शुक्रबार, वैशाख २८, २०८१

श्रीलंकन मोडल पछ्याएको सहकारी, जन्मेदेखि मृत्यु हुँदासम्म दिँदै सेवा

५ वर्षमै पुग्यो ५८ करोड रूपैयाँ पुँजी

नरेन्द्र रौले २०७९ असार ३२ गते ८:१३

Advertisement

के नेपाल श्रीलंका बन्ला ? के नेपालले श्रीलंकाले भोगिरहेको संकट बेहोर्दै छ ? साँच्चै नेपालमा श्रीलंका जस्तै संकट आयो भनेर कसरी सामना गर्ने ? पछिल्ला दिनमा सामाजिक सञ्जाल, मिडिया, सडकदेखि संसदसम्म यसबारे बहस चर्किदै छ । नागरिकमा एक प्रकारको त्रास फैलिरहेको छ । श्रमजिवी वर्गको मनमा भय, डर र चिन्ता गहिरिदै छ ।

श्रीलंकाको राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयमा जनताले कब्जा जमाएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षले देश छाडेर माल्दिभ्स हुँदै सिंगापुर पुगिसकेका छन् । यी दृष्यले नेपालीको मनमा चिसो पसेको छ । श्रीलंकामा गहिरिदो आर्थिक संकटले नेपालमा त्रास उत्पन्न भएको छ । कैयौं निरासाबीच श्रीलंकन मोडललाई पछ्याएको एक नेपाली सहकारीले हासिल गरेको सफलता लोभ लाग्दो रहेको छ ।

लुम्बिनी प्रदेशको बर्दिया । जहाँ श्रीलंकाकै सहकारीको मोडललाई पछ्याएको सहकारी सञ्चालनमा छ । ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ, बर्दियामा छ, हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड । यसको सञ्चालन २०६३ सालमा भएको हो । ४२ जना मिलेर सञ्चालनमा आएको यस सहकारीले १ जनालाई रोजगारी दिलाएको थियो । तलब थियो, १ हजार ५ सय रुपैयाँ ।

व्यवस्थापक भनेर पद दिइए पनि सबै काम उसैले गर्नु पथ्र्यो । २०७४ सालसम्म सहकारीको कूल पुँजी ५ करोड रूपैयाँ मात्र थियो । आजको मितिमा आइपुग्दा ५८ करोड रुपैयाँभन्दा माथि पुगिसकेको छ । कसरी यति छोटो समयबीच फड्को मार्‍यो त ?

श्रीलंकन मोडललाई पछ्याएको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी २०७४ असोज २७ देखि नवराज न्यौपानेले अध्यक्ष पदको जिम्मेवारी सम्हाले । ठाकुरबाबा २ तीनघरुवा, बर्दियाका नवराज केही फरक काम गर्न चाहन्थे । अनवरत संस्थाको प्रगतिका लागि उनी खटिन्थे । त्यसै बेला उनले श्रीलंका भ्रमण गर्ने मौका पाए । श्रीलंकाको सहकारी केन्द्रीय संघको निम्तोमा नेपालबाट उनी त्यो भ्रमणमा सहभागी भए ।

त्यहाँ सिकेका कुरा उनले नेपाल फर्केर लागु गरे । अझै थुप्रै कुरा लागु गर्न नसकेको उनले स्वीकारे । ट्रेड युनियन (सानोसा) को निम्तोमा एक हप्ता श्रीलंकामा रहँदा नेपालका सहकारी सञ्चालक र श्रीलंकाका सहकारी सञ्चालकले एक आपसमा आआफ्ना अनुभव आदानप्रदान गरे । श्रीलंकास्थित ट्रेड युनियनका व्यक्तिले नयाँनयाँ कुरा सिकाए । त्यहाँका सहकारीलाई बैंकसँग जोडिएको थियो ।

