शुक्रबार, वैशाख २८, २०८१

खल्बलिँदो प्रकृतिको लय, सचेत नभए निम्तिने छ प्रलय

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १९ गते १३:२०

केही साता अघि नेपालका मुख्य–मुख्य शहरी क्षेत्र प्रदुषणको बिगबिगिबाट ग्रसित बने । त्यसमध्ये कचौरा जस्तो स्वरुपमा रहेको राजधानी काठमाडौं उपत्यका सबै भन्दा बढि प्रभावित बन्न पुग्यो । यो क्रम एक बर्ष मात्र होइन प्रत्येक बर्ष दोहोरिन थालेको छ । यो अवस्था किन आएको हो ? प्रकृति संरक्षणका बारेमा पूर्विय दर्शनले के कस्तो दृष्टिकोण र विचार दिएको छ । यसबारे यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

Advertisement

सामान्य र सरल ढंगले बुझ्नका लागि भगवानका विराट रुप र शुस्म रुप रहेका छन् । समग्र ब्रह्माण्ड र प्रकृति भगवानका विराट रुप हुन् । भगवानको विराट रुपरुपी प्रकृतिको आफ्नै नियम, लय र चक्र रहेका छन् । यस विराट रुपी संरचना भित्र शुक्ष्म रुपरुपी असंख्य जल चराचर जीवात्माहरु रहेका छन् । ती जीवात्मा मध्ये सृष्टिमा मानिस मात्र एउटा यस्तो जीव हो जो भगवानको विशेष सृजना हो ।

मानिसको चमत्कार र सीमा
भगवानले मानिसलाई मात्र यस्तो शक्ति, बुद्धि र चेतना प्रदान गर्नु भएको छ, जसले विराट रुपरुपी भगवानको लयमा समेत केही तलमाथि अर्थात परिवर्तन गर्न सक्दछ । मानिसले विज्ञान प्रविधिका माध्यमबाट प्रकृतिको लयमा केही बदलावहरु ल्याएको छ । मानिसले गर्मी मौसममा चिसो हुने रेफ्रिजेरेटर, वातानुकुल एयर कण्डिसन बनाएको छ । धर्तीको एउटा कुनाबाट केही घण्टामा अर्काे कुनामा पुग्न यातायातका साधन बनाएको छ । त्यति मात्र होइन् अन्तरिक्षमा र अन्य ग्रहमा समेत जाने विषयमा केही सफलताहरु प्राप्त गरेको छ ।


ऋतुअनुसार फल्ने फल, तरकारी तथा अन्य खाद्यान्नहरुलाई बाह्रैमासा पाइने व्यवस्था मिलाएको छ । गर्भ तुहाउने औषधी बनाएको छ, कृत्रिम गर्भमा बच्चा जन्माउन मिल्ने प्रविधि (Testube Baby) बनाएको छ ।

प्राकृतिक रुपमा २० देखि २२ दिनमा कुखुराले चल्ला कोराल्ने गरेकोमा मेसिनबाट २४ घण्टामा चल्ला निकाल्ने प्रविधि बनाएको छ, ६५ दिने ब्रोइलर कुखुराको मासु दुनियाँभर पुरयाएको छ । सुइ लगाएर अघिल्लो दिनको चिचिलो काँक्रो भोलीपल्ट सलक्क परेको मादले काँक्रो बनाएको छ । पहाड छेडेर एउटा नदीलाई अर्काे नदीमा मिसाएको छ ।

हिमालहरुमा हजारौंको ताती लगाएको छ । डाँडालाई सम्याएको छ, सम्म भागमा माटो थुपरेर डाँडा बनाएको छ । समुन्द्रमुनि शहर बसाएको छ । समुन्द्रमा माटो थुपारी टापु बनाउँदै खेति गरेको छ । मानिसको डिएनएमा परिवर्तन ल्याउने प्रयासमा छ मानिस । यस्तै यस्तै अनेक–अनेक गरेको छ ।


हो, भगवानद्वारा प्राप्त प्रसादरुपी चेतनालाई मानिसले भौतिक रुपमा आफ्नो सुख सुविधा र व्यापार तथा आर्थिक उन्नतिका लागि अनेक –अनेक गरेको छ ।

भौतिक सुख र आगामी भविष्य
के साच्चै मानिसका यस्ता चम्त्कार रुपी उडान खतरा मुक्त छन् ? के यि दीगो छन् ? यसरी नै गए आगामी एक सय वर्षपछि के कस्तो अवस्था आउँला ? यी प्रश्न अहिलेको सबै भन्दा संवेदनशिल र आगामी भविष्य बोक्ने वा नबोक्ने प्रश्न बनेर संसारमा उदय भएको छ ।


आजभोली संसारमा प्रकृति माथि अत्याधिक दोहन बढेको छ । प्रकृतिको लयमा गम्भीर बद्लावहरु ल्याइएका छन् । प्रकृतिरुपी विराट भगवानको रुपमा मानिसरुपी मसिनो अंशले अनियन्त्रित ढंगबाट गरेको गम्भीर खेलबाड सदैव सैह्य भएर रही रहँला ? यो प्रश्नको जवाफ आजका वैज्ञानिकहरुले सायद दिन नसक्ने प्रकारको छ ।


अवश्य पनि उकालोबाट पानी ओरालो तर्फ बग्नु पानीको धर्म हो । कुनै पनि पदार्थलाई चलाउनु, डढाउँनु, पोल्नु आगोको धर्म हो । त्यस्तै प्रकृतिको धर्म निर्दिष्ट लयमा लयवद्ध हुनु हो । यस्तो शाश्वत सत्यको चक्रमा मानिसले ल्याएको सीमाहिन बद्लाव प्रकृतिले कहिलेसम्म सहिरहँन सक्छ ? अवश्य पनि सक्दैन । नसक्दा के हुन्छ ? जवाफ हुन्छ-नसक्दा भयावह हुन्छ ।

पूर्विय दर्शनमा चेतावनीका व्याख्याहरु
वैदिक सनातन धर्म तथा ओमकार परिवारका धर्मका सिद्धान्त तथा दर्शनहरुमा प्रकृतिको संरक्षण र नियमका बारेमा प्रष्ट पारिएका छन् । खासगरी चार युगहरु सत्य, त्रेता, द्वापर र कलिमध्ये कलियुगमा ठुलाठुला प्राकृतिक विपत्तिहरु निम्तिने स्पष्ट पारिएको छ । जसमा अम्ल वर्षा, कालो पानीसहितको वर्षा, रातो रगत जस्तो पानीसहितको वर्षा, अतिवृष्टि, खण्डवृष्टि, खडेरी, महाखडेरी, विपत्ति, महामारी, प्रलय, महाप्रलय जस्ता अवस्थाहरु निम्तिने जनाइएको छ ।

साथै रोग व्याधिको तिब्र फैलावट, पानीको अभाव, स्वच्छ हावाको अभाव, खानाको अभाव, भोकमरी, भयावह आदी अवस्था कलियुगमा निम्तिने जनाइएको छ । त्यसैले यस्तो अवस्था आउन नदिन प्रकृतिलाई पुज्नु पर्ने अर्थात प्रकृतिसम्मत व्यवहार गरिनु पर्ने विषयलाई अत्यन्त जोड दिइएको छ ।

पूर्विय दर्शनमा प्रकृतिको सम्मान
बास्तवमा संक्षिप्त एक बाक्यमा भन्ने हो भने पूर्विय दर्शन शतप्रतिशत प्रकृति पूजक दृष्टिकोण हो । पृथ्वीको लयमा मिल्दो गरि बग्ने जीवन पद्धिति नै पूर्विय जीवन पद्धति हो । तर पाश्चात्य जीवन पद्धति भनेको शतप्रतिशत उपभोगवाद, भौतिकवादी, सुख सुविधावादी र आत्माकेन्द्रीत सोच र चिन्तन हो । जसको प्रभाव आज विश्वभर फैलिएका छ र पूर्विय देशहरु पनि यसबाट पूर्ण प्रभावित भएका छन् । जसका कारण प्रकृतिमाथि दिनप्रतिदिन अतिक्रमण भइरहँदा प्रकृतिले विभिन्नखाले संकेतहरु दिइ रहेको छ ।


यस्तो परिस्थिति आउन नदिन हरेक मानिसलाई सानैदेखि प्रकृतिको महत्व बुझाउन विहान उठ्ने वित्तिकै मातारुपी पृथ्वीलाई ढोग्ने व्यवस्था रहेको छ ।
ॐ समुद्रवसने देवि पर्वतस्तन मण्डिते ।
विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्शं क्षमस्व मे ।।
(मदनपारिजातः)
यसरी आफ्ना गतिविधिले पृथ्वी मातालाई पार्न सक्ने असरबारे सचेत रहेर मात्र आफ्ना गतिविधिहरु गर्न मानिसलाई निरन्तर सचेत बनाइएको छ ।
त्यसैले हरेक विहान प्रकृतिलाई प्रार्थना गर्ने व्यवस्था छ ।
पृथ्वी सगन्धा सरसास्तथापः स्पर्शी च वायुज्र्वलितं च तेजः ।
नभः सशब्दं महता सहैव कुर्वन्तु सर्वे मम सुप्रभातम् ।।
(वामनपुराण)

त्यसैगरी नागपूजा, गाईपूजा, कुकुरपूजा, नदी पूजा, हिमाललाई पूजा, ठुला ढुङ्गाहरुको पूजा, पिपल तथा वरको पूजा, तुलसी पूजा, समुन्द्रको पूजा, खोला तथा धारा कुवा इनारको पूजा, वनदेवीको पूजा आदी यि विषयहरु प्रकृतिको संरक्षणसहितको सचेत प्रयोगका विषयहरु हुन् । त्यसैले हाम्रा आरोहीहरु सगरमाथासहित हिमाल आरोहणमा जानु अघि उपयुक्त साइत जुराएर विधिपूर्वक पूजा र क्षमा पूजा गरेर मात्र आरोहणमा जान्छन् । यो प्रकृया विदेशी आरोहीले पनि गर्ने गरेका छन् । त्यसैगरी प्रकृतिको पूजामा आधारित विभिन्न चाडपर्वहरु वर्षदिनभरी नियमित तालिकामा राखिएका छन् ।

अबको बाटो
पूर्विय दर्शनले विज्ञान प्रविधिको विकास, भौतिक प्रगति लगायतका विकास तथा प्रगतिको समर्थन नगरेको होइन् । पर्याप्त मात्रामा गरेको छ । भौतिक विकास गर्नु पर्छ भनेको छ तर प्रकृतिको लयसँग तालमेल हुने गरी मात्र विकास गर्नु पर्दछ वा त्यस्ता विकासको मोडल हुनु पर्दछ भन्ने विषयलाई जोड भने अवश्य दिएको छ ।


मानव जीवनको कुनै पनि पुस्ताले आफ्नो पालाभर मात्र सुविधा हुने गरी प्रकृतिको सन्तुलन बिगार्ने गरी भौतिक सुख सुविधा प्राप्त गर्ने अधिकार हुन नहुनेमा पूर्विय दर्शनले जोड दिएको छ । यसलाई आजभोली ‘दीगो विकास (Sustainable Development)’को अवधारणा भन्ने गरिन्छ । जबकी यस अवधारणा हाम्रा शास्त्रहरुमा हाम्रा ऋषिमुनि विद्वान वैज्ञानिकहरुले हजारौँ हजार वर्ष अघि आँकलन गरी हामीलाई मार्गदर्शन प्रदान गरिसकेका थिए । तर हामीले यसको पहिचान र कार्यान्वयन गर्न सकेनौँ भने पाश्चात्य शैलीलाई अन्धाधुन्ध पछ्याएर हामी प्रकृतिमाथि विजय गर्ने होडमा मात्र सोझिएका छौं ।

त्यसैले अब हामीले हाम्रो माटोको सुगन्ध सुहाउँदो र दर्शनको जगमा टेकेर विकासका मोडल अपनाउनु पर्दछ । जसले प्रकृतिको लयलाई नबिगार्ने र सोही लयमा लयवद्ध हुने गरी भौतिक उन्नतिको मार्गचित्र कोर्ने छ र मानव जीवनलाई दीगो रुपमा सुखी तुल्याउने छ । त्यो विकासको मोडल त्यस्तो होस् जहाँ प्रकृतिले आफ्नो लयमा बग्न पाओस् भने मानिसले पनि आफ्नो जीवनमा सुख भोग्न पाओस् । अन्यथा आगामी दिनहरु कठिन हुने र प्रकृतिले आफ्नो लयको सीमा अत्याधिक मिचिएको अवस्थामा पुनः आफ्नो लयमा फर्कदा ठुलो मानवीय क्षति मानव जगतले व्योहर्नु पर्ने निश्चित हुनेछ ।


अहिले काठमाडौं उपत्यकासहित देशका शहरहरुमा देखिएको वायु प्रदुषण एक सामान्य संकेत मात्र हो । प्रकृतिको यस संकेतलाई अहिले नै बुझेर प्रकृतिमाथि भइरहेको अत्याधिक भौतिकवादी चिन्तनलाई दुरुत्साही नगरेमा आगामी दिन कल्पना गरे भन्दा दुर्दिन हुनेछ । र त्यो क्षण मानिसका विज्ञान प्रविधिको क्षमताले नियन्त्रण गर्ने सीमा भन्दा बाहिरको क्षण हुनेछ ।


(लेखक पन्त, ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क – ९८१३६३७२३८)

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया