शुक्रबार, वैशाख २८, २०८१

केपी ओलीले बाटो छेक्दा खनाललाई राष्ट्रपतिको चिठ्ठा !

मेरोन्यूज २०७९ भदौ ५ गते १७:१६

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनभित्र संघीय संसद्को निर्वाचनपछि राष्ट्रपतिदेखि सभामुखसम्मका तहगत पद बाँडफाँट गरेर जानु पर्ने प्रस्ताव अघि बढिरहँदा नेकपा एमालेले पार्टी प्रवेशको कार्यक्रम चलाइरहेको छ । यस क्रममा एमालेले पूर्वपार्टी अध्यक्ष झलनाथ खनाललाई वेवास्था गर्दा उनको पुरानो पार्टीमा फर्किने इच्छा र चाहाना पूरा हुन सकेन ।

Advertisement

केही दिनअघि नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता खनालले संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुखलगायतका पद अहिले नै बाँडफाँट गरेर जानु पर्ने प्रस्ताव अघि सारेका थिए ।

त्यसअघि एमालेका नेताहरूसँग निरन्तर संवादमा रहेका नेता खनालले एमालेबाटै राष्ट्रपति बन्ने प्रस्ताव गरेका थिए । तर, ओलीले खनालको हैसियत र खनालसँग पार्टीमा आउने नेता कार्यकर्ताको हैसियत सोधेपछि खनाल एमालेतिर जाने बाटो रोकेर साउन २५ मा प्रधानमन्त्री निवास बालुवाटारमा आफै पुगे । यस क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रपतिसम्मको पद बाँडफाँट गरेर जानु पर्ने बताए ।

नेता खनालले प्रधानमन्त्रीसमक्ष ०७४ सालको निर्वाचन र गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत र परिणामका आधारमा सिट बाँडफाँट गरी अघि बढ्नु पर्ने प्रस्ताव गरेका थिए । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिट वितरण प्रमुख विषय हो, तर त्यसपछि हुने सरकार गठन, राष्ट्रपति निर्वाचन, सभामुख चयनजस्ता प्रमुख विषयलाई अहिले नै टुंग्याएर जानुपर्छ’, खनाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

माओवादी केन्द्रले यस्तो प्रस्ताव राख्नुअगावै खनालले प्रधानमन्त्रीलाई भेटेर प्रस्ताव गरेका हुन् । ‘एमालेतिर मोडिने बाटो टुंग्गिएपछि खनालले बालुवाटारको बाटो तय गरे’, नेकपा एसका एक नेताले भने ।

स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र मिलेर नेकपा एसलाई अपेक्षित सहयोग नगरेको बताउँदै आएका नेता खनालले स्पष्ट रूपमा निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनु पर्ने र त्यसमा निर्वाचनपछिका प्रमुख पद पनि बाँडफाँट हुनु पर्ने प्रस्ताव गरे ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपति र सभामुख ताकेर सरकार नेतृत्व आधा-आधा कार्यकाल गर्नु पर्ने भन्दै प्रधानमन्त्रीमा बार्गेनिङ गरिरहेको अवस्थामा खनालले राखेको प्रस्तावबाट नेकपा एसले पनि राष्ट्रपतिको दाबी गर्न खोजेको देखिन्छ । खनाल स्वयं यसअघि राष्ट्रपतिको आकांक्षी थिए ।

सत्ता गठबन्धन दलले निर्वाचनमा सिट बाँडफाँटको ढाँचा तय गर्न ११ सदस्यीय कार्यदल बनाएकाे छ । जसमा कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला संयोजक छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, नेकपा एसबाट प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र हिमलाल पुरी सदस्य छन् ।

उता नेता खनालले प्रधानमन्त्रीलाई भेट्नुअघि एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञावाली, सचिव गोकर्ण विष्टले खनालसँग निरन्तर संवाद गरेका थिए । उनीहरूले पार्टीमा आए सबै हिसाबले सम्मान गर्न सकिने बताउँदै ओलीलाई सम्झाउने समेत बताइसकेका थिए । तर, ओलीले खनाललाई राष्ट्रपति बनाउन नसकिने बताएपछि साउन १८-२० मा एमालेतिरको बाटो टुंगिएको ती नेताले दाबी गरे ।

‘जब एमाले नेताहरूसँगको भेटघाट सकियो, त्यसपछि नेकपा एसका सम्मानित नेता खनालले प्रधानमन्त्री देउवासँग सबै विषय प्याकेजमा टुंग्याउने गरी मापदण्ड बनाएर चाँडोभन्दा चाँडो सिट बाँडफाँट गर्नु पर्ने बताएका थिए’, स्रोतले भन्यो । एमाले नेताहरूसँग कुराकानी चलिरहँदा खनालले एमालेलाई गाली नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन नै दिएका थिए । तर, एमालेका अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेपछि भने उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतका नेताहरूले खनालाई भेट्न छाडेका थिए ।

‘खनालाई राष्ट्रपति बनाउनु पर्छ भनेर प्रदीप ज्ञावाली सन्देश लिएर जानु भएको थियो, तर ओलीले खनालको हैसियत सोधेपछि कुरा त्यहीबाट बिग्रियो’, एक एमाले नेताले भने । खनालसँगै एस पार्टीका केही जिम्मेवार नेताहरू पनि एमालेसँग लचिलो बन्दै आएपछि एस पार्टीका अध्यक्ष माधव नेपाल अफ्ठारोमा परेका थिए । तर, अहिले खनालका पक्षमा बालुवाटार पनि सकारात्मक बन्दै गएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया