बुधबार, वैशाख २६, २०८१

लकडाउनमा खाद्यान्नको मूल्यवृद्धि स्वभाविक, तर अनुगमनमा शंका नगरौं

किरण अधिकारी २०७८ वैशाख १६ गते १६:३५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण करिब ६ महिना लामो ‘लकडाउन’पछि विस्तारै चलायमान बन्न खोजेको अवस्थामा आजदेखि उपत्यकाका ३ सहित केही जिल्लामा लकडाउन सुरु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएको भन्दै सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको हो ।

Advertisement

लकडाउन हुने भएपछि लाखौँ मानिसले काठमाडौँ उपत्यका छाडेका छन् । गत वर्षको चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनका सर्वसाधरणले धेरै सास्ती खेप्नु परेको थियो । सोही घटनालाई मध्यनजर गर्दै सरकारले काठमाडौँ बाहिर जान चाहनेलाई दुई दिनको समयसमेत दिएको थियो ।

यसैबीच लकडाउन सुरु भएसँगै सर्वसाधरणलाई मर्का पर्ने भएको छ । रोजगारीको असहजतासँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि सर्वसाधरण मर्कामा परेका हुन् ।

लकडाउन सुरु भएको पहिलो दिन बजारमा दैनिक उपभोग्य खाद्य वस्तु दाल, चामल, तेललगायतका सामग्रीको अप्रत्यासित मूल्य वृद्धि भएको छ । यस्तै, तरकारी तथा फलफूल जस्ता खाद्य वस्तुको मूल्यसमेत उच्च रुपमा बढेको छ ।

“आज कालो दाल किन्न गएको थिएँ, केही दिनअगाडिको भन्दा १० रुपैयाँ मूल्य बढेको रहेछ, विकल्प थिएन, किनेर ल्याएँ,’ खाद्य वस्तुको मूल्य वृद्धिलाई इंगित गर्दै कोटेश्वरकी डेमामालिनी शर्माले भनिन्, ‘अनुगमनकर्ताले के गरेको होला ? यस्तो बेलामा हेर्नु पर्ने हैन र ?”
बजारमा सबै प्रकारका खाद्य वस्तुको मूल्य बढेको उपभोक्ता संरचना फोरमका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘बजारमा खाद्य वस्तुको भाउ बढ्नुको कारण खुद्रा व्यापारीले थोक आयात कर्तालाई देखाउनु मूल कारण रहेको छ,’ उनले भने, ‘थोक आयात कर्ताले उद्योगबाट नै सामान आउँदा नै मूल्य बढेको बताउँछन् ।’

लकडाउनको समयमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामानसमेत बिक्री हुन सक्ने भएकाले सरकार चनाखो भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘त्यस्तो भन्न मिल्दैन, एउटा उत्पादनको मूल्य वृद्धि, अर्को ढुवानीको मूल्य वृद्धि । त्यसका लागि सर्वसाधारणले बुझ्ने गरी हामीसँग संरक्षण नभएकाले मूल्य वृद्धिको कारण पत्ता लगाउन गाह्रो पर्नु स्वभाविकै हो,’ उनले थपे, ‘अनुगमनमा शंका नगरौँ । ठग्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना गराउँछौँ । तर, सबै जना सचेत बनौँ ।”

विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण लकडाउन भए पनि सरकारले नियमित बजार अनुमगन पर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा प्रदेश सरकार र स्थानीय सरकारले अनुगमन गर्नु पर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।
सर्वसाधारणको मागलाई ध्यान दिँदै तरकारी तथा फलफूल जस्ता खाद्य वस्तु बिक्री वितरण गर्न कालिमाटी फलफूल तथा तरकारी व्यवसायी समितिले राति १ बजेदेखि पसल खुलाउने गरेको छ । समितिका कार्यकारी निर्देशक विनोद भट्टराईका अनुसार फलफूल तथा तरकारी बिक्री वितरणलाई सहज बनाउन रातिदेखि नै पसल खुलाएको हो ।

उनले भने, ‘सबै क्षेत्रका निकायले अनुगमनलाई तिव्रता दिएको छ । हामीले पनि बिक्रीका लागि सहजीकरण गरेका छौँ । टाढा टाढाका उपभोक्तालाई केही रकम महंगो हुनसक्छ । तर गत वर्षको लकडाउन जस्तो यो वर्ष मूल्य वृद्धिले समस्यामा नपार्नेमा हामी ढुक्क छौँ ।”

खाद्यान्नको पसल खुल्ने समय एउटै भएकाले उपभोक्तामा अन्योल नदेखिने सरकारले जनाएको छ । व्यापारीले काठमाडौँ उपत्यकाका सबै स्थानमा बिहान ६ देखि १० बजेसम्म पसल खोल्न र साँझ ५ देखि ७ बजेसम्म पसल खोल्न पाउने छ ।

लकडाउनको शुरु भए पनि बजारमा तरकारी तथा फलफूलको मूल्य बढी नहाल्ने सरकारले जनाएको छ । आगामी दिनमा पानी परे उत्पादनमा पनि वृद्धि हुने भएकाले नआत्तिन निर्देशक भट्टराईले दाबी गरे ।

यस्तै, विभागका महानिर्देशक पौडेलले अर्को हप्तासम्म सबै खाद्य वस्तुको मूल्य नियन्त्रणमा आउँछ दाबी गरे । तर, लकडाउन भएसँगै सर्वसाधारण आत्तिएको उनले बताए ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया