शुक्रबार, वैशाख २८, २०८१

देउवा- प्रचण्ड अनौपचारिक छलफल

यस्तो छ सत्ता गठबन्धनमा सिट बाँडफाँडको अनौपचारिक प्रस्ताव

कांग्रेसको प्रस्ताव : वढीमा ७० सिट मात्रै गठबन्धनका अन्य दललाई , साक्षेदार दलको प्रस्ताव : वढीमा ८० सिट मात्रै कांग्रेसलाई

शितल शर्मा २०७९ साउन ४ गते ९:५९

काठमाडौं । प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचन मिति घोषणाको तयारीमा रहेको सत्ता गठबन्धन दलभित्र निर्वाचनको सिट वाँडफाँडको अनौपचारिक छलफल शुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नयाँ दिल्ली भ्रमणबाट फर्केको भोलिपल्टैबाट सत्ता गठबन्धन दलका वीचमा सिट बाँडफाँडको अनौपचारिक छलफल शुरु भएको हो ।

Advertisement


प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डका वीचमा साउन २ गते साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचाकिर रुपमा सिट बाँडफाँडको विषयमा छलफल भएको हो । सोही दिन कांग्रेसले अहिलेकै सत्ता गठबन्धन जोगाउने र एकल बहुमतको नजिक पुग्ने गरी सिट वाँडफँडमा लिने गरी गठबन्धनसहित चुनावमा जाने औपचारिक निर्णय गरेको थियो ।

त्यही निर्णयपछि प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका वीचमा बालुवाटारमा भेटवार्ता भएको हो । कांग्रेसले प्रस्तावका रुपमा एक सय सिट आफुले लिने र वाँकी ६५ मा अन्य सत्ता गठबन्धन दलका वीचमा भागवन्डा लगाउने पहिलो प्रस्ताव अनौपचारिक रुपमा राखेको छ । त्यसका अतिरिक्त उसले ९५ सिटसम्ममा आफु झर्न सक्ने र वाँकी ७० सिटमा अन्य गठबन्धन दलका वीचमा भागवन्डाको प्रस्ताव देउवाले प्रचण्डसाग पहिलो चरणमा अनौपचारिक प्रस्तावका रुपमा राखेको बालुवाटार स्रोतले बताएको छ ।


तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने त्यसमा विमति जनाएका छन् । उनले गठबन्धन दलभित्रका सवैलाई मिलाएर लैजानु पर्ने भएकोले न कांग्रेस, न एकीकृत समाजवादी कसैले पनि सानो र ढूलो रहेको भन्दै दम्भ देखाउन नहुने भन्दै सन्तुलित, सम्मानजनक र सवैलाई मिल्ने र गठबन्धन पनि टिक्ने गरी सिट वाँडफाँड गर्नुपर्ने प्रस्ताव गरेका छन् ।


माओवादीका एक नेताका अनुसार, प्रचण्डले आफ्नै पार्टीले गत प्रतिनिधीसभा निर्वाचन या अहिलेको स्थानिय तह निर्वाचन जे लाई आधार बनाएपनि कम्तीमा ५० सिट माओवादीले नै पाउनुपर्ने गरी प्रस्ताव राखेका छन् । त्यसो गर्दा अन्य दललाई काहाँ कसरी मिलाउन सकिन्छ ? भनेर प्रधानमन्त्रीसँग जिज्ञासा राखेको माओवादी स्रोतले बताएको छ ।

गठबन्धनका कांग्रेस वाहेकका अन्य दलले कम्तीमा ८५ सिट गठबन्धनमा रहेका अन्य दललाई र ८० सिटमा कांग्रेसले लिने गरी सिट वााडफाँडमा जानुपर्ने बताईरहेका छन् । कांग्रेसले आफै गठबन्धनको साहारामा एकल वहुमत नजिक पुग्ने गरी सिट लिने गरी गरेको निर्णय भनेको गठबन्धनको साहारामा आफुमात्रै जित्ने रणनीतिका साथ आएको भनेर अन्य दल झस्किएका छन् ।

त्यसो हुँदा प्रधानमन्त्री शेरवहादुर देउवामाथी दवाव रणनीति बनाउने कसरथमा अन्य सत्ता गठबन्धन दलका नेताहरु जुटेका छन् ।

त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्ड गठबनधन भित्र पनि सकेसम्म उपगठबन्धन निर्माणमा पनि जुटेका छन् । माओवादीको प्रस्तावमा ८० सिटमा कांग्रेस, कम्तीमा ५० सिटमा आफु र वाँकी ३५ सिटमा एकीकृत समाजवादी, जनता समाजवादी र वावुराम भट्टराई नेतृत्वको गठनको प्रक्रियामा रहेको दल लगायत अन्य गठबन्धनमा आउन चाहे लोकतान्त्रिक समाजवादी पार्टीसम्मलाइ मिलाएर जानुपर्ने पक्षमा देखिएको स्रोतको भनाई छ ।


त्यसो नहुँदा उसले पर्दा पछाडीबाट वाम गठबन्धनको लागि पनि उत्तिकै भित्रभित्र प्रयास गरिरहेको देखिएको छ । कांग्रेसले भने माओवादीलाई एमालेतिर मल्नि जान नदिनमात्र रोक्न खोजेको देखिएको छ । माओवादी आउने चुनावपछि पनि सत्ताका लागि निर्णायक शक्ति वन्न चाहिरहेको छ । सोहीकारण पनि उसले कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी वढीमा ११० सिट आसपासमात्र हुने गरी सिट वाँडफाँडमा नै उसलाई सिमित गर्न चाहिरहेको छ ।

प्रधानमन्त्री देउवासाग दिल्ली पुगेर फर्केपछि एकचरण अनौपचारिक छलफल गरेका प्रचण्डले एकातिर देउवा र अर्काेतिर एमाले अध्यक्ष केपी ओली दुवैतिर दवाव रणनीति अगाडी वढाउन खोजेका छन् । त्यही क्रममा उनले मंगलबार आफ्नै दलको कार्यालय सिंहदरवारमा एकचरण डा बाबुराम भट्टराईसँग र अर्काेचरणमा तत्कालिन नेकपाकालका बहुमत सचिवालय सदस्यहरुसँग छलफल गरेका थिए ।


यी छलफलहरुमा प्रचण्डले अहिलेको सत्ता गठबन्धन पनि जोगाउने, कांग्रेसलाई वढी भन्दा वढी दवावमा राखेर एकल वहुमत नजिक पुग्न नदिने गरी सिट वााडफाँडमा खुम्चाउने र वाम एकताका लागि पनि पहल गर्ने, नभएपनि गठबन्धनभित्र उपगठबन्धन निर्माण गरेर चुनावमा हेलिने गरी जोड गरिरहेका छन् ।

सरकारले सत्ता गठबन्धनका वीचमा आज भोलि नै छलफल गरेर निर्वाचन मिति घोषणा गर्ने तयारी छ । प्रचण्ड भने पहिले दलहरुका वीचमा सिट वाँडफााडको संख्या टुग्गो लगाएर निर्वाचन क्षेत्रहरु कुन कुन दलले लिने भन्ने निधोमा पुग्नुपर्ने अडानमा छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया