सोमबार, जेठ ७, २०८१

अस्पष्ट कानुनका कारण वैदेशिक विवाहमा नैसर्गिक हकअधिकारको हनन

मेरोन्यूज २०८१ वैशाख २८ गते ६:२१

काठमाडौं । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका विदेशी नागरिक तथा उनीहरूका बालबालिकाले नेपालमा आवासीय अनुमति नपाएका कारण पारिवारिक मिलन, रोजगारी, शिक्षा, बसोबास, आवागमन लगायतका कतिपय नैसर्गिक हकअधिकारबाट वञ्चित रहनुपर्ने अवस्था सिर्जना भएको छ ।

Advertisement

नेपालको विद्यमान कानुनी व्यवस्थामा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका महिला, पुरुष र तिनबाट जन्मेका बालबालिकाका सम्बन्धमा विविध कानुनी र नीतिगत अस्पष्टताका कारण यो अवस्था सिर्जना भएको सरोकारवालाले बताएका छन् ।

नेपाली नागरिकसँग विवाहित वैदेशिक नागरिक र उनीहरूका बालबालिकाको हकसम्बन्धमा कार्यरत संस्था फामिली राइट्स नेपालले सोसम्बन्धमा सबै सरकारी निकायको ध्यानाकर्षण गराउँदै न्यायको सामान्य सिद्धान्त अनुसार आफ्ना नागरिकका परिवारलाई नैसर्गिक हकअधिकारबाट वञ्चित राख्न नहुने बताएको छ ।

“हामी नेपाली नागरिकले विदेशीसँग विवाह गर्नै नहुने जस्तो गरी कानुनी अस्पष्टता छ,” संस्थाका सचिव कर्मा तामाङले बताए, “यसरी पारिवारिक मिलन, विवाहपश्चात सँगै बस्न पाउने अधिकार, रोजगारी, शिक्षा लगायतका विषयमा हाम्रा परिवार वञ्चित छन् ।”

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्थाका अध्यक्ष डा. मनिष ओलीले भने–“यस्तो सामान्य मानवीयताको पनि सवालमा पनि हाम्रो सरकार मौन र अस्पष्ट हुनुले हजारौं नेपाली नागरिक र उनीहरूका परिवार र बालबालिका प्रभावित भएका छन् ।”

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै संस्थाले विदेशी नागरिकसँग विवाहित नेपाली नागरिकका श्रीमान्, श्रीमती र छोराछोरीका लागि आवासीय अनुमतिको प्रणाली लागू गर्न माग गरेको छ ।

हाल विवादित रहेको दोहोरो नागरिकताको मुद्दामा संस्थाले स्पष्ट पार्दै भनेको छ, “दोहोरो नागरिकता हाम्रो माग होइन । यद्यपि हाल उनीहरूलाई बसोबास अनुमति दिने कुनै स्थायी वा अस्थायी प्रावधान नरहेको र नेपालभित्र भ्रमण गर्दा पनि परिवारका सदस्य जस्तो नभई पर्यटकजस्तै शुल्क तिर्नुपर्ने अवस्था छ ।”

नेपालमा श्रम स्वीकृति लिन कठिन रहेको बताउँदै वैवाहिक सम्बन्ध भिषा वार्षिक रूपमा सशुल्क नवीकरण गर्नुपर्ने अवस्थाका कारण धेरै नेपाली नागरिकका परिवार मर्कामा परेको संस्थाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

“यस्तो अवस्थाका कारण कतिपय अवस्थामा हाम्रा बालबालिकाले निर्वाध रूपमा शैक्षिक संस्थामा शिक्षा लिन कठिन हुने अवस्था छ,” संस्थाका उपादक्ष्य भगवती बिष्टले बताए ।

संस्थाले सम्बन्धित निकायहरूसमक्ष तत्काल गर्न सकिने र दीर्घकालमा गर्न सकिने गरी दुईप्रकारका माग प्रस्तुत गरेको छ । तत्कालका हकमा वैवाहिक सम्बन्ध भएका विदेशीलाई नेपालमा बसोबासमा सहजता, काम गर्न पाउने व्यवस्था, आवागमन, पारिवारिक पुनर्मिलन आदिमा सहजताका लागि कानुनी स्पष्टता हुनुपर्ने माग राखेको छ। त्यस्तै दीर्घकालीन रूपमा स्थायी आवसीय अनुमतिलगायतका माग राखेको छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएका भारतबाहेक अन्य देशका नागरिक र उनीहरूका बालबालिकाको संख्या ठ्याक्कै भन्न सकिन्न। मेरिएज भिसामा १४१६ जना र रिलेसनशिप भिसामा ६ हजार जना नेपालमा हाल बसोबास गरेको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया