सोमबार, वैशाख १७, २०८१

गैरआवासीय नेपाली संघद्वारा बालकुमारी घटनाप्रति दुःख व्यक्त

मेरोन्यूज २०८० पुष १५ गते १३:०३

काठमाडौं । गैरआवासीय नेपाली संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको झडपमा दुई युवकको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै संघले घटनाप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

‘वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको छ’ विज्ञप्तिमा भनिएको छ ।

नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौंको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको संघले जनाएको छ।

‘यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार वास्तवमै संवेदनशील हुन जरुरी छ भन्ने कुरा ग्रहण गर्न संघ नेपाल सरकारसमक्ष अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया