शुक्रबार, वैशाख २८, २०८१

प्रधानमन्त्री देखि मन्त्रीसम्मलाई माओवादीले बाध्यो कडा नियममा

बेलुकी ८ बजेपछि भेटघाट गर्न रोक, बालुवाटार र सिंहदरवारमा नेता-कार्यकर्ताले पार्टीका मन्त्री अपवाद बाहेक भेट्नै नपाउने

रामकृष्ण अधिकारी २०८० वैशाख ६ गते २१:००

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले प्रधानमन्त्री छन् । तर माओवादीकै नेता- कार्यकर्ताले प्रधानमन्त्री तथा पार्टीका मन्त्रीहरुसँग सिहंदरवार र बालुवाटारमा भेटघाट गर्न नपाउने भएका छन् ।

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र सिंहदरवारस्थित पार्टीका नेताहरुले सम्हालेका मन्त्रालयमा पार्टी नेता– कार्यकर्ताले मात्रै घेरिँदा प्रधानमन्त्री तथा मन्त्रीहरुले प्रभावकारी काम गर्न नसक्ने ठहर गदैं माओवादीले नेता– कार्यकर्तालाई सर्वदलीय वा सर्वपक्षिय डेलिगेसनका अपवाद वाहेक सिंहदरवार र बालुवाटार भेटघाटमा रोक लगाउन लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले आफनो यो तेस्रो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने सार्वजनिक मञ्चहरुमा प्रतिज्ञा गदैं आएका छन् । प्रधानमन्त्री प्रचण्ड र सिंगो माओवादीकै लागि पनि केही गरेर देखाउने र फेरि पार्टीको गुम्दो साख जोगाउने यो अन्तिम अबसर पनि हो ।

त्यसैकारण पनि माओवादीले प्रधानमन्त्री देखि मन्त्रीसम्मलाई कहाँ कस्तो भेटघाट गराउने भन्ने ब्यवस्थित कार्ययोजना बनाएर प्रयोगमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्री र राजकीय पदाधिकारीको कार्य ब्यवस्थापन योजना २०७९ प्रयोगमा ल्याई माओवादीले यस्तो नीति प्रयोगमा ल्याएको हो । यो नीति बैशाख १ गतेबाटै कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्रीका एक जना सल्लाहकारले बताएका छन् ।

‘पार्टीका नेता कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालयमा पार्टीले तयार पारेको कार्यतालिका अनुसार भेटघाट गर्ने गरी समय ब्यवस्थापन गरिएको छ,’ ती सल्लाहकारले मेरोन्यूजसँग भने,–‘त्यसका लागि अव नेता कार्यकर्ताले सिंहदरवार र बालुवाटार आफै भेटघाटका लागि दौडनै पदैन । प्रधानमन्त्री हरेक शुक्रवार दिउँसो ४ बजेदेखि ६ बजेसम्म पार्टी कार्यालयमा जानुहुनेछ । अन्य मन्त्रीहरु पनि तोकिएको समयमा पुगेर नेता कार्यकर्तासँग भेटघाट र अन्तक्रिया गर्नुहुनेछ ।’

नेता– कार्यकर्तासँगको भेटघाट कार्यतालिका ब्यवस्थापनका लागि पार्टी कार्यालयबाट २ जना र प्रधानमन्त्रीको सचिवालयबाट २ जना रहने गरी ४ जनाको भेटघाट संन्यत्र माओवादीले बनाएको छ । त्यसरी बनेको संन्यत्रले प्राथमिकताका आधारमा भेटघाटको नामावली तयार र सिफारिस गर्ने, सोही आधारमा प्रधानमन्त्रीले पार्टी नेता- कार्यकर्तासँग भेटघाट गर्ने नीति माओवादीमा बनेको छ ।

त्यस्तै पार्टीका तर्फबाट सरकारमा पुगेका उपप्रधानमन्त्री, मन्त्री, सल्लाहकार र विज्ञले हप्ताको १ दिन दुई घण्टा पार्टी कार्यालयमा पुगेर पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नुपर्नेछ । त्यसको सुरुवात प्रधानमन्त्री प्रचण्डले बैशाख १ गते शुक्रवार पार्टी कार्यालय पेरिसडाडा पुगेर गरिसकेका छन् ।

माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा हरेक दिन बेलुकी ४ देखि ६ बजेसम्म पालैपालो मन्त्री र सल्लाहकार विज्ञहरुको भेटघाट सूची बनाएको छ ।

आइतबार उर्जामन्त्री शक्ति बस्नेत, सोमबार सस्कृति तथा पर्यटनमन्त्री सुदन किराँती र राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, मंगलबार सञ्चारमन्त्री रेखा शर्मा, बुधबार संघीय मामिला मन्त्री अमनलाल मोदी, बिहिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शुक्रबार प्रधानमन्त्री प्रचण्डले पार्टी कार्यालय पुगेर नेता कार्यकर्तासँग अनिवार्य भेट गर्नुपर्ने तालिका बनेको छ । त्यस्तै शनिबार भने सल्लाहकार र विज्ञहरुसँगको भेट तय गरिएको छ ।

हेर्नुहोस पार्टी कार्यालयमा तय गरिएको भेटघाट तालिका

पार्टी सांसदहरुलाई छुटटै भेटघाटको तालिका
पार्टीका संघीय तथा प्रदेश सांसदहरु समेत दिनभर प्रधानमन्त्री तथा पार्टीका नेताले सम्हालेको मन्त्रालय धाउने र प्रधानमन्त्री तथा मन्त्रीका कामहरुमा उल्झन आउने देखेपछि सांसदहरुसँग नियमित भेटघाटका लागि पनि माओवादीले छुटटै भेटघाटको तालिका बनाएको छ ।

संघ तथा प्रदेशका सांसदहरुसँग कतिपय विधेयक, सरकारका काम लगायतका विषयमा पनि प्रधानमन्त्री तथा मन्त्रीहरुले छलफल गर्नुपर्ने हुन्छ । मन्त्रालयमा बोलाएर गरिने त्यस्ता छलफलमा मन्त्रीको ब्यस्तता र धपेडी र सांसदहरुको पनि आफ्नै रुचीका विषयले मात्र प्राथमिकता पाउने हुादा विषय केन्द्रीत छलफल प्रभावकारी नहुने भन्दै माओवादीले ब्यवस्थित छलफलकै लागि प्रधानमन्त्री, मन्त्री र सांसदहरुको नियमित भेटका लागि कार्यतालिका बनाएको बताएको छ ।

संघीय र प्रदेश सांसदसँग फरक फरक दिन पारेर प्रधानमन्त्री, मन्त्री एवम सल्लाहकारले हप्ताको १ दिन कम्तीमा एक÷एक घण्टा सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यलयमा भेटघाट गर्नुपर्नेछ । त्यसको कार्यतालिका पनि माओवादीले प्रधानमन्त्री तथा मन्त्री र राजकीय पदाधिकारीको कार्य ब्यवस्थापन योजनामा समेटेर ल्याएको छ ।

उक्त भेटघाटको ब्यवस्थापनका लागि पनि प्रधानमन्त्रीको सचिवालयका दुई जना र संसदीय दलका कर्मचारीले काम गर्ने गरी तय गरिएको छ ।

संसदीय दलमा सांसद–प्रधानमन्त्री/मन्त्रीको यस्तो छ भेट तालिका

प्रधानमन्त्रीको कार्यतालिका : हरेक शनिबार पार्टी नेतालाई फोन गर्ने, अन्तिम शनिवार एउटा प्रदेशको टोलीसँग अन्तक्रिया गदै सँगै खाना खाने

प्रधानमन्त्री तथा मन्त्री र राजकीय पदाधिकारीको कार्य ब्यवस्थापन योजनामा प्रधानमन्त्री प्रचण्डका लागि पनि नियमित कार्यतालिका बनेको छ । प्रधानमन्त्रीको कामका दौरान के विषयमा आफुलाई केन्द्रीत गर्ने देखि कहिले कहाँ बसेर के गर्ने भन्ने सम्मको विवरण उक्त योजनामा उल्लेख गरिएको छ । त्यस्तो कार्यब्यवस्थापन योजना पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैले गत चैत २७ हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याउन पार्टी पंक्तिमा आन्तरिक सर्कुलर गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले हरेक शनिबार पार्टीका सबै प्रदेशका केन्द्र र प्रदेशका एक एक जना नेतासँग टेलिफोन वार्ता गर्नेसम्मको कार्यतालिका बनेको छ ।

प्रधानमन्त्रीले प्रत्येक शनिबार २ घण्टा केन्द्र र प्रत्येक प्रदेशका एक एक जना पार्टी नेतालाई आफैले टेलिफोन गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्रीले प्रत्येक महिनाको अन्तिम शनिवार बिहान ३ घण्टा पार्टीको एउटा प्रदेशको टोलीसँग खाना समेत खाने गरी अन्तरक्रियात्मक भेटघाट गर्ने कार्यतालिका छ ।


त्यस्तो टोलीमा सहिद तथा वेपत्ता परिवार, जनमुक्ति सेना एवम घाइते अपांग नछुटने गरी सबै जिल्लाबाट १ जनाका दरले पार्टी प्रतिनिधि समावेश गर्नेगरी ब्यवस्थापन मिलाउन पार्टी कमिटिलाई आन्तरिक सर्कुलर माओवादीले गरिसकेको छ ।

‘‘यो पनि यही महिनाको अन्तिम शनिबार बाट नै कार्यान्वयनमा आउनेछ,’ प्रधानमन्त्रीका ती सल्लाहकारले मेरोन्यूजसँग भने ।

प्रधानमन्त्रीले सिंहदरवारमै प्रत्येक दिन ३० मिनेट एक– एक मन्त्रालयका मन्त्री र सचिवसँग कार्यप्रगति विवरण सम्वन्धमा संवाद गर्ने छन् । यस्तो सम्वाद शुरु भईसकेको छ । सिंहदरवारस्थित मन्त्रिपरिषद्को कार्यालयमा काम सम्पन्न भएपछि मात्र बचेको समयमा प्रधानमन्त्रीले थप भेटघाट गर्ने छन् । त्यस्तै प्रधानमन्त्रीले आफु नेतृत्वका सरकारका मन्त्रीलाई पनि प्रत्येक दिन १० देखि १ बजेसम्म मन्त्रालयको काममा केन्द्रीत हुन निर्देशन गरेका छन् ।

१ देखि ३ बजेसम्म आगन्तुकसँग र ४ देखि ५ बजेसम्म आमन्त्रितसँग भेटघाट गर्ने गरी ब्यवस्थापन मिलाउन प्रधानमन्त्रीले निर्देशन गरेका छन् । दिउँसो ३ देखि ४ बजेसम्म रिफ्रेस समय छुटटाउन प्रधानमन्त्रीको मन्त्रीलाई निर्देशन छ । प्रधानमन्त्री र मन्त्रीहरुले विशिष्ट अवस्थाबाहेक निवासमा बेलुकी ८ बजेपछि भेटघाट नगर्ने सम्मको नियम कार्यब्यवस्थापन योजनामा उल्लेख छ ।

त्यस्तै बालुवाटारमा प्रत्येक शनिबार बेलुका २ घण्टा प्रधानमन्त्रीले सचिवालयको मुख्य टीमसँग समीक्षात्मक छलफल गर्ने, आफै भेट्न आउने भन्दा बोलाएर गर्ने भेटघाटलाई प्राथमिकता दिने, प्रधानमन्त्रीसँग सर्वसाधारण जनताको भेटघाटका लागि उचित प्रवन्ध मिलाउने जस्ता काम सचिवालयले गर्नुपर्ने माओवादीले बनाएको कार्यब्यवस्थापन योजनामा उललेख छ ।

हेर्नुहोस् प्रधानमन्त्रीको भेटघाट तालिका

प्रधानमन्त्रीले मन्त्रालयसँग सम्वन्धित काम, गठबन्धनसँग सम्वन्धित काम, संसदसँग सम्वन्धित काम, सम्वैधानिक आयोगसँग सम्वन्धित काम, सुरक्षासँग सम्वन्धित काम, कुटनीतिक नियोगसँग सम्वन्धित काम, विज्ञहरुसँग छलफल, पार्टी, जवस, मोर्चा र विभागसँग सम्वन्धित काम, सचिवालयसँग समीक्षात्मक छलफल, पारिवारिक भेटघाट र अध्ययन तथा योजना निर्माणका कामलाई प्राथमिक सूचीमा राख्ने गरी १२ बुँदे कार्ययोजना बनाइएको छ ।

सुधारका संकेत
प्रचण्डले प्रशासनिक अस्तब्यस्ततामा केही सुधारको संकेत देखाएका छन् । अघिल्ला प्रधानमन्त्री जस्तो सिंहदरवार पुग्दै नपुग्ने परम्परालाई उनले तोडेका मात्रै छैनन, दिभर आफुले सिंहदरवारबाटै प्रशासनिक काम शुरु गरेका छन् ।

मन्त्रिपरिषद्का बैठक, सम्वैधानिक परिषद्का बैठक देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नुपर्ने महत्वपूर्ण काम उनले सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाटै गरिरहेका छन् ।

त्यक्ति मात्रै होइन, उनले कतिपय राजनीतिक भेटघाट लगायतका काम पनि सिंहदरवारबाटै गरिरहेका छन् । बालुवाटारमा हुने गरेका आफनो ब्यस्ततालाई उनले सिंहदरवारमा सारेका छन् । पार्टी कार्यालय, सिंहदरवार, संसदीय दलको कार्यालय र बालुवाटारमा भेटघाटलाई ब्यवस्थित गरी सरकारलाई परिणाममुखी काममा सक्रिय बनाउन योजना नै तयार पारेर कार्यतालिका निर्माण गरेर प्रधानमन्त्री प्रचण्ड अगाडी बढेको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन् ।

‘पार्टीले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राजनीतिक नियुक्ति लिनुभएका नेताको कार्यब्यवस्थापन योजना नै बनाएर प्रयोगमा ल्याइएको छ,’ महासचिव गुरुङले मेरोन्यूजसँग भने,–‘यसले सरकारलाई ब्यवस्थित र परिणामुमखी काममा सक्रिय भएर लाग्न बल पुग्छ भन्ने पार्टीले अपेक्षा गरेको छ ।’

कानुन निर्माणलाई प्राथमिकता दिने

प्रचण्ड नेतृत्वको सरकारले कानुन निर्माणलाई प्राथमिकतामा राख्ने भएको छ । विगतमा कानुन निर्माणलाई गम्भिरतापूर्वक नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयमा आवश्यकता अनुसार प्रतिफल दिन नसकेको माओवादी निश्कर्ष छ । त्यसका लागि पनि राज्यका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन कानुन ९विधेयक० निर्माण र कार्यान्वयन अनिवार्य शर्त बनाउने गरी सरकारले काम गर्ने माओवादीले बताएको छ ।

‘विगतमा यसलाई गम्भिरतापूवर्क नलिई अन्य कामलाई प्राथमिकता दिनाले संविधान कार्यान्वयनमा आवश्यकता अनुसार प्रतिफल दिन सकिएन । विगतको यो कमजोरी सच्चाउनुपर्छ । यसका लागि पार्टीका विभागीय कामहरु प्रभावकारी बनाउन विभाग, जवस, मोर्चा कानुन ब्यवसायी, कर्मचारी र विज्ञहरुसँग समहुगत रुपमा छलफल गर्ने ब्यवस्था मिलाउने,’ माओवादीले २७ चैत मा प्रचण्डको हस्ताक्षर गरी बैशाख १ बाट कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री तथा मन्त्री र राजकीय पदाधिकारीको कार्यब्यवस्था योजनामा उल्लेख छ ।

त्यस्तै, अनौपचारिक विज्ञ समुह आवश्यकता अनुसार निर्माण गरी सुझाव लिने पनि माओवादीको तयारी छ । जसमा शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार परराष्ट, आर्थिक अध्ययन अनुसन्धान र अनुगमन लगायत समुह तयार पार्ने नीति उसले बनाएको छ ।

विज्ञ समहुको गठन गर्दा पार्टीको सम्वन्धित विभागबाट २ जना, विषय विज्ञ १, विषयसँग सम्वन्धित पूर्व मन्त्री तथा विगतमा राजनीतिक नियुक्तबाट २ जना रहन गरी टिम निर्माण गर्ने कार्यब्यवस्था योजनामा उल्लेख छ ।

त्यस्तै कार्यब्यवस्था योजनामा तय भएका कामको कार्यान्वयन भए नभएको अनुगमन गर्न समेत माओवादीले एउटा अलग्गै समिति बनाउने भएको छ ।

यस्तो हुन्छ स्वीकय सचिवालयकाको कार्यविभाजन
प्रधानमन्त्रीको स्वकिय सचिवालय सदस्यहरुको कार्यविभाजन समेत गरिएको छ । समग्र मुख्य स्वकीय सचिवले समन्वय गर्नेछन् । प्रचण्डका मुख्य स्वकीय सचिव सन्तु दराई परवाना छन् । प्रधानमन्त्रीसँगै सचिव २ जना साथमा हुनेछन् । सचिवमा छोरी रेणु दहाल र रमेश मल्ल छन् । त्यस्तै सहसचिवस्तरका प्रेस हेर्ने एक जना र अधिकृत स्तरको फोटोगाफर १ जना प्रधानमन्त्री प्रचण्डको साथमै हुनेछन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा २ जना, प्रधानमन्त्री कार्यालय सिंहदरवारमा २ जना, माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरवारमा २ जना, केन्द्रीय कार्यालय पेरिसडाडामा २ जना, सल्लाहकार समन्वयमा २ जना, विज्ञ समुह समन्वयमा २ जना र मन्त्रालयको काम संयोजनका लागि २ जना प्रधानमन्त्रीको सचिवालयमा रहने छन् ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया