संखुवासभा सामूहिक हत्या : आरोपीका भाइमाथि प्रहरीको अनुसन्धान सुरू
काठमाडौँ । संखुवासभाको सामूहिक हत्या घटनामा संलग्न लोकबहादुर कार्कीका भाइलाई सदरमुकाम लगिएको छ । घटनाबारे थप अनुसन्धान गर्न उनलाई सदरमुकाम लगिएको हो ।
जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान जारी राख्दै आएको छ ।
यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर घटनामा संलग्न भएको भन्दै सार्वजनिक गरेको थियो । उनका भाइ नरेशलाई सोधपुछ गर्न जिल्ला सदरमुकाम खाँदबारी लगिएको हो ।
घटनामा ३२ वर्षीय रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले नरेशको साथबाट फेला पारेको थियो । मोबाइल फेला पारेसँगै नरेशलाई प्रहरीले बिहीबार नै नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।
‘हत्यापछि हराएको रञ्जनाको मोबाइल नरेशको साथमा कसरी पुग्यो भनेर अनुसन्धान गर्दै छौँ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘यसबारे थप अनुसन्धान हुन बाँकी नै छ ।’
गत भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, उनीकी आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, नाति विपिन र नातिनी गोमाको सामूहिक हत्या भएको थियो ।
प्रहरीका अनुसार घटनामा तेजबहादुरसँगै उनका भाइ नरेश पनि सँगै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया