शुक्रबार, वैशाख २८, २०८१

राष्ट्रपतिमा फेरि ‘स्वतन्त्र’ कै चर्चा !

रामकृष्ण अधिकारी २०७९ माघ ४ गते १९:५५

काठमाडौं । सरकार गठन पछि सभामुख चयन र प्रदेश सरकारमा विश्वासको मतमा जोडघटाउ भइरहेका बेला नेपथ्यमा फेरि राष्ट्रपति पदमा गैरराजनीतिक व्यक्ति ल्याउने कसरथ सुरु भएको छ । बुधबार प्रतिनिधि सभामा कांग्रेसका इश्वरी न्यौपानेले सभामुख उम्मेदवारी दर्ता गरेपछि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्ने बताएपछि राजनीति थप तरंगित भएको छ ।

Advertisement

कांग्रेसले प्रधानमन्त्री नदिएपछि एमालेको सहयोगमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति चुनावमा निर्णायक छन् । कांग्रेसले राष्ट्रपतिमा माओवादीको मत निर्णायक देखेपछि पुस २६ मा माओवादीलाई फेरि पूरानै गठबन्धनमा फर्काउन संसदमा पार्टीभित्रै चर्काे आलोचना खेपेरै भएपनि विश्वासको मत दिएको छ ।


जसकाकारण माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाएको एमाले शसंकित छ । एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले ‘ढोक्सा’ थापेको भएपनि ढोक्सामा माछा नपर्ने संसदमै बताएका थिए । त्यसयता ओली भित्रभित्र भने शसंकित नै छन् ।

ओली शसंकित हुनुको प्रमुख कारण हो– प्रधानमन्त्री प्रचण्डले सरकार निर्माणका क्रममा बनेको समिकरण भन्दा विश्वासको मत लिने बेला समिकरण फेरिएको भनि गरिरहेको तर्क । त्यसमाथी प्रधानमन्त्रीले मंगलबार आफुलाई विश्वासको मत दिने दलहरुको बालुवाटारमा राखेको सर्वदलीय बैठक । प्रधानमन्त्रीले उक्त बैठकमा राष्ट्रिय सहमतिको खोजीमा अधिकतम प्रयासमा आफु लाग्ने भनी कांग्रेसलाई दिएको बचन ।
प्रधानमन्त्रीले विश्वासको मतलाई सम्मान गर्ने र सवैलाई मिलाएर आफु अगाडी बढ्ने बताएर कांग्रेसलाई पनि सँगै नजिकाउन खोजिरहेका छन् । यही प्रधानमन्त्रीको कांग्रेस नजिक्याउने खेलमा ओली बढी शसंकित बनिरहेका छन् ।

प्रधानमन्त्रीको यही मनोविज्ञान बुझेरै कांग्रेसले पनि राष्ट्रपतिमा आफुलाई माओवादीले सघाउने विश्वास केही हदमा भनेपनि पालेकै देखिन्छ । यस्तो बेला दल विशेषबाट भन्दा पनि गैह–राजनीतिक ब्यक्तिबाट राष्ट्रपति बनाउनु पर्ने प्रस्ताव फेरि मुखरित भएर आउन थालेको राजनीतिक दलका नेताहरु बताउँछन् ।
यस्तो खेल सुरुमा प्रचण्ड प्रधानमन्त्री नबन्दै अर्थात मंसिर ४ को निर्वाचन सम्पूर्ण परिणाम सार्वजनिक नहुँदैं नेपथ्यमा सुरु भएको थियो ।
‘एकपटक चुनावी परिणाम नआउँदै गैह राजनीतिक ब्यक्ति राष्ट्रपति बनाउने खेल शुरु भएको थियो । बीचमा त्यो केही समय रोकियो । तर, फेरि अहिले यो खेल नेपथ्यमै सुरु भईरहेको छ,’ नेपाली कांग्रेसका एक नेताले मेरोन्यूजसँग भने ।

कांग्रेसले माओवादीलाई फेरि भत्केको आफुहरुको गठबन्धनमा फर्काउन सके वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भित्री रुची अझै राखेको छ । तर पौडेलका लागि आफुलाई सरकारको नेतृत्वमा लैजान सहयोग गर्ने एमालेलाई पन्छाएर प्रचण्डले राष्ट्रपतिमा सघाउलान् भन्ने कांग्रेसलाई पनि विश्वास देखिन्न ।

प्रचण्ड पनि आफुलाई सहयोग गर्ने गठबन्धन सम्पूर्ण रुपमा भताभुंग बनाएर कांग्रेसका पौडेललाई सघाउँदा कठिन मेहनतले प्राप्त प्रधानमन्त्रीको जाहाज दाउमा लगाउने पक्षमा छदैछैनन । कांग्रेसलाई पनि विश्वासमा लिने गरी नै प्रचण्डले चलाखीपूर्ण चाल राष्ट्रपति निर्वाचनमा देखाउने विश्लेषण राजनीतिक वृत्तमा छ ।

त्यो अवस्था भनेको गैह राजनीतिक दलका ब्यक्ति राष्ट्रपति बनाउने ।


राजनीतिक जानकारहरु भन्छन्, यो विषय प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँगको वार्तामा कुनै न कुनै रुपमा इन्डोस गरिसकेका छन् ।

प्रचण्डले माघ २ मा चिनियाँ राजदूतसँगको भेटपछि ओलीसँग बालकोटमा भएको भेटमा यो विषय इन्डोस गराएको हुनसक्ने विश्लेषण राजनीतिक वृत्तमा छ । सभामुख उपसभामुखको निर्वाचनपछि यो विषय अलिक सतहमा देखिने गरी आउने कांग्रेसका एक नेता बताउँछन् ।


एमालेले राष्ट्रपतिका सम्भावित उम्मेदवारका बारेमा चर्चा भित्री बैठकमा समेत गर्न रुची नदेखाउनु, एमालेकै गोकुल बास्कोटा लगायतका कतिपय नेताहरु फेरि पनि संविधानको जुनकुनै धारा संसोधन गरेरै भएपनि विद्यादेवी भण्डारीलाई तेहे¥याएर राष्ट्रपति बनाउन वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य अधिवक्तहरुसँगको छलफलमा जुट्नुले प्रधानमन्त्री समेत एमालेको भित्री खेलमा शसंकित देखिएका छन् ।


अर्काेतिर बाहिरी शक्तिकेन्द्रहरुले पनि राष्ट्रपतिमा कम्युनिष्ट त्यसमा पनि दलविशेषका नेता भन्दा गैहराजनीतिक ब्यक्ति, डेमोक्रयाट पृष्ठभूमिका ब्यक्तिको वातावरण निर्माणमा चलखेल गर्नुले पनि राष्ट्रपति दलविशेषबाटै आउँछन् भन्नेमा शंका उब्जिएको छ ।

बाह्य शक्ति केन्द्रले राष्ट्रपतिमा नजिकबाट चासो राखेको छ । यतिबेला कांग्रेस सभापति शेरवहादुर देउवा पत्नी डा आरजु राणा देखि विमलेन्द्र निधिसम्म दिल्लीमा छन् । डा आरजु दिल्ली पुगेको भोलिपल्टै फेरि निधि पनि दिल्ली पुगेका हुन् । उनी त्यसको अगाडी पनि दिल्लीमै थिए ।

जानकार स्रोतका अनुसार, भारत राष्ट्रपतिमा एमालेबाट कुनै नेता विशेषलाई बनाउने पक्षमा देखिन्न । उसले देशभित्रका सवै शक्ति –खासगरी कांग्रेस, एमाले र माओवादी) र बाह्य शक्ति लाई समेत मान्य हुने ब्यक्ति नेपालको राष्ट्रपति बनोस् भन्ने पक्षको लविङमा देखिन्छ ।
नेपालमा सभामुख र उपसभामुखको चुनाव लगत्तै राष्ट्रपतिको विषयमा उसले चलखेल बढाउने संकेत दिल्लीमा कांग्रेसका नेताहरुसँगको भेटमा देखाएको छ ।

‘प्रधानमन्त्री तीन वटै राजनीतिक दललाई मान्य हुने राष्ट्रपति भईदेओस् भन्ने पक्षमै देखिनुहुन्छ । बुधबार सभामुख उम्मेदवारी दर्ता अगाडी पनि प्रधानमन्त्री र कांग्रेस सभापति देउवाका बीचमा टेलिफोन सम्वाद भएको थियो,’ कांग्रेसका एक नेताले भने, ‘प्रधानमन्त्रीको अझै पनि कुरा राष्टिय सहमतिको खोजीमै आफु लाग्ने भन्ने छ । त्यो भनेको राष्ट्रपतिमा तीन वटै दललाई मान्य हने ब्यक्ति बनाउनुपर्छ भन्ने आसय प्रधानमन्त्रीमा देखिन्छ ।’

त्यस्तो ब्यीक्त भनेको फेरि पनि सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठ, नेपाली सेनाका पूर्व प्रधानसेनापति छत्रमान गुरुङ, माइती नेपालका सस्थापक अनुराधा कोइराला सम्मका ब्यक्ति नै रहेको चर्चा जारी छ ।

यो राजनीतिक पटाक्षेप सभामुखको भोली हुने चुनाव र लगत्तैको उपसभामुखको चुनाव पछि देखा पर्ने विश्लेषण राजनीतिक जानकारहरु गर्छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार कांग्रेसले प्रस्ताव गरेकै ब्यक्ति राष्ट्रपति हुने बलियो विश्वास राख्दै थप बताउन नचाहानुले पर्दापछाडी केही खेलेमेलो भईरहेको प्रष्ट संकेत देखाउँछ ।

राष्ट्रपतिमा निर्णायक रहेको माओवादीले कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई मत देलान् भन्ने विश्वासिलो आधारका बारेमा भने थप केही शर्माले बुधबार बताउन त चाहेनन । तर, उनले यत्तिमात्रै भने, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आउँछ ।’

राष्ट्रपति निर्वाचन माघ २८ भित्र गरिसक्नुपर्ने छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ४ को उपदफा १ अनुसार आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारी ०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् । ‘

राष्ट्रिय सभाको लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको पद रिक्त भएपछि आयोगले माघ २५ मा उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । यो उपनिर्वाचनपछि मात्रै राष्ट्रपति निर्वाचन हुने आयोगले जनाएको छ । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० सदस्यको मतभारबाट राष्ट्रपति चुनिने प्रावधान छ । प्रतिनिधिसभामा २ सय ७५ मध्ये कांग्रेसका टेकराज गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । संघीय संसद् र प्रदेशसभाका ८ सय ८३ जनाको मतभार ५२ हजार ७ सय ७ हुन्छ ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र सातै प्रदेशसभाका सदस्य संख्याका आधारमा सबैभन्दा बढी मतभार कांग्रेसको छ । कांग्रेसका प्रतिनिधिसभामा ८९, राष्ट्रिय सभामा १० र प्रदेशसभामा १ सय ७५ सांसद छन् । सबैको मतभार १६ हजार २ सय २१ हुन्छ । दोस्रोमा एमालेका प्रतिनिधिसभामा ७९ ९एक स्वतन्त्रसहित०, राष्ट्रिय सभामा १६ र प्रदेशसभामा १ सय ६१ सांसद छन् । उनीहरू सबैको मतभार जोड्दा १५ हजार २ सय ३३ पुग्छ ।

माओवादीको प्रतिनिधिसभामा ३२, राष्ट्रिय सभामा १५ र प्रदेशसभामा ८४ ९नेपाल समाजवादीका १ सहित० सांसद छन् । माओवादीको तीनै सभाका सदस्यको कुल मतभार ७ हजार ७ सय ४५ छ । माओवादीको यो मत नै निर्णायक रहेकोले पनि माओवादीले के गर्ला भन्ने प्रश्नका बीचमा स्वतन्त्र ब्यक्तिकै चर्चा राष्ट्रपतिमा फेरि सुरु हुन थालेको हो ।

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया