बिहीबार, वैशाख २७, २०८१

‘लकडाउन’मा रोकिएन विपीनको यात्रा

नरेन्द्र रौले २०७८ जेठ २२ गते १२:३२

काठमाडौँ । देशमा फैलिएको दोस्रो लहरको निषेधाज्ञा (लकडाउन)मा सबैभन्दा बढी कोही खुसी छन् भने, विपीन जयसवाल छन् । यो विपदको घडीमा उनलाई कुनै कुराको ‘बाल मतलब’ छैन । त्यसैले त उनी हरेक साँझ निर्धक्कसँग हिँडिरहेका छन् ।

Advertisement

तर, विपीनको यो हिँडाई समय कटाउन मात्र होइन । उनी आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन समर्पित छन् । भनिन्छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ मोबाइल र ल्यापटप रिपेयर गर्ने कम्पनी थ्रिकमका सञ्चालक यी युवाले त्यो भनाईलाई चरितार्थ गरेका छन् । ‘बहाना अल्छिका लागि मात्र हो ।’ लकडाउनबीच भेटिएका यी युवाले भने ‘मलाई त लकडाउनमै सबैभन्दा बढी फाइदा भइरहेको छ ।’

लकडाउन भएदेखि विपीनलाई भ्याइनभ्याई छ । उनको मोबाइलको घन्टी प्रायः दिनभरि बजिरहन्छ । बिग्रिएका ल्यापटप, कम्प्युटर र फोन बनाइदिन ग्राहकहरूले उनलाई फोन गरिरहन्छन् । काठमाडौँ उपत्यकाभित्र कुनाकाप्चा पुगेर उनले ग्राहकका सामान रिसिभ गर्छन् । फेरि, मर्मत गरिसकेपछि घर–घरमा पु¥यादिन्छन् ।

हरेक साँझ ५ बजे बाइक स्टार्ट गरेर ग्राहकका ढोकामै चहार्ने उनी घर पुग्दा रातको १० बजिसक्छ । लकडाउनमा ग्राहकहरूको चाप यति बढ्यो कि कम्पनीका विपीन आफै घरघर पुग्न बाध्य भए ।

सानेपास्थित निवासमा विपीनको सक्रियता दिनरात उत्तिकै छ । दिउँसोको समयमा त उनी एक दिन पनि निदाएका छैनन् । बरु कति रात अनिदोमा बिताएका छन् । अहोरात्र उनको खटाई खेर गएको छैन । उनले पसिनाको मिठो फल चाख्न पाएका छन् । त्यसैले त एक महिना लामो यो लकडाउनमा उनले राम्रै आम्दानी गरे ।

यो वर्ष मात्रै एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएको उनले निर्धक्क सुनाए । उनले ल्यापटप, म्याकबुक र मोबाइल धेरै रिपेयर गरे । ल्यापटपमा चाहिने वेवक्याम र हेडफोन पनि अत्यधिक मात्रामा बिक्यो । विद्यार्थीको अनलाइन क्लास भएकाले पनि माग बढ्यो ।

कोरोना रहिरहन्छ । त्योसँग डराएर हैन, जोगिएर काम गर्ने हो भन्ने मान्यता राखेका छन्, उनले । आफ्नो निवासमा ल्याब जोडेकाले उनलाई काम गर्न सहज छ । उनलाई सघाउन दुई जना स्टाफ सधैँ साथमा रहेका छन् । अघिल्लो लकडाउन अगाडि २२ जनालाई रोजगारी दिएका यी युवाले दोस्रो लकडाउनपछि भने स्टाफ कटौती गरे । कतिपय घर गएका स्टाफ फर्किएनन् । अहिले उनले ८ जनालाई रोजगारी दिइरहेका छन् । कर्मचारी कटौती गरे पनि काममा बाधा भएको छैन । कम्पनीको आम्दानीमा असर परेको छैन ।

विभिन्न खालका ग्राहकहरूले विपीनलाई फोन गर्छन् । मेरो बच्चालाई पढ्न गार्हो भयो, ल्यापटप बिग्रेको छ, अनलाइन क्लास छ । भन्ने ब्योहोराका बढीजसो फोन आउँछन् । यस्तो संकटका बेलामा घर–घर धाएर सामान रिसिभ गरेर मर्मत गरेर उनले कैयौँलाई सेवा गरे ।

घरबाट निस्किदा सुरक्षा मापदण्ड अपनाएर मात्र निस्किन्छन् । थ्रिकमकै आइडी कार्ड लगाएर निस्किदा उनलाई अहिलेसम्म अफ्ठ्यारो परेको छैन । विद्यार्थीहरूको अनलाइन क्लास छ, ल्यापटप, कम्प्युटर बनाउन आएको भनेपछि प्रहरीले पनि नरोकेको उनी बताउँछन् ।

