सोमबार, वैशाख १७, २०८१

प्रेम प्रस्ताव अस्वीकार गरेपछि सुस्माको हत्या

मेरोन्यूज २०८० चैत ४ गते १४:२५

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्माको हत्या आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । प्रहरीले लामालाई शुक्रबार राति पक्राउ गरेको थियो ।

१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामालाई हत्या गरेर गाडेको अवस्थामा फागुन २५ मा प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खन्न गरेको थियो । हत्या आरोपी गोकर्णेश्वर नगरपालिका–३ का स्थानीय हुन् ।

घटनाको अनुसन्धानका गर्दा छिमेकी युवकले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए । लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक–पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको डीएसपी घिमिरेले बताए ।

त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टअनुसार ‘घाँटी दबाएर’ उनको हत्या गरेको देखिएको छ । ८ दिनदेखि सुस्मा कलेज जाने बाटोमा कुरेर मौका हेरेका रुपेन्द्रले योजनाबद्ध रूपमा ४ दिन अघिदेखि झोलामा कुटो बोकेर रेकी गरेका हुन् । हत्यापछि कुटोले खाल्डो खनेर पुरेको डीएसपी घिमिरेले बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताबकापी पनि बरामद गरेको छ ।

प्रतिक्रिया