शुक्रबार, वैशाख २८, २०८१

माओवादी उपाध्यक्षहरूको उत्तर-दक्षिण दौड !

सबैभन्दा धेरै पार्टी सदस्य र सरकारको नेतृत्व गरिरहेको छिमेकी देशका ठूलो पार्टीसँगको छलफल र सम्बन्ध सुधारमा माओवादी

रामकृष्ण अधिकारी २०८० असार २९ गते २०:१६

– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागको निम्तोमा २० सदस्यीय टोलीको नेतृत्व गरेर माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा चीन गएका थिए । तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ भ्रमण गरेर १८ जेठमा यो टोली फिर्ता भयो ।

Advertisement

– पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई प्रमुख वक्ताको रुपमा सम्वोधन गर्न माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ असार १३ मा चीन भ्रमणमा छेन्दु पुगे । सात सदस्यीय टोलीको नेतृत्व गर्दै पुगेका श्रेष्ठले चीनका उपप्रधानमन्त्री ह लि फङसँग द्विपक्षीय भेटवार्ता गरे । उनी असार १७ मा स्वदेश फर्किए ।

– माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली साउन ७ गते ५ दिने भ्रमणका लागि भारत जाँदैछ । भाजपाको निम्तोमा भुसाल नेतृत्वको ५ सदस्यीय माओवादी टोली भारत भ्रमणमा जान लागेको हो । यो टोलीले भारतको सबैभन्दा ठूलो दल भाजपाका बारेमा बुझेर फर्किने छ ।

०००

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई उपाध्यक्षले अलग-अलग समयमा एक महिनाको अन्तरालमै चीन भ्रमण गरे । उपाध्यक्ष अग्निप्रसाद सापकोटा (कञ्चन) र सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि यही बीचमा चीन भ्रमण गरे ।

सापकोटा चीन भ्रमण गरेर फर्केको ५२ दिन तथा श्रेष्ठ चीनबाट फर्केको २२ औँ दिनमा अर्का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको माओवादी टोली दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा निस्कने तयारीमा छ ।

सरकारको बागडोर सम्हालिरहेको माओवादीका नेताहरुको मात्रै उत्तर- दक्षिण भ्रमण भएको छैन । स्वयम् पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि देशकै प्रतिनिधित्व गरेर जेठ १७ देखि २१ सम्म भारतको औपचारिक भ्रमण गरेका थिए ।

यी त भए, भ्रमण भइसकेका र तत्काल हुन लागेका केही भ्रमण तालिका ।

संयोग यस्तो पनि परेको छ की, चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्यूरो सदस्य युआन जियाजुन जोङकिङ सहरको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन ७ मा नेपाल भ्रमणमा आउन लागेका छन् । त्यही दिन माओवादी नेतृ भुसाल नेतृत्वको माओवादी टोली भने दक्षिणी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा भारत जान लागेकी छिन् ।

त्यसोतः यही बुधबार मात्रै पनि बेइजिङ बाट सीपीसीको अर्काे एउटा टोली पनि नेपाल भ्रमणमा छ । उक्त टोलीले बिहीबार नेपाली पक्षसँग चीनको विकास र समृद्धिबारे छलफल गरेको थियो ।

प्रधानमन्त्री स्वयमको पनि अहिले चीन भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय लागिरहेको छ । आगामी सेक्टेम्बरमा प्रधानमन्त्रीले चीन भ्रमण गर्ने तयारी छ । त्यसअगाडि नै प्रधानमन्त्री आफ्नो कार्य तालिका नफेरिए यूरोप (इटली)सम्म पुगेर आउने कार्यक्रमसमेत बनेको छ ।

प्रधानमन्त्री स्वयमले समेत एक टेलिभिजन अन्तवार्तामा आफ्नो चीन भ्रमणको मिति तय भइसकेको र एक्सपोज मात्रै अहिले नगरिएको बताएका थिए । त्यसपछि परराष्ट्रमन्त्री एनपी साउदले आगामी सेक्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको पुष्टि गर्दै सार्वजनिक कार्यक्रममै धारणा राखेका थिए ।

चीन भ्रमणमा रहेको माओवादी उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको टोली ।

सरकारको नेतृत्वमा रहेर होस् या पार्टीका विभिन्न तहका नेताहरूलाई परिचालन गरेरै किन नहोस्, माओवादीले अहिले दक्षिण भारत र उत्तर चीन दुवैतिर सम्बन्ध सुधार र विकास गर्न चाहिरहेको यी घटनाक्रमले देखाइरहेको छ ।

उत्तरको चिनियाँ कम्युनिष्ट पार्टीसँग ७ करोड बढी पार्टी सदस्य छ । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीले सरकार निरन्तर चलाइरहेको छ । अध्यक्ष सी जिनफिङ देशको शक्तिशाली कार्यकारी राष्ट्रपति छन् । कम्युनिष्ट पार्टी र सरकार भएकाले गर्दा माओवादीलाई चीनतिर सम्बन्ध सुधारका लागि त्यति अप्ठ्यारो समस्या छैन ।

बेलाबेला दुई देशका दुई पार्टीका बीचमा भइरहेको भाइचारा सम्बन्धले पार्टीगत तहमा पनि छलफल हुँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका माओवादी नेताहरूलाई बोलाउने र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूको पनि बाँक्लिदो नेपाल भ्रमणले यी दुई देशका कम्युनिष्ट पार्टीका बीचमा सम्बन्ध आफैमा बलियो हुँदै गइरहेको छ ।

माओवादी नेताहरूले पनि चीनलाई विश्वासमा लिनका लागि सम्बन्ध सुधारको प्रयास गर्दै आएकै देखिन्छ । तर, माओवादीले सँगसँगै अर्काे छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो दल र पार्टी सदस्य रहेको दल भाजपासँग पनि पछिल्लो समय सम्बन्ध सुधारको प्रयास थालेको छ । त्यसैको पछिल्लो कडी हो– उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोलीले गर्न लागेको भारत भ्रमण ।

भुसाल नेतृत्वको टोलीलाई भाजपाको निम्तो आएको छ । भाजपा अध्यक्ष जगत प्रकाश (जेपी) नड्डाले माओवादी नेताहरूले भाजपाको निम्तोमा भारत भ्रमण गर्न लागेको सञ्चार माध्यममार्फत खुलाएका थिए ।

अध्यक्ष नड्डाको निम्ता भाजपा विदेश विभाग प्रमुखको पत्रमार्फत् माओवादीले पाइसकेको छ । त्यही निम्तोका आधारमा उपाध्यक्ष भुसाल नेतृत्वको टोली साउन ७ देखि १२ गतेसम्म दिल्लीको भ्रमणमा निस्कदै छ । भ्रमण दलमा उर्जा मन्त्रीसमेत रहेका माओवादी उपमहासचिव शक्ति बस्नेत, चक्रपाणि खनाल, रामेश्वर राय यादव र सुरशेकुमार राई (हिमाल) दिल्ली जानेछन् ।

‘भाजपाबारे बुझ्ने कार्यक्रम हो। विश्वकै सबैभन्दा धेरै सदस्य रहेको ठूलो पार्टीमा गनिन्छ भाजपा पनि,’ माओवादी नेताहरुले मेरोन्यूजसँग भने, ‘त्यही भएर पनि छिमेकका ठूला दलहरुले पार्टी कसरी सञ्चालन गर्ने रहेछन्, उनीहरुका अनुभव सुन्ने र बुझ्ने ध्येका साथ माओवादीले निम्तो स्वीकार गरेर भ्रमण हुन लागेको हो ।’

भाजपाको मुख्यालय यसअगाडि माओवादी अध्यक्ष प्रचण्डले समेत भ्रमण गरिसकेका छन् । उनले प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि पार्टीगत आधारमा दिल्ली जाँदा भाजपाको मुख्यालय भ्रमण गरेका थिए । अहिले माओवादीका नेताहरूले भ्रमण गर्न लागेका हुन् ।

उपप्रधान मन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने पार्टीको तहमा भन्दा पनि सरकारको नेतृत्वबाट चीन भ्रमण गरेका हुन् ।

माओवादी पार्टीकै उच्च नेतृत्व तहमा उत्तर– दक्षिण भ्रमण गरेका र गर्ने तयारीमा रहेका सापकोटा र भुसाल दुवै माओवादीकै उपाध्यक्ष हुन् । दुवै नेता अहिले संसदबाहिर पार्टी काममा मात्र व्यस्त छन् । संयोग पनि यस्तो परेको छ की, यी दुवै नेता गत माघमा पार्टीको एकैपटक उपाध्यक्ष भएका थिए । भुसाल उपमहासचिवबाट बढुवा भएर उपाध्यक्ष बनेकी थिइन् भने सापकोटा निवर्तमान सभामुख बनेपछि उपाध्यक्षको जिम्मेवारीमा लगिएका हुन् ।

जे होस्, माओवादीले उत्तर- दक्षिण भ्रमणमा पार्टी नेताहरू पठाएर कुटनीतिमा सन्तुलित सम्बन्ध विकास गर्न चाहेको देखिएको छ ।

यसअगाडि पनि प्रचण्डले दोस्रोपटक सरकारको नेतृत्व गरिरहँदा कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा चीन पठाएका थिए । त्यसबेला चीनसँग प्रचण्डको सन्देश थियो- कांग्रेससहितको सहयोगमा निर्माण भएको तत्कालिन सरकारलाई चीनले सहयोग गरोस् ।

नयाँ सरकार गठनमा भारतीय भूमिकालाई लिएर अनेक टीका टिप्पणी भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले विशेष दूतमार्फत त्यसलाई चिर्दै आफ्नो सरकार चीनसँगको सम्बन्ध थप मजबुत बनाउन चाहेको सन्देश दिन चाहेका थिए । र, आफ्नो नेतृत्वको सरकारलाई चिनियाँ सहयोग र सद्भाव खोजेका थिए ।

ठिक अहिले पनि प्रचण्डले सरकारको नेतृत्व गरिरहँदा कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुको साथ पाएका छन् । प्रतिपक्षी एमालेले २०७३ मा जस्तो प्रचण्ड सरकारलाई भारतसँग जोडेर अर्नगल प्रचारबाजी र विवादमा तान्न खोजिरहेको छ । त्यही मेसोमा उनले २०७३ मा जस्तै गरी त्यसबेला एक्लै महरालाई पठाए पनि अहिले भने उपाध्यक्ष सापकोटा नेतृत्वको टोलीमार्फत चिनियाँ पक्षलाई त्यही सन्देश प्रवाह गराएका छन् ।

प्रचण्डले पार्टी उपाध्यक्ष सापकोटा नेतृत्वको टोलीमा पार्टीका सचिवहरू हितमान शाक्य, डिलाराम आचार्य, गणेश शाह लगायत प्रधानमन्त्रीकै सचिवालयमा रहेका नेताहरुसम्मको टोली बनाएर चीन भ्रमणमा पठाएका थिए । भ्रमण टोलीले चीन भ्रम्णबाट फर्केपछि तयार पारेको प्रतिवेदन समेत प्रचण्डलाई बुझाइसकेका छन् ।

अर्का उपाध्यक्ष भुसाल नेतृत्वको टोलीमा उर्जा मन्त्रीसमेत राखेर प्रचण्डले हालैको आफ्नो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार विजुली भारतलाई बेच्ने लगायतका अन्य दुई पार्टीका बीचमा विश्वासको वातावरण निर्माणका लागि माओवादी तयार छ भनेर सन्देश दिन चाहेका छन् ।

प्रचण्ड आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा उनले भारतको गोवामा २०७३ असोज ३० मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय भेट वार्तामा उठाएको त्रिदेशीय रणनीतिक साझेदारीका विषयमा कुरा गर्ने र त्यही आधारमा दुई छिमेकीसँगको सम्बन्ध विस्तार गर्न चाहिरेका देखिन्छन् ।

‘हामी विशाल छिमेकी भारत र चीनको बीचमा छौँ । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौँ,’ माओवादी नेताहरुको तर्क छ ।

नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेकाले त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न माओवादीले चाहेको माओवादी नेताहरू बताउँछन् ।

‘चाहे उत्तरतिरको पार्टी नेताहरूको भ्रमण होस् या दक्षिण भारततिर किन नहोस्,’ माओवादीका एक पदाधिकारीले मेरोन्यूजसँग भने, ‘सन्तुलित सम्बन्ध, विश्वासिलो वातावरणमा मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गरेर जाने पक्षमा माओवादी छ ।’

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया