्नै पर्छ ।

अर्काे हामी उम्मेदवार पनि नयाँ-नयाँ मान्छे लिएर आउने सोच्दैछौँ । यही भएर यही घुमरे चलखेल गरेर बसेकाहरूले जित्ने स्थिति देखा परेन । निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । प्रस्प्रेसन पनि हो । यहाँ बालेनले जित्यो, सेन्टिमेन्टले जित्यो । हामीले पनि बालेनभन्दा चर्काे सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं ।त्यही सेन्टिमेन्ट ल्याएर, नयाँ मान्छे, तपाईहरुले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि । त्यस्तो मान्छे, जो गुटवन्दीमा पनि छैन, कँही पनि छैन, हामी सवैको र सवैले साथ दिन सक्ने हो, यो ठिक छ भन्ने बनाएर काठमाडौंमा हामीले २, ३ सिट जित्न सक्ने बनाउँछौं । २-३ वटा संघ जित्यौं भने काठमाडौंमा हामीले फेरि पनि शक्तिशाली र एक नम्बर हुने गरी अगाडि बढ्न सकिन्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया