मंगलबार, वैशाख २५, २०८१

धार्मिक कार्यक्रममा भोजन गर्दा भारतमा ३०० जना बिरामी

मेरोन्यूज २०८० फागुन ९ गते १९:०७

पश्चिमी राज्य महाराष्ट्रमा धार्मिक कार्यक्रममा खाना खाँदा महिला र बालबालिकासहित करिब ३०० जना बिरामी परेका छन् ।

Advertisement

घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दु धार्मिक अनुष्ठानका क्रममा भएको हो।
त्यहाँ भोजन र प्रसाद ग्रहण गरेका थुप्रै व्यक्तिले बान्ता, पखाला, वाकवाकी र बेचैनी भएको बताएपछि उनीहरूलाई सरकारी स्वास्थ्य संस्थामा लगिएको थियो।
अस्पतालमा शैयाको अभावका कारण अस्पतालको भवनबाहिरै खुल्ला ठाउँमा बिरामीको उपचार भइरहेको बताइएको छ ।

घटनास्थलबाट टेलिभिजनमा प्रशारण गरिएको भिडियो फुटेजमा जमिनमा लडिरहेका बिरामीहरूलाई अस्पतालबाहिर खुल्ला ठाउँमा रूखका हाँगाबाट डोरीमा बाँधिएका बोतलहरूबाट इन्ट्राभेनस फ्लुइड खुवाइँदै गरेको देखाइएको थियो।

जिल्ला कलेक्टर कार्यालयका स्थानीय सरकारी अधिकारीका अनुसार यो विषाक्त खानाको असर हो र अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका छन् र बाँकी रहेकालाई विभिन्न अस्पतालहरूमा निगरानीमा राखिएको छ ।

यसैबीच अधिकारीहरूले खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षण र विश्लेषणका लागि पठाएका छन् ।

घटना बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया