शुक्रबार, वैशाख २८, २०८१

भाजपाबाट सिक्दै माओवादी !

‘आइसिटी फोरम’मार्फत भाजपाकै शैलीमा संगठन डिजिटलाइज र विस्तार गर्ने माओवादी कार्ययोजना

रामकृष्ण अधिकारी २०८० भदौ ११ गते ९:०१

काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पार्टीको कान्छो जनसंगठन ‘आइसिटी फोरम’ को प्रथम बैठकको उद्घाटन गरे । गत साउन १७ देखि २१ सम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आइसिटी फोरम नामक नयाँ जनसंगठन निर्माण गर्ने निर्णय लिएको थियो ।
यस्तो फोरम निर्माण गर्ने निर्णय माओवादीले दक्षिणी छिमेकी मुलुक भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को ‘सिको’ गदैं गरेको हो । भाजपाले पार्टी केन्द्र देखि तल्लो तह ‘पाना’ कमिटि (नेपालका राजनीतिक दलमा सेल/टोल कमिटी) सम्म नै आन्तरिक ‘आइटी फोर्स’ गठन गरेको छ ।

Advertisement

बीजेपी (भाजपा) ले हरेक पार्टी युनिटमा सामाजिक सञ्जाल र मिडिया युनिट बनाएर संगठन, जनसेवा र प्रचारलाई सँगसँगै लगेको छ । मिडियालाई २४ घण्टा अब्जर्भेसन गर्ने, त्यसैमार्फत अफेन्स, डिफेन्स गर्ने रणनीतिमा बीजेपी आक्रामक छ ।

ठीक त्यही शैली र रणनीति अबलम्बन गर्नेगरि माओवादी केन्द्रले पनि पार्टीको संगठनलाई विस्तार र प्रविधिमा डिजिटलाइज गर्ने गरि आइतबारदेखि आइसिटी फोरम नामक संगठन निर्माण गरेको हो ।

भाजपाकै संगठनात्मक यो शैलीको ‘सिको’ गर्नु अगाडी माओवादीका केन्द्रीय उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको ५ सदस्यीय टोली दिल्ली पुगेको थियो । भुसाल नेतृत्वको टोलीलाई साउन ७ देखि १२ गतेसम्म दिल्लीमा स्वागत गरेरै बीजेपीले आफुले सु-संगठित र बलियो संगठन निर्माणका सवालमा प्रयोग गरिरहेको ‘सूत्र’ बारे विस्तृतमा जानकारी दिएको थियो ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगत प्रकाश (जेपी) नड्डाको निम्तोमा भुसाल, चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरशेकुमार राई (हिमाल) दिल्ली पुगेका थिए । विभिन्न देशका राजनीतिक दलका नेताहरुलाई आफ्नो मुख्यालयमै आमन्त्रण गरेर भाजपाले केही समययता ‘नो बिजेपी (बिजेपी चिन्नुहोस्)’ भन्ने कार्यक्रम आयोजना गदैं आईरहेको छ । त्यही क्रममा नेपालका माओवादी पार्टीका नेताहरुलाई पनि भाजपाले दिल्लीमा आमन्त्रण गरेको थियो ।

बीजेपीको निम्तोमा भारत पुगेका माओवादी नेताहरु

आफनो पार्टीको संगठन, योजना लगायत विविध पक्ष बारेमा भाजपा अध्यक्ष नड्डाले नै माओवादीका नेताहरुलाई विफ्रिङ गरेका थिए । भाजपाले आन्तरिक पार्टी निर्माणका लागि प्रयोग गरिरहेको योजनामध्येकै आइटी फोरमकै जस्तो सिको नेपालमा माओवादीले पनि आफनो पार्टी संगठनको कार्ययोजनामा प्रयोग गर्न लागेको हो ।

त्यसो त बीजेपीले माओवादीसँग र माओवादीले बीजेपीसँग गत वर्ष देखि नै सम्वन्ध विस्तार गर्न चाहिरहेका थिए । माओवादी अध्यक्ष प्रचण्डको गत वर्ष भएको दिल्ली भ्रमणबाट नै त्यसको संकेत देख्न सकिन्थ्यो । गत वर्ष माओवादी अध्यक्ष (प्रचण्ड)ले भाजपाका अध्यक्षको निमन्त्राणमा भारत भ्रमण गरेका थिए । यो २०७९ को चुनाव अगाडीको भ्रमण थियो । उनी त्यसवेला नै भाजपाको मुख्यालयमा पुगेका थिए । त्यही भ्रमणदेखि नै दुई देशका दुई पार्टीबीचको सम्बन्ध मित्रतापूर्ण बनाउन, जनता र राष्ट्रको बीचको सम्बन्धलाई पनि सुदृढ र राम्रो बनाउन छलफल र सहकार्य शुरु भएको थियो ।

अहिले भुसाल नेतृत्वको टोलीको भ्रमणले थप सम्वन्ध मित्रतापूर्ण बनाउन भूमिका खेलेको माओवादी नेताहरुको जिकिर छ । भुसाल नेतृत्वको टोलीले भाजपाका विषयमा गरेको अध्ययन प्रतिवेदनको विफ्रिङ भ्रमणबाट फर्केपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई गरेका थिए ।

भुसाल नेतृत्वको टोली फर्केको ठिक ५ दिनपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बसेको थियो । त्यही बैठकमा प्रचण्डले आइसिटी फोरम गठनको नयाँ प्रस्ताव पार्टी बैठकमा प्रस्तुत गरेका थिए ।
केन्द्रीय समिति बैठकबाटै पार्टी उपाध्यक्ष तथा प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख समेतरहेका पार्टी प्रवक्ता अग्नि सापकोटालाई आईसिटी फोरमको इन्चार्ज, सरकारका प्रवक्ता तथा सञ्चारमनत्री रेखा शर्मालाई सहइन्चार्ज र प्रधानमन्त्री प्रचण्डकै प्रेस सल्लाहकार रहेका गोविन्द आचार्यलाई त्यस्तो फोरमको अध्यक्षको जिम्मा दिइएको थियो ।

त्यसको संरचना आइतबारको पहिलो बैठकमार्फत टुंग्गो लगाईएको छ ।
केन्द्रीय संरचनाभित्र भूगोलका ७ र गैह भूगोलका तीन गरि १० वटै प्रदेशका एक एक जना, मुख्य १२ वटा जनवर्गीय संगठनबाट एकएक जना, पार्टीको विगत देखि नै रहेको सूचना प्रविधि विभागमा रहेकाबाट ७ जना र पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालबाट ३ जना रहने गरि आईसिटी फोरमको केन्द्रीय टिम निर्माण गरिएको छ ।
उक्त टिममा रिर्सचर र विज्ञबाट समेत ३ जना राखिएको छ । ४१ जनासम्मको केन्द्रीय समिति बनाउने गरि अहिलेलाई आइसिटी फोरमको विधान बनाइएको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
‘पार्टीलाई डिजिटलाइज गर्ने, पार्टीको प्रचार विभागले बनाउने योजना र नीतिलाई प्रभावकारी रुपमा आइटीका विभिन्न माध्यम प्रयोग गरेर सवैतिर जोडेर लैजाने उदेश्यले आइसिटी फोरमले काम गर्नेछ,’ आचार्यले पहिलो बैठकमा भनेका थिए ।
प्रचण्डले पनि पछिल्लो समय त्याग सर्मपण भन्दा पनि हल्लाकै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा, तेस्तो तरिकालाई क्रस गर्ने गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न आईसिटी फोरम गठन गरीएको बैठकमा बताएका थिए ।
‘अहिलेको युग सुचना प्रविधिको युगको रुपमा स्थापित भएको छ ।यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनसार आइसिटीफोरमको गठन गर्ने निर्णय गरिएको छ,’ अध्यक्ष प्रचण्डले भने,–‘यसको संगठन ग्रास रुटसम्म बिस्तार हुन्छ , समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचारलाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ । आइसिटि फोरमलेहल्ला कै भरमा संगठन बनाउने ट्रेन तरिकालाई क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।’


भाजपामा कस्तो छ अभ्यास ?
भारतीय जनता पार्टी (बीजेपी) ले पार्टीका हरेक गतिविधिको जानकारी लिन र दिनका लागि आन्तरिक रुपमा डिजिटल एप्स बनाएको छ । उक्त एप्स सिधै पार्टीको केन्द्रीय अध्यक्षको पहुँचमा हुन्छ । अर्काे मातहातका कमिटीमा समेत पहुँच दिने गरि एप्सको विकास गरिएको छ ।

भारतमा बीजेपी असाध्यै सु-संगठित र बलियो संगठन भएको पार्टी हो । केन्द्रीय सरकार अहिले बीजेपीकै छ । १८ करोड बीजेपीको पार्टी सदस्य मात्रै छन् । पार्टी सदस्यका हिसाबले संसारकै सबैभन्दा ठूलो पार्टी आफ्नो पार्टी भएको बीजेपीको दाबी छ । संख्या सँगै संगठन पनि व्यवस्थित रहेको उसको भनाई छ । ’उहाँहरुले आफनो पार्टीलाई डिजिटलाइज गर्नुभएको रहेछ । विभिन्न तह केन्द्र, राज्य, ब्लक, बुथ र पाना संगठन भनेर एकदमै तलसम्मको संरचना बनाउनु भएको रहेछ । महिला, युवा, पीछडिएको जाति, किसान आदि गरेर सातवटा फ्रन्ट रहेछन् ।‘ बीजेपीको अध्ययन गरेर फर्केका नेकपा (माओवादी केन्द्र)का नेता सुरेश राई (हिमाल)ले मेरोन्यूजसँग भने, उहाँहरू दस्तावेज, लाइब्रेरी सबैलाई डिजिटलाइज गर्ने काममा असाध्यै आक्रामक ढंगले लाग्नु भएको रहेछ । हामीले पनि त्यसलाई अनुसरण गर्नु उपयुक्त हुन्छ भन्ने लागेको छ । त्यही अनुसारका योजना हाम्रो पार्टीमा पनि बन्न थालेको छ ।’

भाजपाले सुदृढ संगठन र त्यसमार्फत जनसेवाका काम गर्ने गरेको दावी गदैं आएको छ । राईले मेरोन्यूजसँग भने, ‘जहाँ जनताको समस्या छ, त्यहाँ पुग्ने भन्ने रहेछ । केही नियमित ढंगले हुने कार्यक्रम हुँदा रहेछन् । संविधान दिवस, पार्टी स्थापना दिवस जस्ता ६ वटा जति कार्यक्रम पार्टीका सबै तहले नियमित आयोजना गर्दा रहेछन् । सरकारले जनताको पक्षमा गरेका घोषणा, बनाएका नीतिहरू कार्यान्वयन गर्न सक्रियतापूर्वक लागेर जनताको बीचमा पुर्याएउने संयन्त्र पनि रहेछ । आफ्नो राज्य सरकार भएको ठाउँमा तीव्रताका साथ र नभएको ठाउँमा जनताको मागहरू राख्ने, विरोध प्रदशन गर्ने आदि काम गरेर सक्रियता जनाउने उहाँहरूको राम्रो अभ्यास रहेछ ।’
भाजपाले हरेक पार्टी युनिटमा सामाजिक सञ्जाल र मिडिया युनिट बनाएर संगठन, जनसेवा र प्रचारलाई सँगसँगै लगेका छन् । मिडियालाई २४ घण्टा अब्जर्भेसन गर्ने, त्यसैमार्फत अफेन्स, डिफेन्स गर्ने रणनीति बनाएका छन् ।
पार्टीका हरेक कमिटि र कार्यक्रमका एउटा स्टील फोटो, सेल्फी फोटो र कम्तीमा एक मिनेटसम्मका भिडिओ क्लिप कलेक्सन गर्ने र एप्समा राख्ने काम पनि उनीहरुका मिडिया युनिटले गर्ने गर्छन् । त्यही आधारमा केन्द्रले कहाँ कस्तो कार्यक्रम बनाउने भन्ने तय गर्ने गरिएको भाजपाले माओवादीका नेताहरुलाई जानकारी दिएका थिए ।

‘भाजपाका विरुद्ध सञ्चारमाध्यमममा केही नकारात्मक समाचार, विचार आए तत्काल त्यसको डिफेन्स गदैं अफेन्समा कसरी जाने भन्ने नीति तय भईहाल्दो रहेछ’, राईले भने, ‘त्यस्तो अवस्थामा भ्रम लेखिएको छ भने तथ्यमा आधारित भएर खण्डन गर्ने , तथ्यमा लेखिएको छ भने पार्टीको हितमा हुनेगरी अफवाह फैलाएर भएपनि आफनो पक्षमा माहोल बनाउने काममा भाजपाले टिम परिचालन गरिहाल्ने नीति बनाएका रहेछन् ।‘


माओवादीको आइसिटी फोरमले गर्छ के ?


माओवादी केन्द्रको कान्छो जनसंगठनको रुपमा आइतबार जन्मिएको संगठन आईसिटी फोरमले पनि भाजपाकै जस्तो शैलीमा आफनो पार्टीको संगठन विस्तार र डिजिटलाइज गर्ने योजना बनाएको छ । भारतमा बीजेपीको सवैभन्दा शसक्त र कार्यकारी संगठन बुथ कमिटी छ । उसले त्यसलाइ बढी प्रभावकारी बनाएको छ ।
माओवादीले पनि गत साउन १७ देखि २१ सम्मको केन्द्रीय समितिबाट वडालाइ केन्द्रीत बनाएर तीन महिने अभियानको घोषणा गरेको छ । भारतमा वुथ कमिटि भनेको नेपालमा वडा कमिटि हो ।

माओवादीले भदौं १६ मा देशका ६ हजार ७४३ वटा वडामै एकैपटक तीन महिने अभियान सञ्चालन गदैछ । पार्टी अध्यक्ष देखि सबै नेता कार्यकर्तालाई वडामै परिचालन गरेर काम गर्ने योजना माओवादीले बनाएको छ ।
यो अभियानमा मिडियालाई पनि सशत्त ढंगले परिचालनको नीति उसले बनाएको छ । बीजेपीले पाना कमिटी परिचालन गरेकै शैलीमा माओवादीले पनि टोल टोलमा हरेक घरसम्मै अभियानमा पुग्ने, आफनो पार्टीका सदस्य को हुन्, को होइनन् ? सम्पूर्ण फेहरिस्त उतार्ने योजना बनाएको छ ।

बीजेपीले पाना संगठन भनेर मतदाता नामावलीमा रहेको पानाका आधारमा पार्टीको सबैभन्दा तल्लो तहको संगठन बनाएका छन् । यो संगठनमा मतदाता नामावली भएकाहरुलाई नै परिचालन गर्ने गरि बीजेपीको संगठन छ ।
प्रचण्डले पनि अभियानका क्रममा हरेक घर पुग्ने र कुन परिवारमा कति सदस्य छन्, उनीहरु कुन पार्टीमा छन्, के गर्छन् भन्नेसम्मको सम्पूर्ण विवरण उतार्न अभियानमा खटिने नेता कार्यकर्तालाई निर्देशन गरेका छन् ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया