शुक्रबार, वैशाख २८, २०८१

यसकारण टिकेन जसपाको ‘अप्राकृतिक’ एकता

महन्थ-उपेन्द्रको पार्टी एकीकरण नै अप्राकृतिक थियो, त्यसले जुन परिणाम ल्याउँथ्याे, त्यही परिणाम अहिले आयो

चन्द्रकिशोर झा , विश्लेषक २०७८ जेठ १८ गते १९:२७
चन्द्रकिशोर झा , विश्लेषक

राजनीतिक दलहरुका बीचमा विवाद हुन्छन, कहिले सहमति बन्छन्, त्यो ती दलहरुको आफ्नै आन्तरिक जीवनका कुरा हुन् । जसपाभित्रको विवाद र विभाजनको बाटो पनि त्यही उनीहरुको आन्तरिक पार्टी जीवनको पाटो हो । गतवर्ष लकडाउनकै बेलामा वैशाख ११ गतेतिर जनता समाजवादी पार्टी (जसपा)को एउटा अस्तित्व आयो । राजपा र समाजवादीबीच एकतापछि बनेको जसपाको त्यो एकीकरण अप्राकृतिक थियो । त्यसले जुन परिणाम ल्याउथ्याे, त्यही परिणाम अहिले आयो ।

Advertisement

किनभने त्यो बेला उपेन्द्र यादवको दल समाजवादी पार्टी विभाजित हुन खोजिरहेको थियो । त्यसबेला मध्यरातमा जसपा दलको अस्तित्व प्रकट भएर आयो । राजपा र समाजवादीको एकता प्रक्रिया नै सोही कारण अप्राकृतिक थियो । म तराईमा बस्छु । तराईमा बाढीहरु आउँछन, बाढी आउँदा महिले मेरो आफ्नै आखाँबाट हेरेको छु – रुखको हाँगोमा सर्प पनि हुन्छ, बिच्छी, गगटो, भ्यागुतो सबै पानी र बाढीबाट जोगिन ओत लागेर बस्छन् । त्यहाँ कसैले कसैलाई खेद्ने, टोक्ने केही गर्दैनन् । तर जब बाढी कम हुन्छ, उनीहरु ङ्यारङुर गर्न थालिहाल्छन् । अनि सबै आ–आफ्नो किनारा लाग्छन् ।

ठिक त्यस्तै संकट आइपरेको थियो–उपेन्द्रको दलमा । त्यही भएर राजपा र समाजवादी एक ठाउँमा आए, त्यो अप्राकृतिक थियो । सर्प, बिच्छीहरु एकै ठाउँमा भएपछि हुने यही हो । यो एउटा सिम्बाेलका रुपमा चित्रित गर्न खोजेको हुँ मैले । जसपाभित्र यस्तै विभिन्न विपरित स्वभावका मानिसहरु भेला भए ।

अहिले महन्थ ठाकुरको टिम खड्क ओली नेतृत्वको सरकारमा जानु प्रतिगमन, उपेन्द यादव्रको टिम शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जानु अग्रगमन ? यो होइन । मधेसमा दुवै दल (राजपार समाजवादी) ले आन्दोलन गर्यो, पछि चुनावको घोषणा भयो, उपेन्द्र जीले पहिले चुनावमा जाने कुरा गर्नुभयो । पछि स्थानीय तहको चुनावमा राजपाले पनि भाग लियो ।

पछि संसद्को चुनाव भयो, दुवै दलले गठबन्धन निर्माण गरेर चुनावमा भाग लिए । गठबन्धन गरेर चुनाव लड्दा प्रष्ट बहुमत थियो । प्रदेश २ मा गठबन्धनको सरकार बनाउने, संघमा संविधान संशाेधनका लागि लड्ने । उनीहरुको त्यसबेलाको एजेण्डा त्यही थियो । त्यही अनुसार, प्रदेश २ मा गठबन्धनको सरकार बन्यो । तर संघमा उपेन्द्रजी ‘छल’ गरेर सरकारमा जान कुद्नुभयो । सरकारमा दुई वर्ष बसेर उपेन्द्रजीले के गर्नुभयो ? प्रश्न मधेसमा यो पनि छ ।

अहिले महन्थ ठाकुरजी खड्क ओलीसँग कुरा गरेर केही एजेण्डा पारित गराएर सरकारमा जान हत्तारिनुभएको छ । अब मधेसले आजको दिनमा के बझ्नु पर्ने हो भने मधेसका तपशीलका दुई/चार वटा माग पूरा हुनु, ठूलै एजेण्डाको सफलता हो की ? कठपुतली राज्य संन्यत्र जुन अहिलेको छ, त्यसले मधेसको एजेण्डा मधेसीको मुक्तिको कुरा सम्भव छ त ? प्रश्न यो हो । मधेसी एजेण्डा, मधेसी जनता र मधेसी दल फरक कुरा हुन् । जब मधेसी दल मधेसी एजेण्डासँग जोडिन पुग्छन, मधेसी जनताले मधेसी दललाई मन पराउँछन् । अहिले मधेसी दलले मधेसको एजेण्डा छाड्दै गइरहेका छन् ।

अहिले उपेन्द्र र महन्थका गतिविधिले यो पार्टी अब विभाजनमा गयो । यसको विभाजन रोकेर रोक्न सकिन्न । अब दुवै नेता आ–आफ्नो बाटो लाग्छन् । दुवै पक्षका आ–आफ्नो संरचना छ, विगतमा पनि थियो, भोलि पनि त्यहीअनुसार रहनेछ । महन्थहरु राजपा र उपेन्द्रहरु समाजवादीतिरै जानुहुन्छ होला । के नाम राख्नुहुन्छ त्यो फरक कुरा हो । तर उहाँहरु अब विभाजनतिर जानुभयो । कार्यकारीणी समिति, संसद्को सिनारियो, अंकगणित के कस्तो हुन्छ ? कानूनी प्रक्रियाले के भन्छ ? त्यही आधारमा अब जसपा विभाजन हुन्छ ।

मधेसको पहिचान र मुद्दाका सवालमा उहाँहरुले एकप्रकारले यो उचाइसम्म आन्दोलन ल्याउनुभयो । तर अब उहाँहरु दुवै नेताले सक्नुभएन । अब उहाँहरु त्यो उचाइबाट अगाडि जान सक्ने स्थितिमा हुनुहुन्न । आज उपेन्द्रजीले शेरबहादुर देउवाजीको सरकारको निर्णयमै जानुभयो भने पनि न उहाँ संविधान संशाेधन गर्नुहुन्छ, न उहाँहरुले रेशम चौधरीलाई छुटाउन सक्नुहुन्छ । न संघीयताका सीमांकन प्रदेश २ को हेरफेर गर्न सक्नुहुन्छ ।

जबसम्म मुख्य राजनीतिक पार्टीहरु मधेसका मागका विषयमा एकमत हुँदैनन्, तबसम्म मधेसको मागको सम्बाेधन हुँदैन । हुने भनेको यही सानातिना कुरा मात्र हो । कार्यकर्ताको रिहाई, क्षतिपूर्ति, नागरिकताका कुरा, समावेशी आयोग, विज्ञापनमा दिने स्थान आदि मात्र हो ।
मधेसमा अहिले पनि पहिचानको भावना छ । यी नेतृत्वले सकेनन् । कालान्तरमा अर्काे नेतृत्व आउँलान् । नेपालमा लोकतन्त्रको कुरा गर्दा – जनताले अपेक्षा गरेको यो लोकतन्त्र होइन । यही शेरबहादुर देउवा, खड्क ओली, माधव नेपाल , प्रचण्डहरुले यही लोकतन्त्रलाई प्रयोग गर्नुभयो । सबै प्रधानमन्त्री भइसक्नुभएकै हो ।

यर्थाथ के हो भने लोकतन्त्रलाई यी सबैले प्रयोग गरेका छन् । आजको लोकतन्त्रको राम्रो रुप या खराब रुप यिनीहरुकै करणले बनेको हो । अब यो भन्दा राम्रो यो नेतृत्वबाट अपेक्षा गर्न सकिँदैन । नभए २०६३ पछि कोर्स करेक्सन हुन सक्थ्यो । ०६३ पछि कोर्स करेक्सन भएन, भागबन्डामा गयो । अब यो भन्दा राम्रो लोकतन्त्रको खोजी गर्छाैं भने यो अगाडिको बाटो आफैंले खोज्नुपर्छ । ठिक त्यस्तै हो मधेसको सवालमा पनि ।
जसपाको विभाजनले अब प्रदेश २ मा रहेको सरकार धरमराउँछ । उपेन्द्रजीहरुले महन्थका लाई हटाएर अरुलाई लिएर सरकार बनाउने होला ? अनि महन्थहरुले सके उपेन्द्रजीका लाई हटाएर खड्क ओली जीहरुको साथ लिएर सरकार बनाउने होला । यसले तानातानमा अब प्रदेश २ को सरकार पनि जान्छ । अब देखिने सिनारियो भनेको शक्ति कसको कहाँ कति भन्ने मात्र हो । (झासँगकाे कुराकानीमा आधारित)

प्रतिक्रिया