बुधबार, जेठ २, २०८१

अफगानिस्तानमा दुई करोड ३७ लाखलाई मानवीय सहायता आवश्यक

मेरोन्यूज २०८१ वैशाख १७ गते १५:२७

सन् २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ ।

Advertisement

युनिसेफका अनुसार अफगानिस्तानमा बालबालिकाका लागि आवश्यक एक अर्ब ४० करोड डलर सहयोगको ३५ प्रतिशत मात्रै सुरक्षित गर्न सकिएको छ । युनिसेफले मार्चमा देशको मानवीय अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गरेको थियो ।

रिपोर्टले अफगानिस्तानमा बढ्दो गरिबीका लागि लामो समयदेखि चलिरहेको द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक मन्दी र बढ्दो बेरोजगारीलाई श्रेय दिएको खामा प्रेसले जनाएको छ ।

सन् २०२४ को सुरुदेखि अहिलेसम्म अफगानिस्तानमा १४ हजार पाँच सय ७० सन्दिग्ध मामिला र दादुराबाट ७१ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएकोछ ।

युनिसेफका अनुसार बिरामीहरूमध्ये ११ हजारभन्दा बढी पाँच वर्षमुनिका बालबालिका छन् भने छ हजारभन्दा बढी दादुराका बिरामी महिला छन् । युनिसेफले मानवीय साझेदारहरूलाई अफगानिस्तानमा महिलाहरूको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

‘सेभ द चिल्ड्रेन’ ले अफगानिस्तानमा बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरेको बेला संयुक्त राष्ट्रसङ्घको यस्तो प्रतिवेदन आएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनले पाकिस्तानबाट फर्केका दुई लाख ५० हजार अफगान बालबालिकाले खाना र आश्रयको अभावको सामना गर्नुपरेको जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले हरेक महिना ६० लाख मानिसलाई खाना र नगद वितरण गरिरहेको अप्रिल २७ मा बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिस खाद्य असुरक्षा सङ्कट र आपत्कालीन अवस्थाको मारमा छन् ।

अफगानिस्तानमा जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट मागेको छ ।

प्रतिक्रिया