शुक्रबार, वैशाख २८, २०८१

संघीय निर्वाचन-२०७९

आगामी संसदमा कस्तो होला युवाको सहभागिता ?

२०४८ यता अहिलेसम्मको संसदमा कांग्रेसको तुलनामा कम्युनिष्ट पार्टीबाट युवाको प्रतिनिधित्व बढी देखिएको छ

शितल शर्मा २०७९ भदौ २६ गते २०:४५

काठमाडौं । २०७४ को संसदीय चुनावमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छे रोहितले उम्मेदवारी नै दिएनन् । आफैले २०४८ देखि लगातार पाचौं पटकसम्म चुनाव जितेको निर्वाचन क्षेत्र भक्तपुर १ उनले पार्टी नेता प्रेम सुवाललाई जिम्मा दिए । त्यसबेला विजुक्छेको उमेर ७६ वर्षको थियो । उनी अहिले ८२ वर्षका छन् ।

Advertisement

नयाँ सोच र प्रतिबद्धताका साथ मुलुक युवाले हाँक्नु पर्ने भन्दै त्यसवेला बिजुक्छेले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताएका थिए । ‘मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिनँ, नेमकिपाको अबको राजनीति युवापुस्ताले हाँक्छन्,’ बिजुक्छेले ५ वर्ष अगाडि नै भनेका थिए, ‘म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालेँ, संसदमा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहने छु ।’

बिजुक्छेले ७६ वर्षको उमेरमै युवा पुस्तालाई संसदमा अगाडी बढाउने निर्णय लिएपनि उनी भन्दा बुढा पुस्ताका नेताहरुले त्यो हिम्मत गर्न चाहेनन् । बृद्ध अवस्थामा पनि अन्य पार्टीका नेताहरुले सत्ताकै लोभमा सहज युवा पुस्तालाई अबको राजनीतिक नेतृत्व हस्तान्तरण गर्ने चाहेनन् ।

अझै पनि कतिपय बृद्द नेताहरु चुनाव लड्ने तयारीमै अहिले पनि सिफारिस भईरहेका छन् । लोकतानित्रक समाजवादी पार्टी (लोसपा)का ७९ वर्षीय अध्यक्ष महन्थ ठाकुर अहिले पनि बारा, सप्तरी, महोत्तरी लगायतका जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधीसभा सदस्यको चुनाव लड्ने गरी पार्टीबाट उम्मेदवार सिफारिस भईरहेका छन् ।

उनले अव म उठ्दिन अन्य नेतालाई सिफारिस गर्नुस् भनेर पार्टी नेताहरुलाई भनेका छैनन । एक्लै लोसपाको मतले चुनाव जित्ने स्थिती उनको पार्टीको अहिले छैन । तर पनि उनी को सँग गठबन्धन गर्दा चुनाव जित्न सकिन्छ भनेर अझै पनि चुनावी हिसावकितावमा लागेकै छन् ।

ठाकुर मात्रै होइन, ७६ वर्षिय प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवा, ७१ वर्षिय केपी ओली, ७३ वर्षिय झलनाथ खनाल, ७८ वर्षिय रामचन्द्र पौडेल, ७४ वर्षिय वामदेव गौतम लगायतका नेताहरु समेत फेरि पनि चुनाव लड्ने तयारीमै छन् । ६५ देखि माथीका पुष्पकमल दाहाल प्रचण्ड, डा बाबुराम भटटाराई, माधव नेपाल लगायतका नेताहरु पनि चुनावमा अर्काे युवा पुस्तालाइृ छोडने तयारीमा छैनन । बरु सकिन्छ फेरि चुनाव जित्ने र प्रधानमन्त्री नै बनेर मुलुकै हाँक्ने दाउमा प्रायः यी नेताहरु छन् ।

युवा पुस्ताका नेताहरुले संसदमा युवा प्रतिनिधित्व गराउन माग गरिरहेका बेला चुनावमा सत्ता पक्ष या प्रतिपक्षी गठबन्धन नै बनाएर यी बयोबृद्द नेताहरु जसरी हुन्छ चुनावी जित सुरक्षित गर्न कम्मर कसेरै जुटेका छन् । यस्तो बेला फेरि संसदमा युवा प्रतिनिधित्व कसरी बढाउने भन्नेमा केहीले बृद्ध नेताहरुलाई सम्मानसाथ विदाई गरौं, नयाँ पुस्तालाई संसदमा ल्याऔं, राष्ट्र हाक्ने जिम्मा युवालाई दिऔं भन्ने वहस पनि चलाएका छन् । तर राजनीतिक दलको विकल्प अहिले अन्य नभएको हुँदा दलले जे चाहयो त्यही नै हुने अवस्था विधमान छ ।

संघीय व्यवस्थापिका प्रतिनिधीसभामा गत २०७४ मा प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० गरी कुल २ सय ७५ मध्ये ३६ जना अर्थात् १३।०९ प्रतिशत युवा निर्वाचित भएका थिए । प्रदेशसभाअन्तर्गत प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकतर्फ २ सय २० जना गरी कुल ५ सय ५० जनामध्ये १ सय ३० जना अर्थात् २३।६३ प्रतिशत युवा निर्वाचित भए ।

राजनीतिक दलहरुले युवाहरुलाई टिकट दिए, युवाहरुले जित्ने र संसदमा प्रतिनिधीत्व जनाउने अवस्था रहन्थ्यो । तर टिकटमै वृद्ध नेताहरुले कब्जा जमाउँदा युवाहरुलाई बाटो छेक्ने काम भईरहेको छ ।

विश्वमा युवाको सहभागिता

युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कटमूलकी म्हाहारी ब्लयाक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् । न्युजिल्यान्डबाट लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमै पार्टी प्रमुख हुँदै २०१७ अगस्तमा न्युजिल्यान्डको तेस्रो महिला तथा उक्त देशको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन पुगिन ।

त्यस्तै, फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल म्याक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए । क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने । उनी अहिले दोस्रो कार्यकाल सम्हालिरहेका छन् । उनी अहिले संसारभर मानव अधिकार र सामाजिक सुरक्षाका विषयमा विश्वव्यापी चर्चामा छन् भने युवा नेतृत्व र लोककल्याणकारी राज्यको गतिलो उदाहरण दिएका छन् ।

फिनल्यान्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् । आफ्नो क्याबिनेटमा ३५ वर्षमुनिका पाँच जना मन्त्री पनि नियुक्त गरिन् । उनको टिमले निकै प्रभावकारी रूपमा काम पनि गरयो । बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन् । तर नेपालमा युवाहरुले संसद छिर्ने बाटोमै छेकबार लगिरहँदा र वयोवृद्ध नेताहरुले नै ठाँउ ओगटीरहँदा युवाहरु संसदमा पुग्न चाहेजतिको संख्यामा पाईरहेका छैनन ।

नेपालका यी हुन् कान्छो सांसद

नेपालमा कांग्रेसको तुलनामा कम्युनिष्ट पार्टीबाट युवा पुस्ताका नेताहरु संसदमा अलिक वढी संख्यामा पुगेको चुनावी इतिहास हेर्दा देखिन्छ । राजनीतिक परिवर्तन पछि परिवर्तनको नेतृत्व गरिरहेका पार्टीबाट युवाहरुको सहभागिता अलिक बढी नै देखिन्छ । जस्तोकी २०४८ तिरको संसदमा एमाले, १० वर्षे माओवादी जनयुद्दपछि माओवादीबाट अलिक बढी युवाहरुलाई संसद प्रवेशको ढोका खुलेको देखिन्छ ।

२०४८ मा एमालेका तर्फबाट निर्वाचित कुलप्रसाद फूयाँल सवैभन्दा कान्छो सांसद थिए । खोटाङ २ बाट निर्वाचित शर्मा फूयाँल त्यसवेला जम्मा २६ वर्षका मात्र थिए । उनी नै उक्त संसदका सवैभन्दा कान्छो सांसद थिए । त्यसपछि ०४८ मै बाजुर १ बाट निर्वाचित कांग्रेसका देवराज जोशी पनि कान्छो सांसद थिए । उनी त्यसवेला निर्वाचित हुँदा खोटाङका फूयाँल भन्दा १ बर्ष जेठा थिए । अर्थात कांग्रेसका जोशी २७ वर्षका थिए ।

एमालेकै मकवानपुर १ बाट निर्वाचित सांसद थिए कृष्णप्रसाद दाहाल, उनी पनि कान्छो सांसदमै पर्थे त्यसवेला । उनी २०४८ मा सांसद हुँदा २८ वर्षका थिए । उनी अहिले पनि सांसद छन् । एमालेकै ललितपुर १ बाट निर्वाचित मिठाराम शर्मा बजगाई त्यसवेला २८ वर्षमा सांसद भएका थिए ।

पाँचथर २ बाट एमालेका डम्बरसिंह सम्वाहाम्फे २८ वर्ष, अहिले माओवादीमा रहेका टंक राई खोटाङ बाट २९ वर्ष हुँदा त्यसवेला एमालेबाट निर्वाचित सांसद भएका थिए । त्यसवेला संसदमा सवैभन्दा बृद्ध सांसदका रुपमा कांग्रेसका खलिलमियाँ थिए । सुनसरी ४ बाट निर्वाचित उनी ७४ वर्षको उमेरमा सांसद भएका थिए ।

त्यसपछि महेन्द्रनारायण निधि (अहिलेका कांग्रेस नेता विमलेन्द्र निधिका बाबु) धनुषा ४ वाट ७१ वर्षको उमेरमा निर्वाचित भएका थिए । नबलपरासी १ बाट कांग्रेसकै ६९ वर्षका सूर्यभक्त अधिकारी निर्वाचित भएका थिए । यस हिसावले हेर्दा एमालेले युवा र कांग्रेसले वृद्ध नेताहरुलाई त्यसवेला टिकट दिने र निर्वाचित गर्ने काम गरेको देखिन्छ ।

२०५१ सालमा पनि एमालेकै तर्फबाट संसदमा युवा सांसदहरुको वढी प्रतिनिधित्व देखिन्थ्यो । त्यो संसदमा एमालेका गंगाप्रसाद चौधरी, निलवहादुर तिलिजा, चक्रवहादुर डंगोरा, कांग्रेसका हेमराज दाहाल, एमालेकै सुरेन्द्र कमुार फोन्वो, महेन्द्र थापा, रामनाथ ढकाल, पुरुषोत्तम पौडेल लगायतका नेताहरु संसदका कान्छा सांसदमा चिनिन्थे ।

सप्तरी ५ बाट निर्वाचित गंगाप्रसाद चौधरी, म्याग्दीबाट निर्वाचित निलवहादुर तिलिजा, कैलाली ३ बाट निर्वाचित चक्रवहादुर डंगोरा चौधरी, सिन्धुली २ बाट निर्वाचित हेमराज दाहाल त्यसवेला २७ वर्षको उमेरमा संसद छिर्न पाएका थिए । त्यस्तै, तेहथुमबाट निर्वाचित सुरेन्द्रकुमार फोन्वो, स्याङजा ३ बाट निर्वाचित महेन्द्र थापा २८ वर्षको उमेरमा सांसद भएका थिए । गुल्मी १ बाट निर्वाचित रामनाथ ढकाल, बारा ३ बाट निर्वाचित पुरुषोत्तम पौडेल २९ वर्षको उमेरमा सांसद निर्वाचित भएका थिए ।

०५१ सालको संसदमा कांग्रेसका बलवहादुर राई र एमालेका मनमोहन अधिकारी सवैभन्दा जेष्ट सदस्यका रुपमा संसदमा छिरेका थिए । दुवै नेता त्यसवेला ७२ वर्ष उमेरका थिए । राई ओखलढुंगा २ र अधिकारी काठमाडौं १ र ३ बाटा निर्वाचित भएका थिए । २०५६ मा भने प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका शेरधन राई सवैभन्दा कान्छो सांसद थिए । उनी त्यसवेला जम्मा २८ वर्षका थिए । भोजपुर २ बाट राई एमालेबाट निर्वाचित सांसद थिए ।

उनी जस्तै कपिलबस्तु २ बाट त्यसवेला बृजेशकुमार गुप्ता पनि कान्छो सांसदको रुपमा २८ वर्षकै उमेरमा राप्रपाबाट निर्वाचित भएर संसद प्रवेश गरेका थिए । गुप्ता यो वीचमा अनेक पार्टी चाहारेर गत चुनावमा एमालेको सूर्य चिन्हमा हदेयश त्रिपाठी समुहबाट चुनाव लडेर संसदमा प्रवेश गरेका थिए । तर अहिले उनी एमालेमै प्रवेश गरिसकेका छन् ।

उक्त संसदमा कांग्रेसका त्यसवेला सभापति समेत रहेका गिरिजाप्रसाद कोइराला सवैभन्दा बृद्ध उमेरका सांसद थिए । कोइरालाको त्यसवेला उमेर ७५ वर्ष थियो । त्यसपछि कांग्रेसकै कृष्णप्रसाद भटटराई ७४ वर्षमा संसद छिरेका थिए । भटटराई पर्सा १ बाट र कोइराला मोरङ १ र सुनसरी ५ बाट निर्वाचित भएर संसदमा प्रवेश गरेका थिए ।

त्यसपछि २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा भने सवैभन्दा कान्छो उमेर समुहका नेतालाई टिकट दिने र जिताएर संसदमा लैजानेमा कांग्रेस, एमालेको तुलनामा माओवादी केन्द्र र तत्कालिन समयमा रहेको मधेसी जनअधिकार फोरम नेपाल देखा पर्यो ।

२०६४ को संविधानसभामा उपेन्द्र यादवको तत्कालिन पार्टी मधेसी जनअधिकार फोरमका अभिषेक प्रताप साह सवैभन्दा कान्छो उमेरका सांसद बने । उनी त्यसवेला २५ वर्षका मात्र थिए । उनी कपिलवस्तु ५ बाट निर्वाचित भएका थिए ।

त्यसपछि माओवादीका टेकेन्द्रप्रसाद भटट, पुरन राना थारु , दुर्गाकुमारी विक २६ वर्षका उमेरमा सांसद भएका थिए । उनीहरु सवै निर्वाचित सांसद थिए । त्यस्तै ओमप्रकाश यादव २७ वर्ष, मोहम्मद इस्तियाक राई २८ वर्ष, इन्द्रजीत थारु २८ वर्ष, कुमारी मोक्तान २८ वर्ष, विमला सुवेदी २८ वर्ष, समिता कार्की २८ वर्ष, मणि खम्बु किराँती २८ वर्ष, देवी खड्का २८ वर्ष, सुदन किराँती राइृ २९ वर्षमा सांसद बनेका थिए । यी मध्ये इस्तियाक राई तत्कालिन फोरमबाट निर्वाचित भएको भएपनि अन्य सवै माओवादीबाट निर्वाचित भएर सांसद बनेका थिए ।

त्यसवेला कांग्रेसका आमोद प्रसाद उपाध्याय ७२ वर्षका उमेरमा सांसद बनेका थिए । ०७० सालको दोस्रो संविधानसभामा पनि फोरमकै अभिषेक प्रताप साह नै सवैभन्दा कान्छा सांसद थिए । उनी ३१ वर्षको उमेरमा फेरि दोहोराउर निर्वाचित भई सांसद बनेका थिए । त्यसपछि माओवादी केन्द्रका गौरीशंकर चौधरी ३२ वर्षको उमेरमा सांसद बनेका थिए । चौधरी अहिले एमालेमा प्रवेश गरिसकेका छन् ।

उक्त संसदमा (संविधानसभामा) महेन्द्र राय यादव उमेरले ७६ वर्ष (नागरिकताका आधारमा), नेमकिपाका नारायणमान विजुक्छे ७३ वर्ष र कांग्रेसका सभापति समेत रहेका सुशिल कोइराला ७४ वर्षको उमेरमा सांसद निर्वाचित भएका थिए ।

०७४ सालमा भने एमालेकी सांसद पार्वती कुमारी विसुन्के सवैभन्दा कान्छी सांसदको रुपमा रहेको संसद सचिवालयले जनाएको छ । उनी ३१ वर्षको उमेरमा सांसद बनेकी थिइन् ।

उमेरका आधारमा हेर्दा अहिलेको सांसदमा नागरिकतालाई आधार मान्दा अहिले नेपाल समाजवादी पार्टी अध्यक्ष रहेका महिन्द्र राय यादव र उमेरका हिसावले लोसपाका अध्यक्ष महन्थ ठाकुर सवैभन्दा जेष्ठ सदस्यका रुपमा छन् ।

अब कति आउँलान् युवा ?

राजनीतिक दलका युवाहरुले संसदमा युवा प्रतिनिधित्व बढाउन टिकट वितरणमा युवाहरुलाई प्राथमिकता दिन आग्रह गरिरहेका छन् । तर दलहरुले अहिले गरिरहेको उम्मेदवारी सिफारिसमा पूरानै अनुहारलाई प्राथमिकतामा पारिरहेका छन् । जसले गर्दा दलहरुले कति युवाहरुलाई सहभागिता गराउलान् ? कति युवालाई टिकट देलान् ? यो भने आम चासोको विषय छ ।

वैकल्पिक शक्तिका रुपमा देखा पर्न खोजेका स्वतन्त्र उम्मेदवारहरुमा अधिकाशं युवाहरु देखा परेका छन् । तर उनीहरुले चुनाव जित्न कति सक्लान् ? त्यो भने मतदान पछि नै थाहा लाग्ने देखिन्छ । तर दलहरुमा युवा प्रतिनिधित्व गराउनुपर्ने दवाव भने बढदो छ । हेरौं, दलहरुले आगामी संसदमा कति युवा प्रतिनिधित्व गराउन भूमिका खेल्लान् ?

दलहरुको अहिले भईरहेको उम्मेदवार सिफारिसमा पनि कांग्रेसको तुलनामा कम्युनिष्ट पार्टीका तर्फबाट युवाहरुको सिफारिस बढी देखिएका छन् । तर त्यसरी गरिएका सिफारिस अनुसार कतिले चुनावमा टिकट पाउलान् ? टिकट पाएका मध्येवाट पनि कतिले चुनाव जित्लान् ? त्यो भने मंसिर ४ को प्रतिक्षा नै गर्नुपर्ने हुन्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया