शुक्रबार, वैशाख २८, २०८१

एकीकृत समाजवादीको एक वर्ष : सांगठनिक शक्ति कति ?

नेता- कार्यकर्ता टिकाउनै चुनौति, अनिश्चित भविश्यबाट बच्न साहाराको खोजी

शितल शर्मा २०७९ भदौ ९ गते ८:२७

काठमाडौं । नेकपा एमालेबाट छुटिटएर बनेको नेकपा (एकीकृत समाजवादी) गठन भएको एक वर्ष पुगेको छ । निर्वाचन आयोगबाट ९ भदौ ०७८ मा पार्टी दर्ताको प्रमाणपत्र लिएको एकीकृत समाजवादीले बिहीबार (आज) ‘पार्टी पुनर्गठन दिवस’ मनाउँदै छ ।

Advertisement

देशभर आ आफ्नो सापेक्षतामा र केन्द्रीय रुपमा बानेश्वरको एक ब्याङकेटमा कार्यक्रम आयोजना गरेर उसले पार्टी पूर्नगठन दिवस मनाउन लागेको हो । पार्टी गठनको एक वर्षलाई लिएर अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले काठमाडौंको कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।

तर यो एक वर्षको अवधीमा एकीकृत समाजवादी निक्कै उथलपुथल आरोह अवरोहका साथ संर्घषरत छ । पार्टी गठनको सुरुआती चरणमै नेकपा एमालेमा रहँदा माधव नेपाल र झलनाथ खनाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल , योगेश भटटराई, गोकर्ण विष्ट, अष्टलष्मी शाक्य लगायतका नेताहरुले एमालेसँग विद्रोह गरेनन । अर्थात, माधव नेपाल र झलनाथ खनालको पार्टीलाई साथ दिएनन ।

जति एमालेबाट विभाजित शक्ति लिएर नेपाल खनालले पार्टी गठन गरे, त्यसपछि पनि यो एक वर्षका वीचमा पार्टी नेता कार्यकर्ता टिकाईराख्नै एकीकृत समाजवादीलाई निक्कै हम्मे हम्मे परिनै रह्यो । एमालेले नेपाल र खनाल वाहेक एकीकृत समाजवादीमा समाहित भएका नेता कार्यकर्तालाई निरन्तर मूलघरमै तान्ने कोसिस जारी राखिरह्यो । जसकाकारण पनि एकीकृत समाजवादीलाई नेता कार्यकर्ता टिकाउनै मुश्किल परयो ।

त्यसमाथी पार्टीलाई यथास्थितीमा राखिराख्दा कमजोर शक्तिका कारण झन थप संकट निम्तने देखेपछि अहिले माओवादी केन्द्र सँग एकताको कोसिसमा छ । जसले एकीकृत समाजवादीको अस्तित्व पार्टी गठनको एक वर्षमै सकिएको छ । पार्टी जीवनलाई तल्लो तहसम्म पुरयाउन नपाउँदैं अध्यक्ष माधव नेपालले वाम धुव्रिकरणका नाममा माओवादी केन्द्रसँग पार्टी एकताको छलफल चलाएका छन् ।

पार्टी गठनको एक वर्ष नपुग्दै सुरु भएको यो कसरथले अध्यक्ष नेपाल र सम्मानित नेता खनाल लगायतका नेताहरुको कमजोर मानसिकता र शक्ति हत्याउने हुटहुटीका रुपमा राजनीतिक वृत्तमा अथ्र्याउन थालिएको छ ।

एमालेबाट छुटिटएर अलग दल बनाउँदा यो पार्टीले एमाले अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी गरेको र वैचारिक मान्यतामा विचलित भएको आरोप लगाएको थियो । त्यसपछि माधव नेपाल र झलनाथ खनाल, मुकुन्द न्यौपाने लगायतका नेताहरुले नयाँ दल निर्माण गरेका थिए । तर एक वर्ष नपुग्दै माओवादी केन्द्रसँग जोडिन यो पार्टीले कसरथ थालेको छ । स्थानीय तहमा कमजोर जनमत र पार्टीको अनिश्चित भविश्यको आंकलन त्यसको एउटा कारण रहेको राजनीतिक विश्लेषकहरु टिप्पणी गर्छन् ।

माओवादी केन्द्रसँग अहिले एकीकृत समाजवादीको आसन्न निर्वाचनमा एउटै घोषणापत्र र त्यसलगत्तै पार्टी एकता गर्ने गरी समझदारी बनेको छ । तत्कालै पार्टी एकता संयोजन समिति बनाउने र चुनावी घोषणा बनाउन कार्यादल बनाउने सहमति माओवादी र एकीकृत समाजवादीवीच भईसकेको छ ।

पार्टीभित्र सरकारमा रहने नेताहरुलाई आलोपालो पुरयाउन गरिएको भागवन्डा, सरकार छोडनुपर्दा सरकारमा गएका मन्त्रीहरुको रुवाबासी र नयाँ मन्त्री बन्न जानेहरुको पूरानामाथीको वक्रदृष्टि आदीले अहिले एकीकृत समाजवादीका नेताहरुका बीचमै सम्वन्ध समधुर छैन ।

त्यसमाथी माओवादीसँग एकता गर्ने या एमालेमै फर्किने र वाम धुव्रिकरणको प्रयास गर्ने भन्नेमै पार्टीभित्र दुई धार देखा परेको छ । यसले पनि पार्टी गठनको एक वर्षमा नै एकीकृत समाजवादी धरर्मराउन पुगेको छ । तर एकीकृत समाजवादीका नेताहरु भने समान विचार, समान कार्यादिशा र विगतमा नेकपा हुँदा एक भईसकेको र परिस्थितीले अलग हुनुपरेकोले माओवादीसँग एकताको प्रयास थालिएको बताउँछन् । तर पार्टीको शक्ति कमजोर नभएको उक्त पार्टीका नेताहरु बताउँछन् ।

पार्टी पूर्नगठनको एक वर्षमै सून्यवाट थालिएको संगठन निर्माण प्रक्रिया अहिले गाँउ तहसम्मै पुगेको जिकिर एकीकृत समाजवादीका नेताहरु गर्छन् ।

सांगठनिक शक्ति कति छ ?
एकीकृत समाजवादीले यो एक वर्षका वीचमा ५ लाख पार्टी सदस्यता वितरण गरेको र जसमध्ये दुई लाख मानिस कुनै न कुनै पार्टी कमिटिमा संगठित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा बताउँछन् । ‘करिब पाँच लाख पार्टी सदस्यता वितरण भइसकेको छ । दुई लाखभन्दा बढी व्यक्ति पार्टीका विभिन्न कमिटीमा संगठित छन् । पाँच हजारभन्दा बढी वडामा कमिटी छन् । केन्द्र, प्रदेश र स्थानीय तहसहित उपत्यका विशेष प्रदेश र गैरभौगोलिक जिल्ला कमिटी, सम्पर्क विशेष प्रदेश र प्रवासमा समेत संगठन विस्तार भएको छ’ खतिवडाले भने ।

एकीकृत समाजवादीको केन्द्रीय संरचनामा एक हजार पाँच सय ३६ नेता संगठित छन् । केन्द्रीय कमिटी सदस्य तीन सय ६८, केन्द्रीय आयोगका सदस्य एक सय सात, केन्द्रीय सल्लाहकार परिषद् सदस्य एक सय ५७, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च ३८, केन्द्रीय परिषद् सदस्य एक सय १३ र केन्द्रीय विभागमा सात सय ५५ सदस्य छन् ।


प्रदेश कमिटीमा एक हजार पाँच सय ६६ जना नेता संगठित छन् । प्रदेश १ मा दुई सय ४४, मधेसमा एक सय ६८, बागमतीमा दुई सय १७, गण्डकीमा एक सय ३९, लुम्बिनीमा एक सय ६५, कर्णालीमा एक सय ७०, सुदूरपश्चिममा एक सय ७३, उपत्यका विशेषमा ८२, सम्पर्कमा ६४, भारत प्रवासमा एक सय एक र प्रवासमा ४३ जना संगठित छन् ।

जिल्ला कमिटीमा १४ हजार ६ सय ३९, पालिका कमिटीमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ गरी स्थानीय कमिटीमा एक लाख १९ हजार चार सय १३ जना नेता कार्यकर्ता पार्टी कमिटिमा संगठित भएको एकीकृत समाजवादीले जनाएको छ ।

यसका साथै उपत्यका विशेष प्रदेश कमिटी र त्यसअन्तर्गत पाँचवटा जिल्ला कमिटी, १९ इलाका कमिटी र २९ शाखा कमिटी छन् । सम्पर्क विशेष प्रदेश कमिटी र त्यसअन्तर्गत सात प्रदेशमा प्रदेश सम्पर्क कमिटी तथा ६६ जिल्लामा जिल्ला सम्पर्क मञ्च गठन भएका छन् । भारत प्रवासका विभिन्न राज्यमा र भारतबाहेक अन्य प्रवासका २५ मुलुकमा प्रवासी नेपाली एकता मञ्च गठन भएका छन् । ती कमिटीमा पाँच हजार एक सय ८४ जना संगठित भएको एकीकृत समाजवादीका उपमहासचिव डा गंगालाल तुलाधरले बताए ।

जनवर्गीय संगठनहरू अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, एकीकृत ट्रेड युनियन महासंघ, युवा संघ नेपाल, अनेरास्ववियु, पेसागत महासंघ र त्यसअन्तर्गतका घटक १२ संगठन, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ र त्यसअन्तर्गतका घटक संगठन, खेलकुद महासंघ, जनसांस्कृतिक महासंघ, आदिवासी जनजाति महासंघ, समाजवादी प्रेस संगठन र नेपाल दलित मुक्ति संगठनका केन्द्रीय, प्रदेश र जिल्ला कमिटी गठन भएको एकीकृत समाजवादीको तथ्यांकमा छ ।

जनप्रतिनिधी कति ?
अुन त संघ र प्रदेशको चुनावको मिति घोषणा भएको छ । आगामी मंसिर ४ मा चुनावको मिति तय भएर दलहरु चुनावको आन्तरिक तयारीमा छन् । तर पनि अहिले जनप्रतिनिधीका रुपमा नेकपा एकीकृत समाजवादीको संघीय संसदमा ३२ र प्रदेश सभामा ५४ सांसद छन् ।


प्रतिनिधिसभामा २३ सांसद छन् । राष्ट्रिय सभामा स्वतन्त्र एकसहित नौ सांसद छन् । प्रदेश सभामा एकीकृत समाजवादीका ५४ सांसद छन् । सुदूरपश्चिममा प्रदेश सभाकै ठूलो दल एकीकृत समाजवादी छ भने मधेस प्रदेशमा एमालेभन्दा समाजवादी ठूलो छ । गण्डकी प्रदेश सभामा एकीकृत समाजवादीका सांसद संख्या शून्य छ । समाजवादीका प्रदेश १ मा १०, मधेसमा १३, बागमतीमा १३, लुम्बिनीमा एक, कर्णालीमा तीन र सुदूरपश्चिममा १४ सांसद छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एकीकृत समाजवादीबाट महानगरपालिका प्रमुख एक, उपमहानगरपालिका प्रमुख एक, नगरपालिका प्रमुख १०, गाउँपालिका अध्यक्ष आठ, नगरपालिका उपप्रमुख ११, गाउँपालिका उपाध्यक्ष १२, वडाध्यक्ष एक सय ९०, महिला सदस्य एक सय ८४, दलित महिला सदस्य एक सय ८० र खुला सदस्य तीन सय ८९ गरी जम्मा नौ सय ८६ जनप्रतिनिधी निर्वाचित छन् । जिल्ला समन्वय समितिमा प्रमुख पाँच, उपप्रमुखमा आठ र सदस्यमा २८ जना निर्वाचित भएका छन् ।

संघ देखि प्रदेश सरकारामा कति ?


एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार विस्थापन गर्नका लागि एकीकृत समाजवादी निर्णायक बन्न पुगेको थियो । त्यसपछि कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी छ । उसले यो एक वर्षको वीचमा पार्टीका नेताहरुलाई पालो लगाएर आलोपालो मन्त्री पनि बनाएको छ ।

संघीय सरकारमा एकीकृत समाजवादीका पाँच मन्त्री र एक राज्यमन्त्री छन् । कानुनमन्त्री गोविन्द बन्दी एकीकृत समाजवादीका अध्यक्ष नेपालको प्रस्तावमा मन्त्री बनेका हुन् । बन्दीसहित समाजवादीबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, श्रममन्त्री शेरबहादुर कुँवर, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी छन् ।

प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ६ प्रदेश सरकारमा एकीकृत समाजवादीको प्रतिनिधित्व छ । प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री छन् । गण्डकीमा प्रदेश सांसद नभएकाले समाजवादीबाट सरकारमा प्रतिनिधित्व छैन । लुम्बिनीमा एकीकृत समाजवादीकी एक्ली सांसद पाल्पाकी रमा घर्ती कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छिन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया