शुक्रबार, वैशाख १४, २०८१

कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अर्थमन्त्रीकाे आग्रह

मेरोन्यूज २०७७ चैत १९ गते १७:४०

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा उनले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् ।

खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नु पर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनामा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गर्नु भएको हो । सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याए । उनले कोभिड-१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड-१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे ।

आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमभन्दा संघीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालय र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरेको छ ।

प्रतिक्रिया