शुक्रबार, वैशाख २८, २०८१

१६ खर्ब ४७ अर्बभन्दा बढीको बजेट विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १८:३८

काठमाडौ । सरकारले नयाँ आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ ।

Advertisement

जसमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरेको छ । यसतै, प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी गराए ।

सरकारले आगामी आर्थिक वर्षमा १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको छ । वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको सरकारले विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने जनाएको छ । यस्तै यो पनि अपुग भएमा २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।

संविधान जारी भएपछि सरकारले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रतिनिधि सभाको विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । मध्यावधि निर्वाचनको घोषणा गरेको सरकारले वृद्धभत्ता वृद्धि र कर्मचारीको तलव वृद्धि गरेर बजेटलाई लोकप्रिय बनाएको छ ।

महामारीलाई न्यूनिकरण गर्न सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन अपेक्षा गरिए पनि सरकारले भने सबैभन्दा बढी रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

प्रतिक्रिया