शुक्रबार, वैशाख २८, २०८१

विश्वभरका नेपालीलाई जोड्दै ‘हाम्रो पात्रो’

नरेन्द्र रौले २०७९ भदौ ४ गते १९:१३

काठमाडौँ । ‘हाम्रो पात्रो’ अधिकांश नेपालीको मोबाइलमा डाउनलोड हुने लोकप्रिय एप हो । अहिलेसम्म एक करोडभन्दा बढीपटक यो एप डाउनलोड भइसकेको छ ।

Advertisement

सन् २०१० मा पहिलोपटक शंकर उप्रेतीले हाम्रो पात्रोको नेपाली क्यालेण्डर एप आइफोनको एप्पल आइओएस भर्सनमा सार्वजनिक गरेका थिए । क्यालेण्डरका रुपमा सार्वजनिक भएको यो एपले विभिन्न दिवस, संस्कृति, परम्परालाई विशेष महत्व दिँदै आएको छ । आज कुन दिवस हो ? कुन पर्व हो ? भन्ने कुरा मानिसहरूलाई हाम्रो पात्रोले स्मरण गराउँदै आएको छ ।

हाम्रो पात्रोका संस्थापक तथा सीईओ उप्रेती हुन् । हाल यसको अध्यक्ष रुद्रराज पाण्डे रहेका छन् । अहिलेसम्म प्रदान गर्दै आएका सेवा र विशेषताबारे हाम्रो पात्रोकी डाईरेक्टर अफ मिडिया रिलेसन्स एण्ड कन्टेन्ट सुदिना गौतमसँग मेरोन्यूजले गरेको कुराकानी :

टेलिमेडिसिन : डाक्टरसँग अपोइण्टमेण्टसँगै कन्फ्रेरेन्स

नेपालका दुर्गम गाउँहरूमा डाक्टर उपलब्ध नहुने समस्या छ । ससानो शारीरिक समस्या देखा पर्दा डाक्टरसँग परामर्श लिन कठिनाइ हुने गरेको छ । झन् औषधि किन्नका लागि टाढा टाढा धाउनु पर्ने बाध्यता छ । हेल्थ पोष्ट वा जिल्ला अस्पताल पुगे पनि घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता रहँदै आएको छ । तिनै विकट गाउँका मानिसहरूलाई प्राथमिकता दिँदै हाम्रो पात्रोले हालै टेलिमेडिसिनको सेवा प्रदान गर्न सुरु गरेको छ ।

‘हाम्रो पात्रो हेल्थ’ टेलिमेडिसिनअन्र्तगत डाक्टरसँग अपोइण्टमेण्टसँगै कन्फेरेन्स कलको सुविधा प्रदान गरेको छ । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूबारे घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने छ । कसैलाई कुनै स्वास्थ्य समस्या आइपरे डाक्टरसँग अपोइण्टमेण्ट लिएर कुराकानी गर्न सकिने छ । बिरामी वा बिरामीका परिवार, सहयोगीले डाक्टरसँग आवश्यक परामर्श लिन सक्ने छन् ।

हाम्रो पात्रो इंकका फाउण्डर तथा सीईओ उप्रेतीका अनुसार वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शका लागि कन्फरेन्स कलमा बस्न सक्ने छन् । यो सुविधाले प्रयोगकर्ताहरूको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाहरूको समाधान गर्न थप सहयोग पु¥याउने छ । डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न सकिने छ ।

डाक्टरले आफ्नो अनुभवका आधारमा एपमा आफ्नो सेवा शुल्क निर्धारण गर्न सक्ने छन् । डाक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीका लागि उपलब्ध हुने समय तालिका उपलब्ध गराउँछन् । सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधिभित्र निःशुल्क फलो–अपको सुविधा प्रदान गरिएको छ । यसका साथै बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्ने छन् ।

व्यस्त दिनचर्याले आफ्नो स्वास्थ्यका लागि समय दिन नभ्याउनेलाई यो सुविधा बहुउपयोगी छ । स–साना स्वास्थ्य समस्या तथा जिज्ञासा मेटाउन समय र खर्च गर्नु पर्ने बाध्यतालाई यसले समाधान गरेको छ । प्रविधिको सहायताले सुगम र दुर्गम क्षेत्रका नागरिकहरूलाई टेलिहेल्थको सेवा निकै सहयोग बनेको हाम्रो पात्रोकी गौतमले बताइन् । ‘यो सेवाले खर्च र समयको बचत गरेको छ,’ उनले भनिन्, ‘दुर्गम क्षेत्रमा उचित स्वास्थ्य परामर्शको अभावमा ठूलो संख्यामा जनताहरूले सास्ती झेल्नु परेको छ ।’

सबै नेपालीहरूलाई सहज रूपमा सवास्थ्य परामर्श उपलब्ध गराउने लक्ष्य बोकेर हाम्रो पात्रो एपले हाम्रो हेल्थ सुरु गरेको हो । अहिले यसको सुविधा दुर्गमका बासिन्दाले प्रयोग गरिरहेका छन् । घण्टौ लाइनमा बस्नु पर्ने, स्वास्थ्य चौकी, अस्पताल धाउनु पर्ने, धेरै खर्च गर्नुपर्ने बाध्यता हटाइदिएको छ ।

सुरुमा यो सेवा लिएबापत दुई सय रुपैयाँ तिर्नु पर्ने व्यवस्था गरिएको थियो । अहिले पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । हाम्रो पात्रोले डाक्टरलाई परामर्श दिए बापत पाँच सय रुपैयाँ शुल्क तिर्ने गर्छ । प्रयोगकर्ताहरूको मागलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो ।

अबको केही समयभित्रै फार्मेसी, ल्याबोरेटरीसँग समन्वय गरेर बिरामीहरूलाई औषधि पनि प्रदान गर्न मिल्ने सुविधा ल्याउने कम्पनीले तयारी गरेको छ । विशेषग दुर्गम क्षेत्रहरूलाई प्राथमिकतामा राखेर यो सेवा ल्याएको गौतमले बताइन् ।

विश्वभर फैलिँदै एप

‘हाम्रो पात्रो रेमिट्’ले रेमिट्यान्स पठाउन मिल्ने सुविधासमेत प्रदान गर्दै आएको छ । अमेरिकामा बस्ने नेपालीहरूले हाम्रो पात्रो रेमिटमार्फत रेमिट्यान्स पठाउन मिल्ने सुविधा प्रदान गर्न थालेको एक वर्ष पुग्दै छ । नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर सुरु गरेको यो सेवा छोटो समयमै अत्यन्त धेरै रुचाइएको छ ।

त्यही उत्साहले अब जापान, अष्ट्रेलियालगायत खाडी मुलुकहरूमा पनि सेवा विस्तार गरिएको छ । अरुभन्दा राम्रो दर दिने भएकाले छोटो समयमै यसले प्रयोगकर्ताको मन जित्न सफल भएको छ । ‘हामीप्रति प्रयोगकर्ताको विश्वास छ,’ गौतम सुनाउँछिन्, ‘हाम्रो पात्रो रेमिट् सुरक्षित पनि छ ।’ अमेरिकामा बस्ने नेपालीहरूले एक महिनामै हाम्रो पात्रो रेमिट्मार्फत १० करोड रुपैयाँ नेपाल पठाएको उदाहरण रहेको छ ।

पड्काष्टको सुविधा

नेपाली पड्काष्टरहरूले हाम्रो पात्रोमार्फत आफ्नो पड्काष्ट पनि राख्न सक्छन् । अहिले बोजुबजै, सञ्जय गुप्ता सिलवाल, शिवानी न्यौपानेलगायतको पड्काष्ट हाम्रो पात्रोमार्फत सुन्न सकिन्छ । हाल नेपालका विभिन्न अनलाइन, रेडियो तथा अन्य मिडियाहरू यसमार्फत पढ्न, हेर्न सकिन्छ ।

विदेश बस्ने नेपालीले गिफ्ट दिन मिल्ने

नेपालबाहिर बस्ने नेपालीहरूले नेपालमा बस्ने आफन्तका लागि मोबाइलमा रिचार्ज गर्न सक्छन् । यदि, कसैको जन्मदिन परेमा, बुबाको मुख हेर्ने दिन, आमाको मुख हेर्ने दिन, भाइटीका, विभिन्न वार्षिकोत्सव र अन्य विशेष अवसरमा विभिन्न गिफ्टहरू पठाउन सक्छन् ।

हाम्रो पात्रोले रिचार्ज र गिफ्ट सेवाबाट राम्रो प्रतिक्रिया पाएको छ । विदेशमा बस्नेले अर्डर गरेको २४ घण्टाभित्र सर्भिस दिने व्यवस्था रहेको छ । हाम्रो पात्रोका अनुसार अब छिटै नै मुख्य शहरमा यो सुविधा विस्तार गर्ने योजना रहेको छ ।

ज्योतिष सेवा

हाम्रो पात्रोले प्रदान गर्ने सेवामध्ये ज्योतिषी सेवा सबैभन्दा बढी लोकप्रिय छ । हरेक दिन राशीफल लेख्नकै लागि एक जना पूर्ण कालीन ज्योतिषको व्यवस्था गरिएको छ । अन्य २० जना ज्योतिषिहरूले लेखहरू लेख्न काम गर्दै आएका छन् ।

हाम्रो पात्रोले ज्योतिषी भिडिओ परामर्श सेवासमेत प्रदान गर्दै आएको छ । यो सेवा लिनका लागि नेपालमा बस्नेहरूले ७५० रुपैयाँ तिर्नु पर्ने छ । नेपाल बाहिर बस्नेहरूलाई फरक शुल्क तोकिएको छ । ‘यसमा हामीले अप्रत्याशित रुपमा सफलता पायौँ,’ गौतम भन्छिन् ‘नेपालीहरूले डाक्टरभन्दा ज्योतिषमा बढी विश्वास गरेको पायौँ ।’

प्रयोगकर्ताको माग र आवश्यकतालाई हाम्रो पात्रोले उच्च प्राथमिकतामा ध्यान दिएको छ । प्रयोगकर्ता किन्न सकिँदैन । त्यसैले प्रयोगकतालाई खुसी बनाउनु कम्पनीको लक्ष्य रहेको मार्केटिङ हेड गौतम बताउँछिन् । हाम्रो पात्रोको आफ्नै आइटी टिम, कन्टेन्ट क्रियटर, डिजाइनर र टीभीसी बनाउने टिम गरी ७० जना कर्मचारी रहेका छन् । झण्डै १० जना काम सिकिरहेका छन् ।

प्रतिक्रिया