सोमबार, वैशाख १७, २०८१

पाकिस्तानले मनायो ८४औँ गणतन्त्र दिवस

मेरोन्यूज २०८० चैत १० गते २०:२१

पाकिस्तानले शनिबार ८४औँ पाकिस्तान दिवस मनाएको छ । यसलाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवस पनि भनिन्छ ।

स्वतन्त्र राज्य स्थापनाका लागि सङ्घर्षको प्रमुख कोसेढुङ्गामध्येको एक सन् १९४० मार्च २३ मा पारित लाहोर सङ्कल्पको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकका पूर्वजहरूको सङ्घर्ष, दृष्टिकोण र दृढ सङ्कल्पप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भने, “आउनुहोस् हामी हाम्रो यात्रालाई प्रतिविम्बित गरौँ, आफ्ना उपलब्धिहरूप्रति खुशियाली मनाऔँ र एउटा समृद्ध तथा एकताबद्ध पाकिस्तानका लागि हाम्रो प्रतिबद्धता पुष्टि गरौँ ।”

एक छुट्टै सन्देशमा प्रधानमन्त्री शाहबाज शरिफले मुलुकबासीसँग ‘पाकिस्तानलाई शान्ति, प्रगति र स्थिरताको केन्द्र बनाउन हाम्रा संस्थापक पिताहरूको पाइला पछ्याउनका लागि दृढ सङ्कल्पलाई नवीकरण गर्न’ आग्रह गरे ।

एक आधिकारिक विज्ञप्तिमा राष्ट्रपति जर्दारीले पाकिस्तान दिवसका साथै आगामी ईद–उल–फितर पर्वका अवसरमा कैदीहरूलाई ९० दिनको छुट दिएको बताइएको छ ।

राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीहरूमा २१ तोपको सलामीका साथ दिवसको सुरुआत भएको थियो । इस्लामाबादको शकरपारियन परेड एभेन्युमा एउटा सैन्य परेडसमेत आयोजना गरियो । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र बलहरूका प्रमुख र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलअजिज अल साउदको सहभागिता थियो ।

दिवसका अवसरमा मुलुकभर सबै आधिकारिक भवनहरूमा राष्ट्रिय झन्डा फहराइएको छ भने मानिसहरूले पाकिस्तानको निर्माणमा लाहोर प्रस्तावको महत्त्वलाई उजागर गर्न र्याली र गोष्ठी आयोजना गरेका थिए ।

प्रतिक्रिया