सोमबार, वैशाख १७, २०८१

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, ९ बेपत्ता

मेरोन्यूज २०८० चैत १२ गते १३:३४

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ ।

पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको बताएका छन् । यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उनले बताए ।

उनले दुर्घटनामा दर्जनौँ घरहरू ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् ।

प्रतिक्रिया