शुक्रबार, वैशाख १४, २०८१

बालुवाटारमा रवि फन्को मारेको मार्‍यै

गैर-सांसदकै रुपमा गृहमन्त्री बनाउन भन्दै आजसहित तीन पटक बालुवाटार पुगिसकेका छन् रवि लामिछाने

शित्तल शर्मा २०७९ माघ १९ गते १३:२२

काठमाडौं । मूलधारका राजनीतिक पार्टीहरुले वेथितीमात्रै जन्माएको र त्यसको विकल्प र सुशासनसहितको राजनीति अगाडी बढाउन नयाँ राजनीतिक शक्तिको खाँचो रहेको बताउँदैं आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि सत्तामा पुग्नका लागि बालुवाटार- बालकोट फन्को मारेको मार्‍यै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविको नागरिकताका विषयमा सर्वाेच्च अदालतले दिएको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय दिन नसक्ने प्रष्ट अडान राखिरहँदा पनि लामिछाने भने गृह मन्त्रालयमा आफै फर्किनका लागि बालुवाटार-बालकोट धाएको धायै छन् ।

बिहिबार बिहान पनि उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । लामिछानेले गृह जसरी पनि आफुलाई दिन प्रधानमन्त्रीमाथी दवाव बढाएको बढायै छन् । उनले बिहिबार पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसाग गृह तत्काल आफैलाई दिन र आफुमाथीका अन्य विवादित विषय छिनोफानो लगाउने जिम्मा आफैलाई छोडिदिन आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।

‘उहाँमाथी दोहोरो राहादानीका विषयमा अनुसन्धान सकिएको छैन । नागरिकताका विषयमा सर्वाेच्चको आदेशको पूर्णपाठ आएकै छैन, तर उहा जसरी पनि गृह आफैलाई दिनुपर्ने माग लिएर आईरहनुभएको छ,’ प्रधानमन्त्रीसँग रवि लामिछानेले राखेको भनाई उदधृत गदैं बालुवाटार स्रोतले मेरोन्यूजलाई भन्यो, ‘अदालत, महान्यायाधिवक्ता देखि पुलिस प्रशासन सबै र दोहोरो राहदानीका विषय म आफैं मिलाउँछु। कुनै समस्या अब आउँदैन । नागरिकताको विषयमा जे आयो, त्यसमा आँफु प्रक्रिया पूरा गरेर नागरिकता लिएर फेरि पार्टी सभापति भएर आईसके, अहिले गृहमन्त्री जसरी पनि बनाईदिनुस्, ६ महिनाभित्र उपचुनाव गरेर फेरि जितेर आईहाल्छु, हिम्मत गर्नुस्, बाहिर आएका कुरामा नलाग्नुस । विस्तारै सबै विषय सेलाउँदै जान्छ।’

बिहिबारको प्रधानमन्त्रीसँगको छलफल पनि सकारात्मक नभएको र प्रधानमन्त्रीले गृह दिन नसक्ने अडान आज पनि तेहेर्‍ याएपछि लामछिानेले सामाजिक सन्जलमा आफनो मौनता आजै सम्मका लागि मात्र भएको बताएका छन् । उनले आफू अभिमन्यु नभएको बताउँदै प्रधानमन्त्रीसँगको भेटपछि सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’

यसले पनि देखाउँछ लामिछानेको सत्ता र शक्तिप्रतिको आशक्ति । उनले आजै पार्टी बैठक बोलाएर प्रधानमन्त्रीमाथी दवाव बढाउने रणनीति अव अख्तियार गर्न खोजेका छन् ।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलासँगै लामिछानेले सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद समेत गुमाएका थिए । तर त्यसको दुई दिनमै अर्थात गत आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिएसगै उनले अहिलेसम्म गृहमा आफुलाई पून: फर्काउन प्रधानमन्त्री प्रचण्डलाई बिहिबारसहित उनले तीन चोटी भेटेर दवाव दिईसकेका छन् ।

नागरिकता प्राप्त गरेकै दिन उनले पार्टीका तीन वटा बैठक राखेर सुरुमा पार्टीको साधारण सदस्यता लिए, त्यसपछि केन्द्रीय सदस्यमा मनोनीत भए र पार्टी सभापतिमा छानिए । त्यस लगत्तै गृह मन्त्रालय माग्न प्रधानमन्त्री भेटन बालुवाटार पुगे । जबकि उनले एकैपटक दुई देशका राहदानी लिएको विषयमा प्रहरी अनुसन्धान सकिएको छैन । तर तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धान प्रभावित गर्न उनी जसरी पनि गृहमन्त्रालय नै आफुलाई दिन प्रधानमन्त्रीमाथी दवाव बढाईरहेका छन् ।

उनले आइतबार पार्टी सभापतिमा दोहोरिएलगत्तै प्रधानमन्त्री भेटेर पहिलो पटक गृह मन्त्रालय आफुलाई फर्काउन माग गरेका थिए ।

तर प्रधानमन्त्रीले अनुसनधान प्रक्रिया पूर्ण नभएकोले गृह तत्काल दिन नसक्ने बताएपछि लामिछानेले फेरि मंगलबार र आज समेत गरेर तीन पटक प्रधानमन्त्री प्रचण्डलाई भेट गरिसकेका छन् ।

आइतबार प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नपाएपछि उनले एमाले अध्यक्ष केपी ओलीलाई सोही दिन बेलुकी बालकोट पुगेर प्रचण्डमाथी दवाव बढाउन आग्रह गरेका थिए । ओलीले सत्ता समिकरण निर्माण हुने क्रममा पनि लामिछानेलाई गृह मन्त्रालय दिन प्रधानमन्त्रीमाथी दवाव वढाएका थिए ।

त्यसबेला प्रधानमन्त्रीले तालुकदार मन्त्रालयमा स्वार्थ बाझिने भएकोले दिन आनाकानी गरेका थिए । तर ओलीको जोडबलमा पुस ११ मा गृह दिएका प्रधानमन्त्रीले अहिले भने अदालतको फैसला पछि अदालतको मानहानी हुने गरी लामिछानेलाई गृह दिने मनस्थिती बनाएका छैनन । रवि आफै अहिले गैह सांसद छन् ।

त्यसकारण पनि प्रधानमन्त्री उनलाई गृहमा फर्काउन चाहिरहेका छैनन ।

तर लामिछानेले भने आइतबार, सोमबार र मंगलबार सम्म पनि एमाले अध्यक्ष ओलीलाई निरन्तर भेटेर प्रधानमन्त्रीमाथी दवाव बढाउन आग्रह गरिरहेका छन् ।

लामिछानेको आग्रहमा ओलीले प्रधानमन्त्रीसमक्ष सरकार निर्माणका बेलाको समसझदारी सम्झन आग्रह गरेका थिए । बिहिबार मात्रै पनि ओलीले बिराटनगर पुगेर गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताएका छन् । ‘पहिला रविजी गृहमन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले बिराटनगरमा पुगेर सञ्चारकर्मीसँग भने।

ओलीले सर्वाेच्चको पूर्णपाट आवश्यकता नै नरहेको भन्दै लामिछानेको पक्षमा आवाज विराटनगर पुगेर पनि दिएका छन् । ‘गृहमन्त्री नियुक्त गर्न किन चाहियो अदालतको पूर्ण पाठ ?, ओलीले भने, पुराण वाचन गर्ने हो र अहिले नै पूर्णपाठ खोज्नलाईरुु’

ओली मात्रै हो्इन, राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जा जलस्रोत मन्त्री राजेन्द्र लिङङेनले पनि प्रधानमन्त्रीलार्इ रास्वपलार्इ गृह दिन आग्रह गरेका थिए । तर प्रधानमन्त्री गृह रवि त के रविको पार्टीलाई समेत दिन तयार छैनन ।

प्रधानमन्त्रीको पार्टी नेकपा (माओवादी केन्द्र)ले पनि गृह रविलाई नदिन प्रधानमन्त्रीमाथी दवाव बढाएका छन् । प्रधानमन्त्री लिएको पार्टीले अर्थ,गृह, रक्ष र परराष्ट्रजस्ता कुनै पनि मन्त्रालय नराखेको भन्दै प्रधानमन्त्रीमाथी माओवादीका नेताहरुको पनि दवाव छ । त्यसमाथी अहिले सर्वाेच्चले रविको नागकिरता विवादमा पद मुक्तको फैसला गरेपछि भने गृह अव फेरि उनैलाई दिएर स्वार्थ बाझिने मन्त्रालय दिन नहुनेमा माओवादी छ ।

प्रधानमन्त्री रविको पार्टीलाई गृहको साटो अर्काे मनत्रालय दिन तयार छन् । तर रवि आफै गैह सांसदकै रुपमा गृहमा फर्किन अनेक प्रयासमा लागेका छन् । गृह नपाए सरकारबाट बाहिरिने धम्की समेत प्रधानमन्त्रीलाई दिएका रविले सरकारबाट बाहिरिने निर्णय भने लिईसकेका छैनन । सरकारमा जादै नगए हुनेमा गएपछि फेरि अहिले गृह नपाएकै झोकमा सरकारबाट बाहिरिनु पार्टीका लागि पनि हितकर नहुने रास्वपमै मत छ । जसकाकारण रास्वपमा सरकारमा रहने या बाहिरिने भन्नेमा दुई थरी मत देखिएको रास्वपका एक नेता बताउँछन् ।

तर उसले आज पार्टीको बैठक बोलाउन लागेको छ । ‘बेलुकीसम्म पार्टी बैठक बस्ने तयारी हुँदैछ, यस बैठकमा सरकारको एजेण्डामा रहेर छलफल हुन्छ,’ रास्वपका एक नेताले भने ।

प्रतिक्रिया