शुक्रबार, वैशाख २८, २०८१

पार्टीभित्रै ‘वाम गठबन्धन’को दवावमा माधव नेपाल

ओलीले संसद विघटन गर्नु कमजोरी थियो भनेर बोलेमात्रै एमालेसँग एकताको औपचारिक ढोका खुल्ने

शितल शर्मा २०७९ असार ३२ गते १०:०२

काठमाडौं । केपी ओलीसँग डिभोर्स गरेर ११ महिना अगाडी नेकपा एमालेलाई औपचारिक विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालको पार्टीमा फेरि एमालेसँग एकताको वहस शुरु भएको छ ।

Advertisement

माधव नेपाललाई अन्तिमसम्म साथ दिएका पूराना नेताहरु झलनाथ खनाल र मुकुन्द न्यौपानेले नै अहिले एमालेसँगको एकताका लागि सम्वाद थालनी गर्नुपर्ने वहस पार्टीभित्र उठाउन थालेका छन् ।

तर, एकताका लागि उनीहरुले मात्रै दुईटा शर्त एमालेले पूरा गरिदिए एकताको औपचारिक ढेका खुल्ने बताउन थालेका छन् ।


पहिलो, पार्टी विभाजन रोक्न नसक्नु कमजोरी ।
दोस्रो, संसद विघटन गर्नु कमजोरी ।


ओलीले सार्वजनिक वक्तब्य नै दिएर यी विषयमा कमजोरी भएको स्वीकार गर्नुपर्ने पक्षमा पनि उनीहरु छैनन । मात्र, कुनै कार्यक्रममा एउटा अभिब्यक्ति दिए मात्र पनि पुग्ने उनीहरुको निश्कर्ष छ । त्यसो गरेमा एमालेसँगको एकताको औपचारिक ढोका खुल्ने झलनाथ र मुकन्द न्यौपानेहरुको तर्क छ ।

गत स्थानीय तह निर्वाचन परिणामपछि नै एकीकृत समाजवादीका सम्मानित नेता खनाल र उपाध्यक्ष न्यौपानेले यस्तो वहस पार्टीभित्र निरन्तर चलाउँदै आईरहेका छन् । उनीहरुले कांग्रेससँगको एकता त्यक्ति रुचाईरहेका छैनन् ।

उनीहरु खासमा वाम गठबन्धनकै पक्षमा छन् । एमाले र माओवादी केन्द्र मिल्ने स्थिति नभएका कारण तत्काललाई एमाले र एकीकृत समाजवादी भनेपनि मिल्नुपर्ने खनाल र न्यौपानेको तर्क रहने गरेको छ ।


त्यसका लागि उनीहरुले अध्यक्ष माधव नेपालमाथी पनि दवाव बढाउन थालेको एकीकृत समाजवादीका एक नेताले मेरोन्यूजसँगको कुराकानीका क्रममा बताए । ‘पार्टीभित्र झलनाथ खनाल र मुकुन्द न्यौपानेले अध्यक्ष माधव नेपालमाथी बाम एकताकै दवाव बढाईरहनुभएको छ, ’ ती नेताले भने,–‘तर माधव नेपाल एकता वा सहकार्यका लागि पनि ओलीबाट कुनै न कुनै कमजोरी स्वीकारेको न्यान्द्रो त आउनु परयो नी भन्ने पक्षमा हुनुहुन्छ । नेपालको त्यस्तो कुरा आएपछि झलनाथ र मुकुन्द न्यौपाने त्यसैको पहलमा देखिनुहुन्छ ।’

ओलीले भने माधव नेपाललाई भने पार्टीमा भित्राउन चाहिरहेका छैनन । उनले एकीकृत समाजवादीका अन्य नेता कार्यकर्तालाई भने पार्टीमा फर्काउने प्रयास आफैबाट थाल्ने पनि बताईरहेका छन् । असार २४ मा पार्टीका केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठकलाई पार्टी कार्यालयमा सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘पार्टी छाडेर गएकाहरुलाई फर्काउन हामीले अधिकतम कोसिस गर्नुपर्छ । लहलहैमा लागेर, गलत कुराका पछि लागेर हिँडेका साथीहरुलाई फर्काउन मैले नै पहल गरिरहेको छु, तपाईंहरु पनि गर्नूस् । ठूलो संख्यामा पार्टी फर्किनेहरुको घोषणा हुनेछ ।’

ओली स्वंमले त्यस्तो बताईरहेका बेला एकीकृत समाजवादीभित्र वाम एकताको वहस गरिरहेका झलनाथ , मुकुन्द न्यौपाने लगायतका नेताहरुसँग एमालेका कतिपय नेताहरुको वाक्लो सम्वाद समेत भईरहेको स्रोतको दावी छ । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य घनश्याम भुसाललगायतका नेताहरु निरन्तर झलनाथ खनालसँग संवादमा छन् । गुरुङचाहिँ माधव नेपालसँग पनि संवादमा रहेको एकीकृत समाजवादी स्रोतको दाबी छ ।

तर यी सम्वादहरुमा पार्टी विभाजन रोक्न नसक्नु र संसद विघटन गर्ने कुरामा कतै न कतै ओलीले कमजोरी मात्रै स्वीकारेमा पनि सहकार्य र एकताको वातावरण बन्ने एकीकृत समाजवादीका नेताहरुको प्रस्ताव छ । त्यही प्रस्ताव वुझेरै हुनसक्छ, केही दिन अगाडी मात्रै ओलीले पाटीृ विभाजन रोक्न नसक्नुमा आफनो पनि कमजोरी रहेको स्वीकारोक्ति दिईसकेका छन् ।

केही दिनअघि हिमालयन होटलमा सम्पादकहरूको अन्तरसंवादमा एक वाक्य ओलीले बोलेका थिए, ‘पार्टी विभाजन रोक्न नसक्नु मेरो कमजोरी हो ।’ झलनाथ खनालहरुको दुईटा शर्तमध्येको एउटा शर्तमा ओलीले सार्वजनिक अभिब्यक्ति दिईसकेका छन् । त्यसवाट एकीकृत समाजवादीका नेताहरु पनि उत्साहित देखिएका छन् ।

अव अर्काे संसद विघटनमा पनि यसैगरी ओलीले कतै सार्वजनिक रुपमा बोलिदिए एकताका लागि गाँठो फुक्ने झलनाथ –मुकन्द न्यौपानेहरुको तर्क छ । संसद विघटनमा ओलीले सार्वजनिक रुपमा कतै कमजोरी भएको मात्र स्वीकार गरिदिए ११ महिना अगाडी टुटेको एमालेलाई फेरि एकतामा जोडन सकिन्थ्यो की भन्ने त्यान्द्रोको खोजीमा अहिले यी सम्वादमा रहेका नेताहरुको छलफल चलिरहेको छ ।

सत्ता गठबन्धनभित्र कांग्रेस र माओवादीले आफुलाई मात्र केन्द्रमा राखेर अगाडी बढेको र एकीकृत समाजवादीलाई खास स्थान दिन नचाहेको अनुभूति एकीकृत समाजवादीका नेताहरुले गरिरहेका छन् । त्यही मेसोमा एमालेसँगै एकतामा जानुपर्ने दवाव माधव नेपाललाई पार्टीभित्रै बढ्न थालेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता र संसदको गणितीय खेलमा आफुहरुले देखाइदिन सक्ने चेतावनी माधव नेपालकै मुखबाट फुत्केको छ ।

‘राष्ट्रिय राजनीतिको नयाँ दृश्य देखिरहेका छौं । आफूले धेरै पाउन सकेनन् भने अरुलाई सिध्याउँन सक्छन् । गणितीय खेल पनि हुन्छ, त्यसैले ख्याल गर्नुपर्छ । हाम्रो शक्तिको अवमूल्यन गर्छ भने तिनिहरूले महँगो मूल्य चुकाउनु पर्छ।’ माधव नेपालले पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै भनेका थिए, ‘हामीले कांग्रेस र माओवादीलाई हिर्काइरहेका छौं, तिमीहरूको अहंकार, धोकादारी र बेइमानीले गठबन्धन जुन उदेश्यले अगाडि जानु पर्ने थियो, त्यो नजाने स्थिति पनि बनेको छ भनेका छौं ।’


उनले त्यही अर्काे सन्देश पनि दिए । सधै एमालेप्रति आक्रामक देखिएका नेपाल शुक्रवार एमालेप्रति केही नरम देखिएका थिए । एमालेप्रति त्यक्ति आक्रामक भईनहाल्न नेता कार्यकर्तालाई उनले निर्देशन दिएका थिए । अघिपछि आक्रामक अभिब्यक्ति दिने ओली र नेपालका बोली पनि पछिल्ला दिनमा केही नरम देखिन थालेको छ । नेपालले भनेका थिए, ‘एमालेले धेरै प्रहार नगरिरहेका बेला हामीले पनि धेरै प्रहार गरिरहनु उचित हुँदैन, हामी मसिनो गरी हेरिरहेका छौँ ।’

यसले पनि संकेत गर्छ, उनी पार्टीभित्रै अहिले दवावमा छन् । ‘माधव नेपाललाई आउने संघ प्रदेशको चुनावमा जसरी पनि आफनो सम्मानजनक उपस्थिती देखाउनु पर्ने अवस्था छ, तर सत्ता गठबन्धनभित्र उहाँले सोचे जस्तो भागवन्डाको सिट पाउने नपाउने सुनिश्चित छैन, अर्काेतिर वामपन्थी सहकार्य र एकताको पक्षमा दवाव वढदो छ, उहाँ पनि एकप्रकारको पार्टीभित्रै दवावमा हुनुहुन्छ,’ एकीकृत समाजवादीका एक नेताले भने ।

त्यसो त एकीकृत समाजवादीका बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी मिलेर केही हप्ता अगाडी संकटमा पार्न खोजेका थिए । त्यसवेला एमालेले आफुहरुले साथ दिएर सरकार टिकाईदिने वचन दिएको थियो ।

एभरेष्ट होटलमा एमाले नेता महेश बस्नेत र मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच झन्डै २ घण्टा भएको छलफलपछि प्रदेश सरकार हेरफेरको परिस्थितिमा बदलाव आएको थियो ।


एमालेले छुटिटएर गएको एकीकृत समाजवादीका नेता कार्यकर्तालाइ जसरी पनि नजिक ल्याउने जाल थापेपछि नेपाललाई आफनो शक्ति जोगाउन पनि केही न केही उपाय लगाउनै पर्ने अवस्था निम्तेको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया