शुक्रबार, वैशाख २८, २०८१

खिइँदै बाबुराम !

माओवादी पृष्ठभूमिका नेताले त छोडी नै सके, गैरमाओवादी पृष्ठभूमिकाले पनि धमाधम बाबुरामलाई छोड्दैछन्

रामकृष्ण अधिकारी २०७९ साउन २२ गते १५:०१

डा. बाबुराम भट्टराई राजनीतिक शब्दावलीहरू ‘क्वाइन’ गर्दै तिनलाई विमर्शको विषय बनाउन सिपालु छन् । ‘लोकतान्त्रिक गणतन्त्र’, ‘नयाँ शक्ति’, ‘आर्थिक समृद्धि’ ‘समाजवादी केन्द्र’ यी केही यस्ता उदाहरण हुन्, जसलाई बहस/विमर्शको विषय नै बाबुराम भट्टराईले नै बनाए ।

Advertisement

जति उनले राजनीतिक शब्दावलीमा नयाँ क्वाइन गरिरहेका छन्, ठिक त्यस्तै राजनीतिक पार्टी छाड्दै, नयाँ बनाउँदै हिँडेका छन्, उनी । तर उनको यो हिँडाईमा ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भनेझै उनकै नजिकका सारथिले साथ छोड्दै जान थालेका छन् ।

यस हिसाबले हेर्दा उनी विचारमा मात्र होइन, संगठनात्मक क्षेत्रमा पनि खिँइदै गइरहेका छन् । सबैभन्दा बढी मार्क्सवाद, लेनिनवाद र माओवादको व्याख्याता कुनै समय उनी नै अगाडि थिए । तर, उनैले आफूलाई मार्क्सवादी होइन भनेर सैद्धान्तिक रूपमा विचलनको बाटो पछ्याए ।

कम्युनिष्ट जार्गन अहिले उनलाई सुन्नै मन छैन । त्यसैको उदाहरण हो माओवादी केन्द्र, एकीकृत समाजवादी, बामदेवको नेकपा राष्ट्रिय एकता अभियानसम्मले नेकपा (समाजवादी केन्द्र) निर्माणका लागि गरेको प्रस्तावमा राखेको विमति । उनले समाजवादी केन्द्रको नामको अगाडिको नेकपा शब्दप्रति नै तीव्र असन्तुष्टि पोखे । र, प्रचण्ड माधव नेपालहरूसँग उनले त्यसमा असहमति जनाए ।

सरकारसँग जनयुद्ध कालको ४० सूत्रीय माग बोकेर अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन डा. बाबुराम भट्टराई नै पुगे ।

यसले पनि वैचारिक रुपमा बाबुराममा विचलन आएको उनीसँग विभिन्न कालखण्डमा सहकार्य गरेका प्रायः नेताहरू बताउँछन् । संगठनात्मक रुपमा पनि उनी दिनप्रतिदिन खिँइदै गएका छन् ।

खिँइदो अवस्था

डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा शुरुदेखि नै उतारचढावपूर्ण अवस्थाबाट गुज्रेको छ । एक समय मोहनविक्रम सिंहका बफादार चेला रहेका उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एउटै राजनीतिक डुङ्गामा सवार हुन हरिबोल गजुरेल शित्तलकुमार’को नेतृत्वमा नेकपा (मसाल)मा पुगेका थिए ।

जनआन्दोलन २०४६ लगत्तै प्रचण्डको नेतृत्वको नेकपा मसाल, नेकपा चौम, नेकपा सर्वहारा श्रमिक मोर्चा र हरिवोल गजुरेल नेतृत्वमा बाबुरामसहितको नेकपा विद्रोही मसालका बीचमा एकता भएर नेकपा एकता केन्द्रबाट भएको थियो ।

जनयुद्ध गर्ने कि जनआन्दोलनको बलबाटै क्रान्तिको बाटो अगाडि बढ्ने भन्नेमा एकता केन्द्रमा आएको विवादमा प्रचण्ड बाबुरामहरुले विद्रोहको बाटो अंगिकार गरे ।

२०५२ फागुन १ बाट जनयुद्ध नेकपा (माओवादी)को नाममा शुरु भयो । प्रचण्ड-बाबुराम एकै रथमा सवार भए । सरकारलाई जनयुद्ध कालको ४० सूत्रीय माग बोकेर अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन डा. बाबुराम भट्टराई नै पुगे । त्यसपछिको माओवादी जनयुद्ध कालमा कहिले नेतृत्वको केन्द्रीकरण, कहिले संयुक्त जनपरिषद् लगायतका अनेक कार्यनीतिमा प्रचण्डसँग बाबुरामको टसल देखिए ।

माओवादीमा रहँदा चाहे युद्धकाल होस् या शान्ति प्रक्रियापछिको काल नै किन नहोस्, बाबुरामको आफ्नै टिम थियो । उनलाई टोपबहादुर रायमाझी, दिनानाथ शर्मा, देवेन्द्र पौडेल, मणि थापा (जनयुद्धकालसम्म), बामदेव क्षेत्री, देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, कल्पना धमला, मुक्ति प्रधानसम्मका नेताहरूको साथ थियो । तर, मणिले बीचमै उनलाई (माओवादी छाडेर २०६२ सालमा रविन्द्र श्रेष्ठसँगै) छोडिदिए ।

बाबुरामले युद्ध कालमै प्रचण्ड हेडक्वाटरमा १३ बुँदे र ४ बुँदे लिखित असहमति दर्ज गराए । उनी त्यसबेला पत्नी हिसिला यमी, दिनानाथ शर्मासँगै आफ्नै जनमुक्ति सेना (तत्कालीन जनयुद्ध कालका माओवादी सेना) को नजरबन्दमा परे । त्यसबेला उनी निकटका कतिपय नेताहरू पार्टीभित्रै गुटबन्दीको शिकार भए ।

२०७२ असोज ३ मा संविधान जारी भएको ५ दिनपछि बाबुरामले असोज ९ मा बानेश्वरको इन्द्रणी कप्लेक्समा पत्रकार सम्मेलन गरेर माओवादी छाडिदए

माओवादी शान्ति प्रक्रियामा आयो । पार्टीभित्र तीन धार देखा पर्‍यो । प्रचण्डको एउटा धार, बाबुरामको अर्को धार र मोहन वैद्य (किरण)को धार । पार्टीमा देखा परेको यी तीन धारमा प्रचण्ड कहिले बाबुरामसँग नजिक भए, कहिले मोहन वैद्यसँग । पार्टी कसरी विभाजनबाट जोगाउन सकिन्छ ? प्रचण्डको दाउ त्यस्तै हुन्थ्यो ।

पालुङटारको विस्तारित बैठकसम्म पुग्दा माओवादीभित्र तिन वटा दस्तावेज नै प्रस्तुत हुन पुग्यो । बाबुरामलाई देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, बामदेव क्षेत्री, टोपबहादुर रायमाझी लगायतका नेताहरुले साथ दिए । माओवादी पार्टीमा बाबुराम होइन, मोहन वैद्य अलग भए ।

त्यसपछि पनि माओवादीभित्र प्रचण्ड र बाबुराम पक्षको बीचमा टसल देखा परिनै रह्यो । २०७२ असोज ३ मा संविधान जारी भएको ५ दिनपछि बाबुरामले असोज ९ मा बानेश्वरको इन्द्रणी कप्लेक्समा पत्रकार सम्मेलन गरेर माओवादी छाडिदए । पार्टी मुख्यालयलाई उनले रातो स्टिकर लागेको घर (बस्न अयोग्य) भनिदिए । सांसदबाट पनि राजीनामा दिए । यो बाबुरामका निम्ति निकै अप्ठ्यारो समय थियो ।

उनले माओवादी छाड्दा एक्लै छाडे । नयाँ शक्ति बनाउने घोषणा गरे । तर, उक्त पार्टीमा अन्य केही शक्तिलाई पनि लिने प्रयास गरे । माओवादीमा रहँदाकै आफ्नै समूहका केही नेताहरुलाई उनले साथैमा लगे ।

जब उनले माओवादी छाडे, त्यहीबेला उनलाई माओवादीमै रहँदा साथ दिएका आधा बढी नेता कार्यकर्ताले साथ छोडिदिए । टोपबहादुर रायमाझी, देवी खड्कालगायतका नेताहरुले उनलाई साथ दिएनन् । देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, बामदेव क्षेत्री, देवेन्द्र पराजुलीदेखि मुक्ति प्रधानसम्मले उनलाई साथ दिए ।

०७३ जेठ ३० मा बाबुरामले काठमाडौँमा ठूलो कार्यक्रमका बीच नयाँ पार्टी घोषणा गरे । नयाँ तामझाम र शक्तिका साथ उनले घोषणा गरेको नयाँ शक्तिमा केही कांग्रेस, केही अन्य कम्युनिष्ट र केही अन्य जनप्रशासक र नागरिक अगुवासम्म आवद्ध हुन पुगे ।

आफ्नै पार्टीमा विभाजन आउँदै गरेको सुइँको पाएपछि फेरि महन्थ ठाकुर लगायतको पार्टीसँग एकता गरे । महन्थ फेरि छुटे । उपेन्द्रसँग रहे । उपेन्द्रसँग पनि उनको केही जोड चलेन । उनले नयाँ समाजवादी पार्टी बनाए ।

तर, आफ्ना युद्धकालदेखिकै सहयोद्धा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, मुक्ति प्रधान सहितका नेतालाई उनले टिकाइरहन सकेनन् । कल्पना धमला, देवेन्द्र पराजुली लगायतका नेताहरु पनि उनीसँग रहन सकेनन् । उनी नयाँ शक्तिमा रहँदा नै आफ्नै भन्नेहरुबाट खिँइदै गए ।

त्यसपछि उनले आफ्नो खिइँएको शक्ति बचाउन उपेन्द्र यादवसँग पार्टी एकता प्रयास गरे । बाबुरामको नयाँ शक्ति र उपेन्द्रको समाजवादी पार्टीका बीचमा एकताको लागि प्रयास भयो । ०७४ वैशाख ८ मा दुई पार्टीले एउटा विज्ञप्ति निकालेर एकताका लागि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव तथा अशोक राई रहेको एकता संयोजन समिति गठन गरेको जानकारी दिइयो । नेतृत्व र पार्टीको नाममा कुरा मिलेन । तर, प्रदेश २ मा सम्पन्न स्थानीय तहको तेस्रो चरणको चुनावअघि उनीहरु अलग्गिए । छुट्टाछुट्टै चुनाव लडे ।

यद्यपि, छलफल चलिरहकै थियो । ०७६ वैशाख २३ मा एकताको प्रयासले मूर्त रुप पायो । उपेन्द्र, बाबुराम र अशोक राईसम्म मिलेर समाजवादी पार्टी निर्माण भयो । तर, आफ्नै पार्टीमा विभाजन आउँदै गरेको सुइँको पाएपछि फेरि महन्थ ठाकुर लगायतको पार्टीसँग एकता गरे । महन्थ फेरि छुटे । उपेन्द्रसँग रहे । उपेन्द्रसँग पनि उनको केही जोड चलेन । उनले नयाँ समाजवादी पार्टी बनाए ।

उनको यो श्रृंखलासम्म आइपुग्दा बचेका नेताहरूले उनको साथ छोडिदिए । अहिले उनलाई नयाँ शक्ति बनाउँदादेखि दरिलो साथ दिएका डम्बर खतिवडा, मदन राई र प्रसान्त सिंहसम्मले छोडे । बीचमा उनीसँग नायिका करिश्मा मानान्धरसम्म पनि सहकार्यका लागि आएकी थिइन् । उनले पनि बाबुरामको साथ छोडिदिइन् ।

कुन बेला को छुटे ?
डा. बाबुराम भट्टराईको परिचय आफैमा बौद्धिक नेताको पहिचान हो । ०२६ सालका एसएलसी बोर्डफस्ट, माओवादी सशस्त्र विद्रोहमा महत्त्वपूर्ण भूमिका खेलेका नेता, गणतन्त्र घोषणापछिको पहिलो सरकारमा अर्थमन्त्री र ०६८-०६९ मा प्रधानमन्त्रीको भूमिकासमेत निर्वाह गरेका उनीप्रति बौद्धिक तप्काको सहानभूति थियो ।

अहिले जसपा छाडेर समाजवादी पार्टी बनाइरहँदा उनलाई नयाँ शक्ति बनाउने बेलादेखि साथ दिएका मदन राई, डम्बर खतिवडा र प्रशान्त सिंहलगायतका नेताहरुले साथ छाडिदिएका छन्

नयाँ शक्ति बनाएर २०७४ को चुनावमा चुनाव लड्दा कांग्रेसको साथ लिएर गोरखा २ मा आफूले जित्ने र देशैभरमा जम्माजम्मी ३ जना मात्र प्रदेश सांसद नयाँ शक्तिको सुरक्षित गर्न सकेका भटटराईको पार्टी उनले सोचेजस्तो चलेन । जनताको जनाकषर्ण उनको पार्टीमा देखिएन । त्यसपछि उनले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकताको कोशिस गरे । त्यसबेला उनको सारथि देवेन्द्र पौडेल, बामदेव क्षेत्री, मुक्ति प्रधान लगायतका नेताहरुले साथ छाडिदिए ।

त्यसको केही समयमा फेरि देवेन्द्र पराजुली, कल्पना धमलालगायतले पनि साथ छाडिदिए । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुको राष्ट्रिय जनता पार्टी (राजपा)सँग एकता प्रयास हुँदै गर्दा त्यसअगाडि नै मुमाराम खनाल, रामेश्वर खनाललगायतका नेताहरुले बाबुरामलाई छाडिदिए ।

अहिले जसपा छाडेर समाजवादी पार्टी बनाइरहँदा उनलाई नयाँ शक्ति बनाउने बेलादेखि साथ दिएका मदन राई, डम्बर खतिवडा र प्रशान्त सिंहलगायतका नेताहरुले साथ छाडिदिएका छन् । तिनै जनाले सामाजिक सञ्जालमै बाबुरामसँग आफूहरु अबदेखि नरहेको भन्दै जानकारी गराएका हुन् ।

मदन राईले शनिबार बाबुराम र महेन्द्र राय यादव पार्टीको अध्यक्ष बनिरहँदा साँझ फेसबुकमा एक स्टाटस लेख्दै भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गरेका थिए । ‘म अलग भएँ, क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सात वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकेँ, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेर भए, राम्रा भए,’ उनले लेखेका छन्, ‘अरुलाई सहयोग गर्न धेरै काम लाग्ने छन् ।’

मेरा अनुभव र बुझाइमा यो समूह र यसका नेता बाबुराम भट्टराई चौरास्ता, चार मनस्थितिमा हुनु हुन्छ, यसलाई एकप्रकारको महाद्विविधा भन्न सकिन्छ ।

उनले बाबुरामसँग सल्लाहमै आफू अलग भएको बताएका छन् । राई मात्रै होइन, डम्बर खतिवडाले बाबुरामको अब ४ वटा मात्रै बाटो रहेको भन्दै अहिले निर्माण गरेको समाजवादी केन्द्रको भविष्य आउने मंसिरसम्मका लागि मात्र भएको दाबी गरे ।

‘आफूले करिब आठ वर्ष सहकार्य गरेको समूहले नेपाल समाजवादी पार्टी गठन गरिरहेको सन्दर्भमा आफ्नो राजनीतिक बुझाइ र अडान प्रष्ट पार्नु सायद मेरो अधिकार र कर्तव्य हो,’ उनले आइतबार फेसबुकमा लेखेका छन्, ‘मेरा अनुभव र बुझाइमा यो समूह र यसका नेता बाबुराम भट्टराई चौरास्ता, चार मनस्थितिमा हुनु हुन्छ, यसलाई एकप्रकारको महाद्विविधा भन्न सकिन्छ ।’

उनले बाबुरामसँग अब चार ओटा बाटो रहेको दाबी गरे । ‘नेकपा (मसाल) का नेता मोहनविक्रम सिंहको प्युठान र चित्रबहादुर केसीको बागलुङमा जस्तै गोरखा र सर्लाहीमा सीमित प्रभाव भएको एउटा सानो दलका रुपमा खुम्चिनु, कथित समाजवादी केन्द्रको नाममा कुनै कम्युनिष्ट समूह वा कम्युनिष्ट समूहहरुको एकतामा सामेल भइ विलय हुनु, भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानु र समूह नै तितरबितर हुनु । बृहत् अर्थमा वैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रुपमा योगदान गर्नु,’ खतिवडाले भनेका छन्, ‘यी चारमध्ये कुन बाटोमा जान्छ भन्ने प्रष्ट नहुन्जेलसम्म यसैको पार्टी सदस्य भएर बस्न, यसको अनुमानित अवधि मंसिर मसान्तसम्म हो, नेतृत्वमा किन बसिन भने अहिलेको मोडलको पुनर्गठनमा मेरो सहमति थिएन र त्यसका नैतिक बोझ उठाउने सामर्थ्य मसँग रहेन ।’

बाबुरामले प्रचार विभागको जिम्मा दिएका नेता प्रशान्त सिंहले त केही दिनअगाडि नै बाबुरामबाट अलग भएको बताएका थिए । उनले समाजिक सञ्जालबाटै बाबुरामको बाटोसँग अब आफू नभएको बताएका थिए ।

यसले के देखिन्छ भने, बाबुराम एकपछि अर्काे रुपमा खिइँदै गएका छन् । बाबुरामकै गृह जिल्ला गोरखामा अहिले उनको शक्ति पहिले जस्तो छैन । उनकै जिल्लाका कार्यकर्ता अहिले माओवादीमा फर्किएका छन् । यसले बाबुरामलाई अर्काे चोट थपेको छ । सन्निकटमा आएको निर्वाचनमा अब उनको सुरक्षित अवतरण एमालेसँग मिल्दा देखिदै देखिन्न, जहाँ एमाले आफैमा कमजोर छ । कांग्रेस या माओवादीमध्ये एकसँग नमिलेसम्म उनको चुनावमा जित्ने सपनासम्म पूरा नहुने अवस्था छ । यसले बाबुरामलाई चोटमाथि चोट थपिदिएको छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया