शुक्रबार, वैशाख २८, २०८१

कांग्रेसको सिट बाँडफाँटको यस्तो छ प्रारम्भिक खाका

दुई या तीन जिल्ला मिलाएर निर्वाचन क्षेत्रको क्लस्टर बनाएर तालमेल गर्नुपर्ने कांग्रेसको प्रस्ताव

शितल शर्मा २०७९ साउन २४ गते १७:२६

काठमाडौंँ। गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जितेकालाई छाडेर एमाले र अन्य दलले जितेका निर्वाचन क्षेत्रमा मात्रै तालमेलका लागि भागबण्डा लगाउनु पर्ने कांग्रेसबाहेकका अन्य गठबन्धन दलको प्रस्ताव सार्वजनिक भइरहेका बेला कांग्रेसले भने निर्वाचन क्षेत्रको क्लष्टर बनाएर तालमेलमा सिट बाँडफाँट गर्नु पर्ने प्रस्ताव अगाडि सारेको छ ।

Advertisement

कांग्रेसले गठबन्धन गर्दा कम्तीमा ९५ देखि सय सिट आफूहरूले लिने गरी तालमेलको मोडालिटी बनाउनु पर्नेमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाइरहेका छन् । त्यसो हुँदा विगत चुनावमा कसले जितेको भन्ने आधारमा भन्दा पनि अहिलेको स्थानीय तहमा आएको मत परिणाम र निर्वाचन क्षेत्रको क्लष्टर बनाएर तालमेल गर्दा परिणाम सुखद ल्याउन सक्ने कांग्रेसको भनाइ छ ।

त्यसो हुँदा उसले कम्तीमा दुई वा तीन जिल्लाका निर्वाचन क्षेत्रहरूलाई भूगोलका आधारमा मिलाएर क्लष्टर बनाउने र त्यही आधारमा तालमेलमा सिट बाँडफाँटको मोडालिटीमा जानु पर्ने प्रस्ताव तयार पारेको छ । कांग्रेसका एक नेताका अनुसार त्यसो गर्दा काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई एउटा क्लष्टर बनाएर निर्वाचन क्षेत्र भागबण्डा लगाउनु पर्ने कांग्रेसको भित्री प्रस्ताव छ । त्यसो हुँदा उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये माओवादीलाई दुई र एकीकृत समाजवादीलाई दुई वटासम्म निर्वाचन क्षेत्र दिने कांग्रेसले तयार पारेको आन्तरिक प्रस्तावमा छ ।

माओवादीलाई काठमाडौँमा एक र ललितपुरमा एक वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छाड्ने र नेकपा एकीकृत समाजवादीलाई भने काठमाडौंमा दुई वटा निर्वाचन क्षेत्र छाड्न सकिनेमा कांग्रेस देखिएको छ । बाँकी काठमाडौंका ७ वटा निर्वाचन क्षेत्र आफूले लिने, ललितपुरका दुई वटा निर्वाचन क्षेत्र र भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा आफैले लिने गरी आन्तरिक प्रस्ताव कांग्रेसको छ ।

काठमाडौंमा एकीकृत समाजवादीका रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठका लागि निर्वाचन क्षेत्र नम्बर २ र ८ छोड्न कांग्रेस तयार देखिएको छ । माधव नेपाल रौतहटमा जाने देखिएपछि झाँक्रीलाई काठमाडौं-२ र जीवनराम श्रेष्ठलाई काठमाडौं-८ छोड्न कांग्रेस तयार देखिएको हो ।

त्यस्तै माओवादीका लागि काठमाडौं-९ या १० मध्ये एकमा स्थायी समिति सदस्य हितमान शाक्यका लागि छाड्न कांग्रेस तयार देखिएको छ । अन्यमा उसले माओवादीलाई काठमाडौंमा दिन चाहेको छैन । तर, माओवादीले शाक्यका अतिरिक्त हिमाल शर्मा, अनिल शर्मालगायतका नेतालाई पनि चुनाव लडाउने तयारी गरेको छ । माओवादीले काठमाडौFको १, ६, ३ र १० मा दाबी गरिरहेको छ ।

ललितपुरमा अहिलेकी उर्जामन्त्री पम्फा भुसालको निर्वाचन क्षेत्र ललितपुर-३ माओवादीलाई छाड्न कांग्रेस तयार देखिन्छ । तर अन्य क्षेत्र र भक्तपुर छाड्न कांग्रेस तयार देखिएको छैन । कांग्रेसका आन्तरिक प्रस्तावमा दुई या तीन जिल्लाको क्लष्टर बनाएर निर्वाचन क्षेत्र भागबण्डा लगाउँदा बागमती प्रदेशमा दोलखा, रामेछाप र सिन्धुलीलाई एउटा क्लस्टर, सिन्धुपाल्चोक तथा काभ्रेपलाञ्चोकलाई अर्को क्लस्टर, त्यस्तै, रसुवा, नुवाकोट र धादिङलाई एउटा क्लस्टर, चितवन र मकवानपुरलाई अर्को तथा काठमाडौं उपत्यकाका तीन जिल्लालाई एउटा क्लस्टर मानेर सीट बाँडफाँड गरेर जानुपर्ने कांग्रेसको प्रस्तावमा छ ।

त्यसो हुँदा दोलखा, रामेछाप र सिन्धुलीको क्लस्टरबाट ०७४ मा माओवादीले चुनाव जितेको रामेछाप तथा दुई सिट रहेको सिन्धुलीमा माओवादीलाई एक–एक सिट छाड्न सकिने कांग्रेसको भित्री तयारी देखिन्छ । काभ्रेका दुई सिटमा माओवादी र कांग्रेसबीच एक–एक सिट बाँडफाँड गरेर जानु पर्नेमा कांग्रेस देखिएको छ ।

सिन्धुपाल्चोकमा भने कांग्रेस र माओवादीबीच एक–एक सिटमा सहमति जुटाउन सकिनेमा कांग्रेसको बुझाइ छ । सिन्धुपाल्चोक-१ मा अहिलेका सभामुख अग्नि सापकोटा र कांग्रेसका मोहनबहादुर बस्नेत दुवै आकांक्षी छन् । तर एक सिट कांग्रेस र एक सिट माओवादीले लिएर सहमति खोजनु पर्ने कांग्रेसको आन्तरिक प्रस्तावमा छ ।

यसअगाडि पनि जितेको रसुवा कांग्रेसले लिएर नुवाकोट र धादिङमा एक-एक सिट आफूहरुले लिएर बाँकी ती दुई जिल्लाको एक-एक सिट माओवादी र एकीकृत समाजवादीलाई छाड्न सकिने कांग्रेसको तयारी छ । माओवादीलाई नुवाकोटको एउटा क्षेत्र छाड्न सकिने र धादिङको एउटा क्षेत्र एकीकृत समाजवादीलाई छाडेर जान सकिने र त्यसरी जाँदा सिट बााडफँट सहज हुने कांग्रेसको आन्तरिक बुझाइ छ ।

चितवनमा एक सिट माओवादीलाई र मकवानपुरमा एक सिट नेकपा एकीकृत समाजवादीलाई छाडेर अरु सिट कांग्रेसले नै लिनुपर्ने कांग्रेसको मत छ । चितवन-३ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि छाड्ने र मकवानपुरमा एकीकृत समाजवादीका नेता विरोध खतिवडाका लागि छाड्ने कांग्रेसको भित्री तयारी छ । बाँकी क्षेत्रमा भने यी दुवै जिल्लामा कांग्रेसले नै लिने कांग्रेसको बुझाइ छ ।

तर, मकवानपुरमा नेकपा एसका नेता विरोध खतिवडा लड्ने क्षेत्रमा कांग्रेस सहमहामन्त्री महलक्ष्मी उपाध्याय डिना उपाध्यायाले पनि दाबी गरिरहेकीले के गर्ने भन्नेमा पनि कांग्रेसभित्र छलफल चलेको कांग्रेसका नेताहरुको भनाइ छ । त्यो अवस्थामा यी दुई नेताबीच क्षेत्र हेरफेरको सम्भावना रहन्छ ।

अन्य स्थानमा पनि क्लष्ट मिलाएर चुनावी खाका बनाउनु पर्ने र त्यसै आधारमा सिट बाँडफाँट गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ । तर कांग्रेसको यस्तो प्रस्तावमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहजै मान्ने अवस्थामा छैनन । जसले गर्दा सिट बाँडफाँट गठबन्धन दलहरुका लागि निक्कै सकस पर्ने देखिएको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया