मंगलबार, वैशाख १८, २०८१

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव

मेरोन्यूज २०८१ वैशाख ४ गते २१:२४

धनकुटा । पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा भोलिदेखि पाँचदिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुने भएको छ ।

धनकुटा नगरपालिका–१ हिलेमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास संस्था र होटल एसोसिएसन धनकुटाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्धन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रूपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

“आर्थिक मन्दिका समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको हो,” विष्टले भने ।

महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन् ।

महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीयस्थल समेटेर चार हजार ६०० बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा नम्बर १ का वडाध्यक्ष वङ्दा तामाङले जानकारी दिए ।

महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको छ । पाँच दिन सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र विभिन्न जातजातिको मौलिक संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया