सोमबार, वैशाख १७, २०८१

चीनको जनसंख्या घट्यो

मेरोन्यूज २०७९ माघ ३ गते २१:१९

काठमाडौँ । चीनमा दशकौँपछि पहिलेपटक जनसंख्या घट्दो क्रममा देखिएको छ । राष्ट्रिय तथ्यांक ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसंख्या कम पाइएको छ ।

यो संख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरूबाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसंख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो । यस्तै, ९० लाख ५६ हजार नवजात जनसंख्या रहेको थियो ।

योसँगै कूल जनसंख्या १.४१ अर्ब रहेको छ । कूल जनसंख्यामा पुरुषको संख्या ७२ करोड र महिलाको संख्या ६८ करोडको हाराहारीमा पुगेको छ ।

जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ । पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ । तर, त्यो नीति प्रभावकारी देखिएको छैन ।

जनसंख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वका रूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र बनेको छ । यद्यपि, भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।

हाल भारतको जनसंख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ ।

प्रतिक्रिया