मंगलबार, वैशाख १८, २०८१

कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्व बैंकले ८.७ अर्ब रुपैयाँ ऋण दिने

मेरोन्यूज २०७७ चैत २० गते १६:४७

काठमाडौं । विश्व बैंकले कोभिड–१९को खोप का लागि ८ अर्ब भन्दा बढी रकम नेपाल सरकारलाई दिने भएको छ ।

जनसंख्याको उच्च प्राथमिकता प्राप्त समुहमा कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकार बिच आज ७ दशमलब ५ करोड अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड रुपैंया) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अर्थमन्त्रालयमा आज शुक्रबार आयोजित कार्यक्रमकाबीच भएको सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव श्री शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे ।

कार्यक्रममा अर्थ सचिव शिशीर कुमार ढुंगानाले भने, “कम्तिमा पनि ७२% नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय–सान्दर्भिक सहयोग पुर्‍याउने छ ।”

कोभिड–१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोपहरुको खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुने अर्थ सचिव ढुंगानाको भनाई छ ।

मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद–जर्भोसले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २ दशमलब ९ करोड अमेरिकी डलर ३ दशमलब ३ अर्ब नेपाली रुपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारीका लागि नेपाल सरकालाई वित्त सहयोग प्राप्त भएको हो ।

स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गरिरहेको अर्थमन्त्रलयले जनाएको छ ।

विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ ।

प्रतिक्रिया