श्रीलंकाको भ्रमण नवराजका लागि निकै उपलब्धिमूलक भयो । आफूले सिकेका कुरा नेपाल फर्किएर लागू गरे । सहकारीले नयाँनयाँ अभियान थाल्यो । सदस्य संख्या बढाउन नयाँ स्किम ल्यायो । जुन कुराले आम नागरिकहरुको मन जित्यो ।

समुदायलाई जसरी हुन्छ सहकारीमा जोड्न जोडतोडका साथ लागे । अहिले श्रीलंकामा निम्तिएको संकटबारे नवराजले कहिल्यै कल्पना नगरिएको बताए । यो कुराले उनलाई बिझाएको छ । यसका पछाडि विभिन्न कारण हुन सक्ने उनी संकेत गर्छन् । ‘देश भित्रभित्रै खोक्रो भएको रहेछ, विभिन्न कारणले हुन सक्छ,’ उनले भने, ‘कुनै संस्था, घर, देश नियममा चलेन भने भताभुंग हुन्छ ।’

यसरी मन जित्यो सहकारीले

दुई हजार रुपैयाँ तिरेपछि हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीमा सदस्य बन्न पाइन्छ । यति रकम बुझाएपछि हरेक सदस्यको बीमा आफै हुन्छ । मासिक दुई सय रुपैयाँ गर्नुपर्छ । पूरै बर्दिया जिल्लाका बासिन्दाको हकमा यो नियम लागु गरिएको छ । यदि, कोही बसाइसराई गरेर आएको छ, कसैले जग्गा किनेको छ, वा बर्दियामा जागिर गर्ने जोसुकै यो सहकारीको सदस्य बन्न सक्छन् ।

नवराजले अध्यक्षको नेतृत्व सम्हालेपछि उनले १४ वटा सहकारीलाई एकीकरण गरे । ‘हामीप्रति सबैको विश्वास छ, सबैको हिसाबकिताब स्पष्ट छ,’ उनले थपे, ‘त्यही कुराले हाम्रो सहकारीमा अरु मर्ज भए ।’

यस अभियानको नेतृत्व उनको समूहले गर्‍यो । सहकारीको क्षेत्रमा कोही बच्चा जन्मियो भने सहकारीका कर्मचारी भोटो लिएर घरैमा पुग्छन् । सहकारीले ५ सय रुपैयाँ आफै राखेर खाता खोलिदिन्छ । यदि, कोही विवाह गरेर नयाँ दुलही आएमा एक हजार रुपैयाँको खाता खोलेर सम्मान गर्छन् । कसैको मृत्यु भएमा ३२ हजार ५ सय रुपैयाँ मृतकको परिवारलाई सहयोग प्रदान गर्छन् ।

कृषि गर्नेहरुलाई सहकारीले सस्तो लोन प्रदान गर्छ । यस क्षेत्रमा वन्यजन्तुले कसैलाई आक्रमण गरेमा सहकारीको सदस्य छ भने एक लाख र सदस्य नभएका व्यक्तिलाई १० हजार प्रदान गर्दै आएको छ । कोही दुर्घटनामा परेमा उसले एक लाख ३२ हजार ५ सय रुपैयाँ प्राप्त गर्छ । ६ वटा पालिकाका नागरिकलाई मानवीय हिसाबले यो सहयोग प्रदान गरिदै आएको नवराज बताउँछन् ।

सहकारीले यति मात्र थप आकर्षक प्याकेज दिँदै आएको छ । कोही सहकारीको सदस्यले १० लाख रुपैयाँ ऋण लगेको छ । बिचैमा उसको मृत्यु भएमा उसको परिवारले बाँकी ऋण तिर्नु परेन । सहकारीको कार्य क्षेत्रमा कसैको मृत्यु भएमा (सदस्य नभए पनि) १० हजार रुपैयाँ प्रदान गरिन्छ । पाठेघरको क्यान्सर भएमा हस्पिटलसम्म जान भाडा स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिन्छ ।

थारुहरुको माघी पर्व, बादीहरुलाई तिजमा र मगर जातिलाई आफ्ना चाडपर्वमा ३० देखि ४० हजार रुपैयाँ दिने गरिएको छ । सांस्कृतिक पर्वमा विभिन्न हिसाबले सहकारीले सहयोग पुर्‍याउँदै आएको छ ।

‘कोकदेखि शोकसम्म’ नारा नै राखेको छ । हाल यस सहकारीका सदस्यको संख्या १४ हजार नाघिसकेको छ । सहकारी सुरु गर्दा एक जनाले रोजगारी पाएका थिए । अहिले सहकारीमा ४६ जनाले रोजगारी पाएका छन् । त्यो पनि आकर्षक तलबमा ।

अबको लक्ष्य एक अर्ब रुपैयाँ

सहकारीका अध्यक्ष नवराजले अबको १३ महिनामा सहकारीको पुँजी एक अर्ब पुर्‍याउने लक्ष्य राखेका छन् । त्यो लक्ष्य पूरा भएको भोलिपल्ट अध्यक्ष पद छाडिदिने घोषणा गरिसकेका छन् । ‘मलाई फोन गरेर सोध्नुहोला त्यो बेला,’ उनले भने, ‘मेरो लक्ष्य पूरा गरेरै छाड्छु ।’

सहकारीले अब बर्दिया मात्र होइन बाँकेको नेपालगञ्ज, बैजनाथ र कोहलपुरलाई पनि आफ्नो कार्यक्षेत्र विस्तार गर्दै छ । शहरको पैसा जम्मा गरेर ग्रामीण क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने उनको मान्यता छ । एक पालिका एक सहकारी हुनुपर्छ भन्ने कुरामा उनी दृढ छन् । नेपालमा सहकारीसम्बन्धि ऐन नै प्रष्ट नभएको कुरा उनले प्रष्ट्याए । नियम, कार्यविधि स्पष्ट बनाउनु पर्नेमा उनले जोड दिए । सहकारी एकीकरण अभियानलाई उनले तीब्रता दिएका छन् ।

दुई वर्ष पायो प्रोगेसन ब्राण्ड

२०४८ सालमा सहकारी ऐन आयो । टोल टोलमा सहकारी खुले । २०७४ सालमा नयाँ सहकारी ऐन आयो । अध्यक्ष नवराजका अनुसार यस सहकारीले ऐन कानुमा व्यवस्था नभएको कुरा गर्दैन । संस्था नीतिले चलाउने हो । व्यक्तिले भनेर केही हुँदैन । सहकारीले आफ्नै ३७ वटा नीति बनाएको छ । यस सहकारीले सहकारी विभागलाई प्रोगेसन अडिट स्वरुप गत वर्ष ५० हजार रुपैयाँ तिर्‍यो ।

राष्ट्रिय सहकारी महासंघले गत वर्ष नगद ५ हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान प्रदान गर्‍यो । महासंले उत्कृष्ट, राम्रो, दिगो सहकारी भन्दै सम्मान गरेको थियो । हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिगत दुई वर्षयता लगातार पुर्बेसन ब्राण्ड प्राप्त गरेको छ ।

यो ब्राण्ड पाउनका लागि देशभरबाट दुई हजार २ सय वटा सहकारीले निवेदन दिने गर्छन् । त्यसका लागि बेग्लै अडिटर राखेर पैसा तिनुपर्छ । मुस्किलले ३० देखि ३५ वटा मात्र सहकारी छनौटमा पर्ने गर्छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको उत्कृष्ट वित्तीय सूचकांक र संस्थागत सुशासनका आधारमा दिइने नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोगेसन ब्राण्ड प्रदान गरिन्छ ।

सहकारी विभाग र नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले हरेक वर्ष पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रमअन्तर्गत ५१ वटा सूचक मूल्यांकन गरेर गुणस्तर सुनिश्चितताको प्रोगेसन ब्राण्ड प्रदान गर्दै आएको छ । ‘नीति, विधि र पद्धतीमा चलेको सहकारी’ भनेर सरकारले हाम्रो मध्यवर्ती सहकारीलाई प्रमाणपत्र प्रदान गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाले लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी भनेर गत वर्ष सम्मान प्रदान गर्‍यो ।

हाम्रो सहकारीले गरेको नमुना कामको प्रभाव जिल्लामा मात्र होइन देशभर छ । काठमाडौँ, चितवन, इटहरी, दोधारा, चाँदनी, महेन्द्रनगर लगायत देशका विभिन्न स्थानबाट सहकारीको सञ्चालक नयाँ कुरा सिक्नका लागि बर्दियाको यो सहकारीको कार्यालयमा पुग्ने गर्छन् । उनीहरुलाई नवराज र उनको समूहले प्रस्तुती दिन्छन् । आफ्ना कुरा सिकाउने र अरुबाट पनि सिकाउने गर्छन् ।

नवराजको संघर्ष

२०५९ सालमा बसाइसराई गरेर नवराज न्यौपाने बर्दिया आइपुगे । २०६० साल माघ १५ गते उनले श्रीराम नगर मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पद सम्हाले । देशमा द्वन्द्व चर्किदै गयो ।

नवराज सुदूरपश्चिमको कैलालीमा जन्मे । आमाले उनलाई पहाडी जिल्ला अछाम लगिन् । उनले त्यहा ९ कक्षासम्म अध्ययन गरे । खुट्टामा लगाउने चप्पल थिएन । त्यही गरिबीले उनलाई अछामबाट भारतको मुम्बई पुर्‍यायो । यो सुदूरपश्चिमका नागरिकहरुको गरिबीले निम्त्याएको नियति हो । नवराज मात्रैले भोगेको होइन, यो । कैयौं नागरिकले भोग्दै आएका छन् ।

१५ वर्ष मुम्बईमा संघर्ष गरेपछि २०६३ सालमा नवराज नेपाल फर्किए । त्यो बेला उनको उमेर ३६ वर्ष पुगिसकेको थियो । तत्कालीन त्रिभुवन मावि (हाल उमावि) बाट उनले एसएलसी दिए । शिक्षाको महत्व उनले ढिलै बुझे । एसएलसी उत्तीर्ण गरेपछि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । हाल बर्दियाको चुरे क्याम्पस बघनाहाबाट स्नातक तह पढिरहेका छन् ।

अध्ययनलाई निरन्तरता दिनुको पछाडि पनि एउटा कथा छ । रैथानेका अध्यक्ष तिलक ढकालले उनलाई भने छन्, तपाईसँग सबैकुरा छ, कागजात छैन, के सहयोग चाहिन्छ ? यति सुनेपछि उनलाई आँट आयो, योजना, दृढ विश्वास र रणनितीका साथ हिँडेमा पूरा गर्न नसकिने केही छैन ।’ यसो भनिरहँदा नवराजमा बलियो अठोट भएको प्रष्टै झल्किन्थ्यो ।

आफूले राम्रो काम गर्दा सहयोग गर्ने तमाम मानिसहरू भेटिने उनी बताउँछन् । काम गर्दा कमी कमजोरी हुन्छ । तिनलाई सुधारेर अघि बढ्दा प्रगति हुने उनको अनुभवले बताउँछ । कोभिडको महामारी नफैलिएको भए नवराजले १० वटा देश पाइला टेकिसक्थे ।

कोभिडले उनको विदेश भ्रमणको बाटो छेक्यो । तर, नयाँ कुरा सिक्ने, व्यवहारमा लागु गर्ने, बलियो अठोटका साथ अघि बढ्ने उनका पाइलालाई कसैले छेकेन ।

प्रतिक्रिया