शुक्रबार, वैशाख २८, २०८१

माओवादी बैठकका अन्तरकथा

माओवादी बैठकमा वामदेवको अस्थिर स्वभावमा जब प्रश्न उठ्यो …

‘लिडरसिप र सिट संख्यामा तलमाथि नहुने हो भने ठिक छ, नत्र सहकार्य ठिक हुन्न’

रामकृष्ण अधिकारी २०७९ भदौ १ गते १५:४५

काठमाडौं, तत्कालीन नेकपा कालमा कसैको व्यक्तिगत महत्वाकांक्षा व्यवस्थापनमा नेताहरूले अधिक समय खचिर्नु परेको थियो भने, ती नेता हुन् बामदेव गौतम । एकताको आधाउधी समय उनकै व्यवस्थापनमा नेताहरूले समय खर्च गरे । तत्कालीन पार्टीका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’)बीचमा बढेको अन्तर विरोधमा उनी तानातानमा परे ।

Advertisement

ओलीले गौतमलाई राम्रो पदको आश्वासन देखाउँदा प्रचण्ड थप राम्रो पद दिने आश्वासन दिएर आफूतिर तान्ने बल गर्थे । प्रचण्डले केही पद अफर गरे, ओली त्यसमाथिको अर्को पदको पगरी गौतमको काँधमा गुथाइदिन्थे । उनी मोहोरा बनेका थिए, नेकपाभित्र ।

जसका कारण बामदेवका लागि पार्टीको विधान नै संशोधन गरेर उपाध्यक्ष बनाउनेदेखि संगठन विभाग प्रमुखसमेत बनाइएका थिए । बलियो वाम गठबन्धनमा समेत निर्वाचन हारेर पटक-पटक प्रतिनिधिसभामा ‘झस्केला’बाट छिर्ने उनको प्रयासमा कहिले ओली त कहिले प्रचण्ड सहयोगी बनिदिए ।

अन्ततः उनी नेताहरूका निक्कै रस्साकस्सीका बीच राष्ट्रियसभा सदस्य बने । उनको व्यवस्थापन यतिमा मात्रै सिमित भएन । प्रधानमन्त्री बनेर छाड्ने महत्वाकांक्षा र हुटहुटीले उनका लागि राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य गर्नसमेत नेकपाले तयारी गर्यो ।

तर, भलै बामदेवका लागि गरिएका यी अनेक हर्कत सफल हुन पाएनन् । अन्ततः उनकै व्यवस्थापन र उनी आफैंले आफ्नो नाफाघाटा हेर्दै देखाइरहेको द्वैध चरित्रलेले नेकपा विभाजित हुन पुग्यो ।

त्यसपछि दुई पक्षको तानातानमा परेका बामदेव एकाएक किनारामा पुगे । उनको चाम सेलायो । अस्थिर स्वभाव देखाएका उनी पार्टी विभाजनको एउटा कारक बनेको विश्लेषण एमाले-माओवादी दुवैमा अहिलेसम्म हुने गरेको छ ।

विभाजनमा उनी कतै खुलेनन । त्यसपछि भने उनले नेकपा एकता राष्ट्रिय अभियान आफ्नै नेतृत्वमा बनाए । तर उनीबाटै एकपछि अर्काे रुपमा छुटिँदै गएका नेता–कार्यकर्ताको सानो हिस्सा पनि उनलाई छोडेर माधव नेपालको पार्टीमा पुग्यो ।

त्यसपछि उनी केही समय त्यसै सेलाए । अमेरिका पुगे । घुमे । फिरे, आए ।

जव फेरि चुनाव आयो, उनको दौडधुप अचानक बढ्यो । ओलीको बालकोट देखि प्रचण्डको खुमलटार निवाससम्मै धाए । ओलीलाई एक्लाएर कांग्रेससँगको गठबन्धनमा रहेका माओवादी केन्द्र र समाजवादी नरोज्ने हो भने चुनाव जित्न सकिन्न भन्ने वर्षौ राजनीतिको गुलेली खेलाएका त्यक्तिको नेताले नवुझने कुरै भएन । उनले नेकपा कालका बहुमत सदस्यको बैठक देखि समाजवादी केन्द्र निर्माणसम्मका वहस चलाए ।

तर, उनको योजना सफल भएन । अन्ततः उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको शरणमा परे – डुब्दै गएको राजनीतिलाई अवतरण गरिदिन शरण मागे । प्रचण्डले पनि उनलाई माओवादी चुनाव चिन्ह्रमा लड्न दिने सहमति दिलाए । अहिले बामदेव माओवादीको चुनाव चिन्ह्रमा प्रतिनिधीसभा चुनाव लड्न तम्सिएर बसेका छन् ।

‘प्रचण्डले कसरी सिट ल्याउनु हुन्छ ? गठबन्धनबाट ल्याउनु हुन्छ वा माओवादीको आफ्नै भागको दिनु हुन्छ, त्यो प्रचण्डले जान्ने कुरा भयो,’ मंगलबार पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘प्रचण्डसँग मेरो दशकौको दोस्ती छ, मैले उहाँलाई दोस्तीको उपकार गर्नुस् भनेको हो, हँसिया हतौडाबाट चुनाव लड्दा सिंगो गठबन्धन नै मलाई जिताउन लाग्छ भन्ने मनसाय भएर म लागेको हुँ ।’

बामदेव निकट नेताका अनुसार माओवादीको चुनाव चिह्न लिएर चुनाव लडिरहँदा गौतमका माओवादी पार्टीसँग आफ्नै केही शर्त छन् :

१‍ प्रतिनिधिसभाका प्रत्यक्षमा एक सिट र प्रदेशसभामा प्रत्यक्षमा दुई सिट दिनु पर्ने,

२‍‍ समानुपातिकको साझा सूचीमा आफ्ना केही मान्छे प्राथमिकताका आधारमा राखिदिनु पर्ने,

माओवादी चुनाव चिह्नबाट चुनाव लडे पनि संसदभित्र आफूलाई स्वतन्त्र गतिविधि गर्न दिनु पर्ने,

४ संसदीय ह्विप लगाउन नपाउने,

बामदेवको शर्तमा प्रचण्डले निर्णायक जवाफ दिएका छैनन् । तर, हुँदाखादाको राष्ट्रियसभाको चार वर्षको पदावधि बाँकी नै छोडेर उनी प्रतिनिधिसभामै चुनाव लडेर आउन किन खोजे ? त्यसमाथि उनले प्रचण्डलाई नै अस्ताउँदै गरेको राजनीतिको सुरक्षित अवतरण गराइदिनसक्ने पाइलट किन ठाने ? यसले माओवादीभित्र सानोतिनो भूकम्प ल्याइदिएको छ ।

सात वर्षअघि माओवादीलाई रातो स्टिकर टाँसेको घर भन्दै पार्टी छाडेर गएका बाबुरामलाई फेरि माओवादीको चुनाव चिह्नमा ल्याएर चुनाव लडाउन माओवादीका नेताहरू निर्शत तयार भए । गौतमका हकमा त्यस्तो देखिएन । माओवादीका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने, ‘गौतमसँग माओवादी अध्यक्षले केही विषयमा प्रष्टता खोज्नु पर्ने र त्यसअनुसार व्यवहार गर्नु पर्ने गरी स्थायी समितिका नेताहरूका अधिकाशंका सुझाव प्रचण्डलाई थिए ।’

मंगलबार पार्टी स्थायी समिति बैठक बस्दै गर्दा केही सिमित नेताबाहेक धेरैलाई वामदेव पनि माओवादीको चुनाव चिह्नमा चुनाव लड्दै छन् भन्ने जानकारी थिएन । बाबुरामका बारेमा केही दिनअगाडि नै छलफल भएको थियो । नेताहरूलाई प्रचण्डले बिफ्रिङ गरिरहेका थिए ।

मंगलबार बामदेव माओवादीको चिह्नमै चुनाव लड्ने प्रस्ताव प्रचण्डले पार्टी स्थायी समितिमा सुनाउन थाले । त्यसपछि नेताहरूले प्रचण्डसँग केही सवालजवाफ गरेको ती नेताले बताए ।

‘बामदेव चुनाव लड्ने, त्यसमा पनि प्यूठानमा चुनाव लड्ने उद्देश्य भनेको राष्ट्रियसभा छाडेर प्रतिनिधिसभामा आउने हो, प्रतिनिधिसभामा आउने भनेको प्रधानमन्त्री बन्ने उद्देश्य हो, उनको नेकपा कालको चरित्रले त्यही देखाउँछ, यसरी आउँदा प्रचण्डभन्दा माथि भन्न पाइँदैन, म सिनियर हुँ, त्यस कारण प्रधानमन्त्रीको दाबेदार म हुँ भन्ने गरी आउन पाइँदैन, तपाई (प्रचण्डलाई) भइसक्नु भयो, अब मेरो पालो भनेर आउन खोजेको हो भने त्यो मान्य हुँदैन न नि !,’ नेताहरुले सिधासिधा प्रचण्डलाई सोधे ।

‘प्रचण्डको नेतृत्व स्वीकार गरेर आउने हो भने ठिक छ’ नेताहरूले प्रचण्डलाई भने ।

बामदेव-बाबुरामलाई माओवादी चुनाव चिह्नमा चुनाव लड्न दिइरहँदा माओवादीले गठबन्धन दलबाट प्राप्त गर्ने सिट संख्यामा समेत तलमाथि हुन दिन नहुने सुझाव नेताहरुले राखेका थिए ।

‘बामदेवको स्वभाव अस्थिर भएकाले यो खालको प्रश्न उठाउनु परेको हो, नत्र पर्दैनथ्यो, चुनाव लड्ने प्रधानमन्त्री बन्न खोज्ने र प्रचण्डले लौत भनेर छोड्ने कुरा स्वीकार्य हुँदैन,’ माओवादीका ती नेताले स्थायी समिति सदस्यहरूको साझा धारणा उदधृत गर्दै भने, ‘लिडरसिप र सिट संख्यामा तलमाथि नहुने गरी हो भने ठिक छ, होइन भने बामदेवसँग सम्झौता हुन नसक्ने कुरा नै हामी धेरै साथीहरूले अध्यक्षलाई सुझाव दियौँ ।’

‘एक त भएको संगठनात्मक संरचनालाई सिष्टममा लैजान सकेका छैनौँ, अर्कोतिर फेरि आएर बखेडा झिक्ने मात्र भयो भने बलियो बन्यौँ भन्दा कमजोर हुन पनि सक्छ, त्यसैले अरुको उद्धार गर्न सहयोगी हुने होइन, अरुको पनि उद्धार हुने र पार्टी र लिडरसिपको केही हुनु पर्यो, त्यस कारण छुट्टिएर गएका माओवादी धारका नेतालाई पनि केही न केही शान्ति प्रक्रियाको कार्यभार र जिम्मेवारी बोकाउनु पर्‍यो, त्यसै सँग सँगै ल्याउनु पर्यो‍ अरुलाई पनि जोड्ने हो भने चुनाव चिह्न र लिडरसिपको कुरामा कम्प्रमाइज गर्नु हुँदैन,’ प्रचण्डलाई नेताहरूले सुझाव दिएका थिए ।

बाबुरामको सवालमा माओवादी नेताहरूले धेरै गुनासो राखेनन् । बाबुरामको हकमा सबै माओवादी नेताहरूको एकमत जस्तो थियो । ‘बाबुराम जीले दुइटा कुरामा प्रष्टै प्रतिबद्धता जनाउनु भएको छ, एउटा लिडरसिपप्रतिको प्रतिबद्धता, दोस्रो अब दायाँ बायाँ हुन्न भन्ने कुरा, यति भएपछि त्यसलाई सकारातमक रुपमा लिएर उहाँ छुट्नुभन्दा यही आन्दोलनमा जोडिनु पर्छ भनेर सबै नेताहरूको सकारात्मक कुरा थियो, तर वामदेवमा पनि यही प्रतिबद्धता आउनु पर्नेमा नेताहरूको जोड थियो,’ ती नेताले मेरोन्यूजसँग भने ‘आज यहाँ आए- एउटा भन्ने, फेरि अर्कोतिर पुगेर अर्को भन्ने, त्यस्तो कमजोरी अब नहोस ।’

०००

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया