शुक्रबार, वैशाख २८, २०८१

एमाले बैठकमा घनश्याम भूसालको प्रस्ताव : वाम मोर्चा बनाऔं, प्रत्यक्षतर्फका १६५ मा १५० सिट जित्न सक्छौं (पूर्णपाठ)

मेरोन्यूज २०७९ भदौ ९ गते १३:५८

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले आग्रह पूर्वाग्रह नराखी वाम कम्युनिष्ट पार्टीहरुको मोर्चाब नाएर आगामी निर्वाचनमा भाग लिनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । उनले भदौं ७ गतेको पार्टी स्थायी समिति बैठकमा लिखित रुपमा नै त्यस्तो प्रस्ताव राखेका हुन् । तर उनको प्रस्तावलाई वाहिर नलगी पोलिटब्यूरो र केन्द्रीय समिति बैठकमा छलफल गर्न सक्ने बताइएपनि पोलिटब्यूरो बैठक जारी रहँदा उनको प्रस्ताव सार्वजनिक भएको छ ।

Advertisement

मेरोन्यूजले प्राप्त गरेको भूसालको ४ पृष्ठको त्यस्तो लिखित प्रस्तावमा स्थानीय तहमा पनि अहिले कम्युनिष्ट पार्टीहरुले ल्याएको सिट संख्या जोड्दा ३४७ पालिका हुने र करिव १५० स्थानयि तह कम्युनिष्ट विभाजनका कारण गुमेको सन्दर्भ उल्लेख गदै अहिले पनि चुनावमा वाम मोर्चा बनाएर जान सकिएमा कम्युनिष्टहरुको प्रतिनिधीसभाको १६५ मध्ये १५० सिट जित्न सकिने दावी गरिएको छ ।

अध्यक्ष ओलीलाई सम्वोधन गरेर उनले पार्टीको स्थायी समिति बैठकमा त्यस्तो प्रस्ताव राखेका थिए ।

‘मैले निर्वाचन अगाडि नै कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिँदा करिब ६०० नगर-गाउँ पालिकाहरुमा जितिन्छ भन्ने आकलनका साथ वाममोर्चाको प्रस्ताव गरेको थिएँ । गत स्थानीय तहको निर्वाचन परिणामले त्यसलाई पुष्टि गरेको छ । अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारणले गुमेका छन् । त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो’ भूसालले आफनो प्रस्तावमा भनेका छन्,–‘फेरि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाई भन्दा बढि हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ ।’

भूसालले कम्युनिष्ट पार्टी विभाजित हुने र नेपाली काङ्ग्रेसले नेकपा एमालेका विरुद्ध कम्युनिष्ट पार्टीहरुलाई नै प्रयोग गर्ने अवस्था देखिँदै गएको भन्दैं त्यसो भएमा आगामी निर्वाचनमा मात्रै होइन कम्युनिष्ट पार्टी र आन्दोलनलाई धेरै पछिसम्म असर गर्ने बताएका छन् । यसलाई कुनै बहानावाजीले ढाकछोप गर्न नसकिने भन्दै भूसालले त्यसलाई उल्ट्याउने र राष्ट्रिय राजनीतिमा वाम वर्चस्व पुनस्र्थापना गर्ने काम हाम्रालागि सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् । ‘यो काम नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव हुने हुँदा हामीले नै त्यसको पहलकदमी गर्नु पर्छ,’ भूसालले भनेका छन् ।

चुनावमा फेरि वाम मोर्चा या एकताको कुरा गर्दा जनताले प्रश्न गर्न सक्ने तिर पनि सचेत रहँदै जनतालाई त्यसको विषयमा जानकारी गराएर जानुपर्ने प्रस्ताव पनि भूसालले बताएका छन् । ‘फेरि वाम मोर्चा वा एकताको पहल गर्दा यसभन्दा पहिलेको एकता किन टिक्न सकेन भन्ने कुरा हामीले दुनियाँलाई बताउनु पर्छ । आरोप प्रत्यारोपका लागि अनेकौँ मुद्दा छन् तर त्यस एकताको प्रक्रियामा गम्भीर त्रुटी थियो । जतिसुकै जिम्मेवार भए पनि व्यक्तिलाई केन्द्रमा राखेर गरिने अभियान दिगो र फलदायी हुँदैनन्,’ भूसालले आफनो प्रस्तावमा अगाडी भनेका छन्,–‘त्यस एकता प्रक्रिया मूलतः दुई जनालाई जिम्मा लगाएर वा दुई जनाले जिम्मा लिएबाटै विभाजनको बीउ रोपिएको थियो । त्यस कमजोरीले अरु घटनाहरुलाई जन्मायो । हामीले त्यसबाट शिक्षा लिनु पर्छ ।’

भूसालले यस्तो प्रस्ताव स्थानिय तहको निर्वाचन अगाडी देखि उठाँउदैं आएका छन् । तर एमालेभित्रै अध्यक्ष ओली भूसालको प्रस्तावमा सकारात्मक देखिदैनन । वाम कम्युनिष्ट पार्टीमध्येमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्टिय जनमोर्चा कांग्रेससँगको गठबन्धनमा छन् ।

हेर्नुहोस भूसालको प्रस्तावको पूर्णपाठ

प्रतिक्रिया