शुक्रबार, वैशाख २८, २०८१

किन दिए भीम रावलले सांसद पदबाट राजीनामा ? यस्तो छ भित्री कारण

सुरेन्द्र पाण्डेले भने- भित्र जाऊ, कुरा गरौं, रावलले भने- नगर्नु है मलाई, प्लिज, पत्रकारसँग कुरा राख्न दिनुस् !

मेरोन्यूज २०७८ साउन ३ गते १७:१५

काठमाडौँ । प्रतिनिधिसभा सदस्य (सांसद) तथा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अनैतिक राजनीतिक अभ्यासमा लागेर मतियार बन्नुभन्दा त्यसबाट अलग हुनु सही भएकाले राजीनामा दिएको बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमार्फत प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विश्वासको मत लिनुअघि पदबाट राजीनामा दिएका हुन् ।

Advertisement

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फैसला गर्दै पुनस्र्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । संसद पुनस्र्थापना भएसँगै बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएका थिए ।

प्रतिनिधिसभा बैठक बस्नुअघि आइतबार बिहान नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक बसेर देउवालाई मत दिने नेता एमाले नहुने निर्णय गरेको थियो । पार्टीको बैठकले जारी गरेको निर्णयलगत्तै नेता रावलसहित नेता माधव कुमार नेपाल पक्षको केही सांसदहरूले देउवाको पक्षमा मत नदिने जनाएका थिए ।

उपध्यक्ष रावल पछिल्लो केही दिनयता कार्यदल स्तरबाट सहमति जुटाएर एमाले एकताको पक्षमा उभिएका थिए । उनको सक्रियतासँगै एमालेमा निष्क्रिय बनेको कार्यदल ब्यूँतिएर एकताका लागि १० बुँदे प्रस्ताव तयार भएको थियो ।

रावलले गत असार २० गते प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि एकतामा लचिलो बनेका थिए । त्यसदिन उनले नेता नेपाल निवासमा रहेकै बेला उपमहासचिव विष्णु पौडेलले फोन गरेर प्रधानमन्त्रीले भेट्न बोलाएको जानकारी माधव नेपाललाई गराएका थिए । त्यसबेला नेपाल निवासमा रघुजी पन्तसमेत सँगै थिए ।

तर, ओली भेट्न बालुवाटार जाने भएपछि उनलाई होटल मेरियटमा पुगेर खुफिया एजेन्सी रअका मानिसहरूसँग भेटघाट गरेर बालुवाटार छिरेको आरोप लाग्यो । आफूमाथि रअका अधिकारी भेट गरेर बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेको आरोप लागेपछि उनले खण्डन वक्तव्य निकालेका थिए । उनले आफू मेरियट होटल पुगेको र त्यहाँ कसैलाई भेटेको भए पुष्टि गर्न चुनौती नै दिएका थिए ।

ओलीलाई भेटेपछि भोलिपल्ट उनले माधव नेपालसँग भेट गरेका थिए । त्यसपछि २१ असारबाट एमालेको कार्यदल ब्यूँतिएर काम शुरु भएको थियो । ओलीसँग कडा रुपमा प्रस्तुत हुँदै आएका रावल एकाएक लचिलो बन्ने मोडेल आएपछि भने नेपाल समूहका हार्ड लाइनर नेता कार्यकर्ताबीचमा चर्चाको विषय बनेको थियो ।

त्यसपछिका अनेक वार्ता र छलफलपछि २७ गते राति १० बजे एमाले एकताका लागि भन्दै १० बुँदे प्रस्ताव कार्यदलले टुंग्गो लगायो । त्यसलाई शुरुमा माधव नेपालले पनि प्रस्तावको ब्याख्या कसरी हुन्छ त्यसपछि मात्र आफूले थप बोल्ने बताएका थिए ।

गत २८ गते सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदियो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । अदालतको निर्णयपछि पनि ओली र नेपाल मिलाउन कार्यदलमा रहेका नेताहरूले अनेक प्रयास गरे । शनिबार राति मात्रै कार्यदलका नेताहरूले ओलीको निवास बालकोट पुगेर पार्टीका बैठक रोक्न र पहिले नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।

आजै बिहानसमेत रावलसहित कार्यदलमा रहेका दुवैतर्फका नेताहरूले माधव नेपाललाई भेटेर अब पार्टीको संस्थागत निर्णयका आधारमा मात्र अगाडि बढ्न आग्रह गरेका थिए ।

ओलीले देउवाका पक्षमा मतदान दिनेलाई एमालेमा ठाउँ नरहेने र कारबाही गर्ने बताएपछि रावललगायतले नेपाललाई फकाउन अनेक प्रयास गरेका थिए । तर, नेपालले आफू एक्लै भए पनि देउवाको पक्षमा विश्वासको मत दिने बताएपछि एमालेभित्र एकताको प्रयास असफल देखिएको थियो ।

त्यसपछि देउवालाई विश्वासको मत दिने/नदिनेमा नेपाल पक्षका नेताहरुको छलफल चल्यो । त्यहाँ स्वविवेकी अधिकार रहेको भन्दै नेपालसहितका बहुमत नेपाल पक्षका नेताहरुले देउवालाई विश्वासको मत दिने निष्कर्षमा पुगे । त्यसपछि रावलले त्यही बैठकमा आफू अनैतिक संसदीय खेलमा अब नफस्ने र संसद पदबाट राजीनामा दिने भन्दै निस्केका थिए । यससँगै रावल राजीनामाको मानसिकतामा पुगेका हुन् ।

लगत्तै रावल सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा राजीनामा दिन पुगेका थिए । तर, रावलको राजीनामा रोक्न सुरेन्द्र पाण्डेलगायतका नेताहरूले निक्कै प्रयास गरेका थिए । तर, उनी सफल भएनन् ।

रावलको राजीनामा रोक्न अन्तिमसम्म सुरेन्द्र पाण्डे खटिएका थिए । रावलले पत्रकारसँग कुरा गर्न खोज्दा पाण्डे सँगै आएर रावललाई तानेर लैजान चाहान्थे । पाण्डेले रावलको हात समाउँदै भनेका थिए, – भित्र जाऊँ, कुरा गरौँ, एकपटक जाऊँ न हिँड्नुस्।’

तर, रावलले मानेनन्, पाण्डेको हात हटाउँदै रावलले भने, ‘नगर्नु है मलाई, प्लिज, प्लिज ! मलाई पत्रकारसँग कुरा राख्न दिनुस् !’ रावलले सभामुखलाई राजीनामा बुझाएर पत्रकार सामु आएर आफ्नो राजीनामा पत्र बाचन गरी बाहिरिएका थिए ।

कतिपयले रावल संसदबाट राजीनामा दिनुभित्र मूलतः दुई ओटा कारण रहेको पनि वताइरहेका छन् ।

पहिलो : एमालेको विभाजित भएमा दुवै पक्षका आफनो उपस्थिती तौलनका लागि सजिलो हुन्छ भन्ने ठानेरै उनले सांसद वाट राजीनामा दिएका हुन् । आफु रहँदै आएको नेपाल पक्षलाई पनि आफुले राजनिामा दिएर त्याग गरेको सन्देश दिन सकिने र देउवालाई मतदान दिनेलाई ओली पक्षले कारवाही गर्न चाहदा पनि आफु माधव नेपालसँग सहमत नभएको सन्देश दिई वरु राजीनामा गरेको भन्दै वातावरण बनाउन भूमिका खेल्न सकिने गरी उनले सोचीविचारी दुवै तिर पाइला चाल्नका लागि चुर्तु¥याई पूर्वक राजीनामा दिए भन्नेहरु छन् ।

दोस्रो : उनी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरसेन (एमसिसि)को चर्का आलोचक हुन् । एमालेभित्रकै एउटा पंक्ति जो ओली पक्षधर छन, उनीहरु यसको अनुमोदन संसदवाट गराउन उ वेला देखि नै लागेको लाग्यै थिए । अहिलेका प्रधानमन्त्री काग्रेस सभापति शेरवहादुर देउवा पनि एमसिसि संसदवाट पारित गराउने पक्षमा छन् । त्यसवेला सम्झौता गरेका अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की अहिले देउवा सरकारकै कानुन मन्त्री छन् । यो सरकारले संसदवाट एमसिसि पारित गर्ने अनुमान धेरैको छ । त्यसवाट पनि उनलाई पन्छिन र आफनो चर्काे राष्ट्रबादी छवि यथावत राखिरहन पनि सजिलो हुने उनले ठानेको हुनसक्ने पनि कतिपयको मत छ । त्यही कारण त्यो विवादबाट पनि मुक्त हुन उनले राजीनामालाई उपयुक्त अवसर ठानेर राजीनामा दिएको हुनसक्ने अनुमान धेरैको छ ।

प्रतिक्रिया