मंगलबार, वैशाख २५, २०८१

संखुवासभा हत्या प्रकरणमा ‘ट्विस्ट’, चिनजानकै व्यक्तिबाट हत्या भएको हुन सक्ने आशंका

दया दुदराज २०७८ भदौ २४ गते १३:३५

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिका–१ खोला गाउँमा भएको सामुहीक हत्या बिहान ५ बजेदेखि ५ः४० सम्मको समयभित्र भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । साथै प्रहरीले घटनामा चिनजानकै व्यक्तिबाट हत्या भएको हुन सक्ने आशंंका गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीकाअनुसार घटनाको अवस्था हेर्दा परिवारका कुनै एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अन्य सदस्यहरुको समेत हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ ।

मादी नगरपालिका १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटवालका अनुसार घटनामा पहिलो पटक ५२ वर्षीय तेजबहादुर कार्कीको हत्या गरिएको छ । त्यसपछि परिवारका सदस्यहरुले समेत घटना देखेको र घटनालाई गुपचुब बनाउनको लागि अन्य सदस्यहरुको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

उनले भने,‘घटना विहान ५ बजेदेखि ५ः४० सम्मको समयअवधीमा भएको हुन सक्ने प्रहरीको निष्कर्ष छ । साथै घटना चिनजानकै व्यक्तिबाट हुन सक्ने बुझेँका छाँै । तेजबहादुरको हत्यापछि मात्रै परिवारका अन्य सदस्यहरुको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । तर तेजबहादुरलाई हत्या गर्नुपर्ने कारण भने पत्ता लागेको छैन ।’

यसअघि प्रहरीले घटनालाई आर्थिक पाटोबाट अनुसन्धान गरेको थियो । तर घरबाट ५ लाख नगद र १५ तोला सुन बरामद गरेपछि प्रहरीको अनुसन्धान क्षेत्र मोडिएको छ । प्रहरीले घटनास्थललाई सुक्ष्म रुपमा अध्ययन गर्दै अनुसन्धानलाई पूर्णता दिएको छ ।

आइतबार बिहान एकै परिवारका ६ जना सदस्यहरुको सामुहीक रुपमा हत्या भएको थियो । तेजबहादुरका छोरा निरज कार्की बुधबार बिहान २ बजे दुवईबाट आएर बुधबार साझ नै सुनसरीको ईटहरीमा अन्त्यष्टी भईसकेको छ ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश नम्बर १ का अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली घटनास्थलमा खटिएको छ । यद्यपि हत्याराबारे हालसम्म कुनै सुराक प्राप्त नभएको प्रहरीले बताएको छ । बुधबार राति प्रदेश प्रहरी कार्यालय प्रदेश १ का प्रदेश प्रमुख डिआईजी अरुण कुमार बिसी समेत घटनाबारे थप अनुसन्धा गर्न घटनास्थलमा पुगेका छन् ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया