सोमबार, वैशाख १७, २०८१

अदालतको समस्या समाधान गर्न इन्सेकको आग्रह

मेरोन्यूज २०७८ कार्तिक ३० गते २०:०२

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको विवाद समाधान गर्न आग्रह गरेकी हुन् ।

नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवं जवाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने हुँदा न्यायालयको अन्योलता अन्त्य गर्न माग गरिएको छ ।

“न्यायिक सम्पादनमा भइरहेको ढिलाइले आम नागरिकको अधिकार कुण्ठित हुँदा समस्याको समयमा नै समाधान गर्न सरोकारवालालाई आग्रह गर्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

“न्यायपालिकाले गर्ने न्याय सम्पादनका कार्य नियमितरुपमा सञ्चालन नभएकाले जनताको समयमै न्याय प्राप्त गर्ने आधारभूत अधिकार उल्लङ्घन भएको अहिले सर्वोच्चमा चलेको घटनाक्रमले देखाएको छ ।’’–इन्सेकले भनेको छ ।

भविष्यमा यस्तो समस्या नआउने सुनिश्चितताका लागि नीति, कानून र संरचनागत सुधारका कार्यमा ध्यान केन्द्रित गर्न पनि इन्सेकले माग गरेको छ ।

प्रतिक्रिया