तराईंमा तातो हावा चल्ने, केही दिन तापक्रम नघटने
काठमाडौं । अहिले मुलुकभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
देशका तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । तराईंका भू–भागहरूमा तातो हावा र लू चल्नेछ ।
कोशी, बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागको एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेककाले अत्याधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया