शुक्रबार, वैशाख १४, २०८१

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

मेरोन्यूज २०७८ वैशाख १७ गते ७:१७

टीकापुर । करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ ।

गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको यस अवधिमा ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो ।

आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो । आव २०७६/०७७ को सो अवधिमा २५ करोड, ३६ लाख, ६७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

“गत वर्षको तुलनामा यस वर्ष राजश्व सङ्कलनमा प्रगति देखिएको छ”, करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाही भन्छन्, “कोरानाका कारण आन्तरिक कारोबारमा बढोत्तरी भएको छ । यसका साथै करदाताको सङ्ख्यामा वृद्धि र गएको आर्थिक वर्षमा कोरोनाका कारण सङ्कलन नभएको कर यस आर्थिक वर्षमा सङ्कलन भएको छ । यसले राजश्व वृद्धिमा सघाएको छ ।”

कार्यालय प्रमुख शाहीकाअनुसार सबैभन्दा बढी आयकर शीर्षकबाट २० करोड ८७ लाख १ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

मूल्य अभिवृद्धि कर शीर्षकमा १२ करोड ९९ लाख १३ हजार रुपैयाँ राजश्व सङ्कलन हुँदा अन्तः शुल्क शीर्षकमा तीन करोड ६८ लाख २० हजार रुपैयाँ जम्मा भएको छ ।

उनले भने, “करले देश विकासमा सघाउने भएका कारण सबैलाई करको दायरामा आई कर तिर्न अनुरोध गरिरहेका छौं । यस वर्ष लामो समयसम्म कर नतिरेका नागरिकलाई केही छुट दिएर कर तिर्नसमेत अनुरोध गरेका कारण राजश्व बढेको छ ।”

सरकारले निश्चित वर्षको कर छुट गरेपछि लामो समयदेखि विविध कारणले कर नतिरेका नागरिक करको दायरामा आएका छन् । (रासस)

प्रतिक्रिया