मंगलबार, वैशाख १८, २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका दुवैको दाबी अस्वीकृत, पुनः दाबी पेस गर्न आह्वान

मेरोन्यूज २०८१ वैशाख ४ गते १८:१४

कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै मंगलबार अस्वीकृत गरेका हुन् । उनले पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई स्पष्ट दाबीसहित वैशाख ६ गते बेलुका ५:०० बजेभित्र पेस गर्न आह्वान गरेका हुन्।

यसअघि सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

दुईजनाकाे दाबी पेस हुन आए पनि दुवै दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको हुँदा पुनः आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया