शनिबार, वैशाख १५, २०८१

माओवादी केन्द्रीय समिति बैठक

कमजोरी सुधार्न सके आगामी निर्वाचनमा माओवादी कम्युनिस्टहरूको पहिलो पार्टी बन्छ : प्रचण्ड

अन्तर्घात र काँग्रेसका कारण स्थानीय तहमा लक्ष्यअनुसार नतिजा आउन नसकेको माओवादीको निष्कर्ष

मेरोन्यूज २०७९ असार १९ गते १३:२०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीमा देखा परेको कमजोरी सुधारेर अगाडी जान सकिएमा आउने संघ र प्रदेशको चुनावमा माओवादी पार्टी कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको मत सुधारिउर आएको र त्यसले पनि आफुभित्रकै कमजोरी सुधार्न सके कम्युनिष्टमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको भनाई थियो ।

काठमाडौंमा आज देखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गदैं अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् । गत स्थानीय तह निर्वाचनमा पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सो अनुसारको परिणाम प्राप्त गर्न भने नसकिएको प्रचण्डकाो भनाई थियो ।

उनले तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको बताए ।

गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादी अध्यक्ष प्रचण्डको भनाई थियो ।

माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएका थिए ।

‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरु (काँग्रेसलगायतका गठबन्धनका दलहरु) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’

प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताए ।

प्रतिक्रिया