मंगलबार, वैशाख २५, २०८१

माल्दिभ्समा आगलागीबाट ८ भारतीयसहित ११ जनाको मृत्यु

मेरोन्यूज २०७९ कार्तिक २४ गते १८:००

काठमाडौँ । माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement

भवनको भुइँ तलामा रहेको ग्यारेजमा आगलागी भएको थियो । भवनको पहिलो तल्लामा केही आप्रवासी कामदार रहेका थिए ।

प्रहरीका अनुसार ती कामदार बङ्गलादेश, भारत र श्रीलङ्काका नागरिक हुन् । भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ ।

फायर एन्ड रेस्क्यु सर्भिसका अनुसार घटनामा ११ जनाको मृत्यु भएको छ भने २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको छ । उनीहरूका अनुसार भवनबाट फेला परेका शवहरू अनुहार चिन्न नसकिने गरी जलेकाले मृतकको पहिचान गर्न गाह्रो भएको बताइएको छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन । अधिकारीका अनुसार मृत्यु भएका ११ जनामध्ये आठजना भारतीय, एक बङ्गलादेशी र दुई अन्य रहेका मालदिभ्सको आभास पत्रिकाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ । मृतकमध्ये दुई जनाको समाचार तयार पार्दासम्म पहिचान खुल्न सकेको छैन ।

मालदिभ्सको सञ्चार स्रोतका अनुसार मृतकमध्ये अधिकांश व्यक्ति उनीहरूकै कोठा र बाथरूममा फसेका थिए ।

प्रतिक्रिया