सोमबार, वैशाख २४, २०८१

पहिलो पटक प्रदेश सम्मेलन गदैं कांग्रेस

मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलनको मिति तय, झन्डै ७ सय ५० जना प्रतिनिधि सहभागी हुने

मेरोन्यूज २०८० मंसिर ११ गते १२:१०

काठमाडौं । सरकारमा रहेको नेपाली कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको छ । पार्टीको विद्यान अनुसार, प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक कांग्रेसले प्रदेश सम्मेलन गर्न लागेको हो ।
त्यसका लागि बसैभन्दा पहिले लुम्बिनी प्रदेशको प्रदेश सम्मेलनको मिति तय भएको छ । लुम्बिनीमा यही मंसिर १६ र १७ गते कांग्रेसले प्रदेश सम्मेलन गर्न लागेको हो ।

Advertisement

कांग्रेस विधानअनुसार हरेक कार्यसमितिले वर्षमा कम्तिमा एक पटक सम्मेलन गर्नुपर्ने हुन्छ । तर कांग्रेसको प्रदेश कार्यसमिति गठन भएपछि अहिलेसम्म प्रदेश सम्मेलन हुन सकेको थिएन । लुम्बिनीले प्रदेश सम्मेलन गरेर विधानको फलो गर्न लागेका हुन् ।
‘प्रदेश सम्मेलनको बैठक कम्तिमा प्रत्येक वर्षमा एक पटक बस्नेछ। तर प्रदेश अधिवेशन हुने वर्षमा प्रदेश सम्मेलनको बैठक हुने छैन,’ कांग्रेसको विधानमा उल्लेख छ ।

प्रदेश सम्मेलनको पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गरि तय भएको छ । प्रदेश सम्मेलनमा पार्टीका उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रीय सदस्य शेखर कोइराला लगायतलाई बोलाइएको लुम्बिनी कांग्रेसले जनाएको छ।

प्रदेश सम्मेलन तयारीका लागि लुम्बिनी सभापति अमरसिंह पुनले मंसिर १३ गते बिहान ११ बजे पदाधिकारी र सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

लुम्बिनी प्रदेश सम्मेलनमा प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनका लागि सम्मेलनको बन्द सत्रका लागि १२ वटै जिल्लाबाट निर्वाचित झन्डै ७ सय ५० जना प्रतिनिधि आउने छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै, प्रदेशसभा क्षेत्रबाट ९ जनाका दरले ४ सय ६८ प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् ।

त्यस्तै प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १ सय २१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना पनि सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसले वडा देखि प्रदेशसम्मको सम्मेलन गर्ने गरी बनाएको कार्यतालिका अनुसार लुम्बिनीले प्रदेश सम्मेलन गर्न लागेको हो । पार्टीले तय गरेको कार्यतालिका फलो गरेर प्रदेश अधिवेशन गर्नेमा कांग्रेसको लुम्बिनी प्रदेश पहिलो बन्न लागेको हो ।

प्रतिक्रिया