पहिलो लकडाउनपछि काठमाडौँमा अधिकांश व्यापारीहरू भाडा तिर्न नसकेर छाडेर भागे । विपीन आफूलाई भाग्यमानी । किनकी लकडाउनमा पनि उनको व्यापारमा धक्का लागेको छैन । बरु पहिलो लकडाउनपछि उनले पिपुल्स प्लाजाको ग्राउन्ड फ्लोरमै नयाँ पसल किने । पहिला तेस्रो तलामा उक्लिन ग्राहकहरूलाई झन्झट लाग्थ्यो । ग्राउन्ड फ्लोरको ११३ ए मा सरेपछि उनको व्यापार चम्किरहेको छ ।

पहिलो लकडाउनपछि दिल्ली गएर विपीनले नयाँ सीप सिकेर आए । म्याकबुक, एप्पलका प्रोडक्ट बिग्रिँदा त्यसको रिपेयर गर्ने ठाउँ राजधानीमा कम छन् । भएका मध्ये अत्ति महंगा छन् । कतिपयको पाटपुर्जा पाइदैन । उनले भने, ‘सस्तो दरमा आफै बनाइदिन थालेँ, त्यसले ग्राहकहरुको मन जित्दै गयो ।’

पहिलो लकडाउनमा पनि उनी फाइदामै परे । ‘त्यो अघि म कतै अल्झिरहेको थिएँ, जब लकडाउन भयो म फाइदामा परेँ,’ उनले सुनाए ।

गत माघ महिनामा सर्लाहीमा उनले बोर्डिङ स्कुल किने । उनको माइलो दाइले त्यो स्कुल सञ्चालन गरिरहेका छन् । ‘म मा आँट छ, हिम्मत छ,’ उनी हौसिए, ‘म जहिले पनि नयाँ काममा एक्साइटेड हुन्छु ।’

विपीनको पृष्ठभूमि

विपीन पहिल्यैदेखि मोबाइल, ल्यापटप बनाउने काममा रुची राख्थे । रौतहटको चपुरमा उनका ठूला दाइ सञ्जयको मोबाइल पसल थियो । उनले त्यहाँ काम सिके । पछि उनका दाइले चपुरको पसल बेचेर काठमाडौं छिरे ।

दाइकै सल्लाहमा विपीन काठमाडौँ आए । बागबजारमा एक इन्सिट्च्युटमा तीन महिना काम सिके । त्यतिले पनि उनको चित्त बुझेन । उनलाई त यो क्षेत्रमा बृहत ज्ञान बटुलेर आफ्नै पहिचान बनाउनु थियो । उनले सपनाको उडान भरेर भारतको नयाँ दिल्लीतिर लागे ।

नयाँ दिल्लीको नेहरु प्यालेसमा विपीनले मोबाइल, कम्प्युटर र ल्यापटप रिपेयरिङ्गको कोर्ष गरे । एक ठाउमाँ मात्र होइन, दुई दुई ठाउँमा । त्यहीको पसलमा काम सिके । त्यहाँ बस्ने अवसर पाएर पनि उनी नेपाल फर्के । आफ्नै देशमा केही गरेर देखाउने उनको उद्देश्य रहेको थियो ।

नेपाल फर्किएपछि उनले सहजै काम पाएनन् । कैयौं महिना भौतारिएर हिँडे । बिजुलीका खम्बा, भित्तामा उनले पोस्टर टाँसे । जहाँ उनले आफूले गर्ने कामका बारेमा लेखेका हुन्थे । र, त्यसमा उनले आफ्नो नम्बर लेखेका हुन्थे । यसरी उनलाई बिस्तारै काम आउन थाल्यो । आफ्नै कोठामा बसेर उनले रिपेयरिङ्गको काम थाले ।

आफ्नो बिगत सजिलै भुल्न पनि कहाँ सकिन्छ र ? त्यो चरम संघर्षका दिनहरूमा भोगेका दुःख, झेलेका कठिनाई स्मृतिमा गहिरो छाप छोडेका हुन्छन् । विपीनलाई अझै याद छ, जावलाखेलस्थित स्पिन्स कम्प्युटरका सञ्चालक रवि महर्जनले आफ्नो पसलमा आउने बिग्रेका कम्प्युटर बनाउन दिएका थिए । उनले रातभरि बसेर मर्मतको काम सके । पछि त निरन्तर उनले काम पाए । संघर्षका यस्ता कठिन दिनहरू गुजार्दै उनले आफ्नै कम्पनी सुरु गरे ।

अनि, जन्मियो थ्रिकम

नयाँ दिल्लीबाट फर्किंदा ५० हजार आइसी बराबरका सामान ल्याएका थिए । २५ सय रुपैयाँ बराबरका पम्पलेट, पोस्टर छापे । यसरी घरबाट उनले काम सुरु गरे । त्यसको चार वर्षपछि उनी न्युरोडस्थित पिपुल्स प्लाजामा सरे ।

काठमाडौँमा मोबाइल र ल्यापटप रिपेयर गर्ने कम्पनीहरू त धेरै थिए । विपीनको थ्रिकम केयर अरुभन्दा फरक रह्यो । उनले फरक ढंगले चलाएर स्थापित गरिदिए । फ्रि पिकअप, फ्रि डेलिभरी, सुपथ मूल्यमा कम्प्युटर, ल्यापटप, मोबाइल मर्मत जस्ता प्याकेजले धेरै ग्राहकहरुको ध्यान तान्यो ।

एक पटक थ्रिकममा आएका ग्राहकहरू फर्केर आउँछन् । नियमित ग्राहकहरूका कारण उनले राम्रो व्यापार गरे । यी २५ वर्षीय युवाले २२ जना युवालाई रोजगार दिन सफल भए । अहिले लकडाउनका कारण उनले स्टाफ घटाउनु प¥यो ।

‘अब कामदार राख्दा दक्ष जनशक्ति मात्र राख्छु,’ उनी भन्छन्, ‘सामान्य काम गर्न सक्नेलाई राख्दिन ।’ उनको अनुभवले भन्छ, ‘ज्ञान र सीपको हिसाबले आफूमाथि लगानी गर्नुपर्छ । अरुमाथि भर पर्नु हुँदैन । भर परेर जीवन चल्दैन । टेक्निकल काम त गर्न छाडेपछि भुलिन्छ । त्यसैले उनी एकछिन खाली बस्न चाहँदैनन् । समय मिल्यो कि उनी नयाँ–नयाँ कुरा सिक्न, अपडेट हुनका लागि दिल्ली पुगिरहन्छन् ।

कसैको पसलमा बसेर सिक्न पाउनु पनि ठूलो कुरा हो । भारतमा त पैसा तिरेर मात्र अरुको पसलमा बस्न पाइन्छ । काम पनि गर्नुपर्छ । ‘मैले दिल्लीमा अरुको पसलमा २ वर्ष बस्दा कामको अनुभव बटुलेँ,’ उनी भन्छन् ‘प्लेटफर्म पाउनु नै ठूलो कुरा हो ।’

उनले पहिल्यै घरमा मर्मतका लागि ल्याब बनाएका छन् । यसले गर्दा उनलाई काम गर्न सजिलो भएको छ । ग्राहकहरूलाई खुसी पार्ने उनमा विशेष खुबी छ । उनकोमा खुसी भएर फर्केका धेरै ग्राहकहरू छन् ।

सम्भावना धेरै

विपीनको अनुभवमा नेपालमै बसेर महिनामा लाखौँ कमाउन सकिन्छ । नेपालमै कमाउन सकिन्छ भन्ने कुरामा विपीनले पटक–पटक जोड दिए । उनी एकदम आशावादी देखिए । विदेश गएर बस्नुभन्दा नेपालमा केही गर्न उनी जोड दिन्छन् ।

अरबको खाडीमा तातो गर्मीले सेकिनुभन्दा स्वदेशमै पसिना बगाउनु उचित ठान्छन् । ‘अझ, नेपालमा अवसरहरू प्रशस्त छन्,’ उनले भने, ‘विशेषगरी टेक्निकल क्षेत्रमा अवसर धेरै देख्छु ।’

भविष्यको योजना

विपीन थ्रिकमको फ्रेन्चाइज फैलाउन कस्सिएका छन् । कुराकानीका सिलसिलामा विपीन निकै आत्मविश्वासी देखिए । युवाहरूलाई स्वरोजगार प्रदान गर्ने उनको विशेष रुची छ । त्यसका लागि आफ्नो कम्पनी हरदम सहयोग गर्न तयार रहेको उनी बताउँछन् ।

उनी भने, ‘म एक्टिभ छु, मभित्र एक्साइट्मेन्ट जहिले पनि रहिरहन्छ ।’ अहिले यो अवस्थासम्म पुग्नुमा आफ्ना ठूला दाइ सञ्जयको भूमिकालाई त्यसको श्रेय दिन्छन् ।

कुनै बेला संकटको घडीमा आत्मविश्वास कम भए पनि अरूलाई देखाउने उनको बानी छैन । जबसम्म आफू बलियो हुन्छु, तब घरमा अरूलाई पनि आँट र आत्मविश्वास मिल्छ भन्ने सोच छ, उनको ।

युवाहरूलाई सन्देश

विपीनलाई लाग्छ, मानिसले अरुको गल्तीबाट सिक्नुपर्छ । कि त आफ्नै गल्तीबाट सिक्ने हो । आफै गल्ती गरेर सिक्नलाई भने समय धेरै लाग्छ । सकभर त गल्ती नै नगरौँ भन्ने मान्यता राख्छन्, उनी ।

उनी कहिले पनि प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दैनन् । बरु आफैसँग मात्र प्रतिस्पर्धा गछनर्् । व्यापारमा उनको अर्को सुत्र छ, हाइ रिस्क, हाइ गेन । आफ्नो व्यवसायमा नाफा हुने काम छ भने जस्तोसुकै जोखिम उठाउन पनि उनी पछि पर्दैनन् ।

युवाहरूलाई जे गरे पनि स्वदेशमै उद्यम गर्न सुझाउँछन् । ‘परदेशमा आफ्नो उमेर र जवानी खर्चिनु भन्दा देशमै पसिना बगाउनु गौरवको विषय हो,’ उनले भने ।

प्रतिक्रिया